(नुवाकोट), माघ १–
घ्यू, चाकु, तीलको लड्डु, सखरखण्ड लगायतका परिकार खाई मनाइने माघेसक्रान्ति पर्व नुवाकोट बासीले गोरु जुधाएर मनाउँदै छन् । नुवाकोट को तारुका–५ चन्दनी र तारुका–२ ठूलोपोखरीमा किसानले पालेको २० हल (४० ओटा) गोरु जुधाउने क्रम सुरु भैसकेको छ ।
यसअघि तारुका–५ चन्दनीमा मात्र जुधाईँदै आएको गोरु यसवर्ष स्थानीय राजनीतिक दलहरुबीच नेतृत्वको विषयमा कुरा नमिल्दा असन्तुष्ट समुहले तारुका–२ ठूलोपोखरीमा पनि गोरु जुधाएका हुन् । माओवादी–कांग्रेस समुहको गोरु जुधाई कार्यक्रम चन्दनी र एमालेको ठूलोपोखरीमा जारी छ ।
गोरुजात्रा हेर्न नुवाकोट र आसपासका क्षेत्रहरु धादिङ, रसुवा, गोर्खा, काठमाडौं, चितवन लगायतका स्थानबाट दर्शकहरु तारुका आइसकेका छन् । निःशुल्क हेर्न पाइने मेलामा दुईतिर गरी दश हजार भन्दाबढि दर्शकको उपस्थिति रहेको आयोजकको अनुमान छ ।
दुईतिर मेलाको आयोजना गरिएपछि स्थानीय भने आक्रोसित भएका छन् ।
मेलामा गोरु जुधाईको अतिरिक्त कलाकारहरुको साँस्कृतिक प्रस्तुति, धादिङ खाल्टेको चर्चित बाहुनबाजाका साथै स्थानीय भजन मण्डलीको समेत आकर्षण रहने माघेसक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानाले बताए ।
दर्ता भएको २० हल गोरुमध्ये १३ हल चन्दनी र ७ हल ठूलोपोखरीमा जुधाइने आयोजकले जनाएको छ ।
विजेता गोरुधनीले नगद पुरस्कारसहित प्रशंसापत्र र उपविजेता गोरुधनीले पनि प्रशंसापत्र पाउने छन् । यस्तै गोरुको औषधोउपचार तथा बीमाको पनि व्यस्था गरिएको आयोजनले जनाएको छ ।
तारुकामा गोरु जुधाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट प्रमाण नभएपनि बझंगी राजा जय पृथ्वीबहादुर मावली आउँदा भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाउने गरेको र त्यसैबेलादेखि यो प्रचलनलाई निरन्तरता दिइएको स्थानीय बूढापाकाहरुको भनाई रहेको छ ।
तारुका सिंहको मावली भएको बताइन्छ । पछिल्लो समय तारुकामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समेत गोरु जुधाउने गरिएको छ ।
यसैबीच, नुवाकोट कै गेर्खु–९ बेत्रावतीमा पनि गोरु जुधाइने बताईको छ । बेत्रावतीमा ५ हल गोरु जुधाउन लागिएको बताइएको छ ।
-medianp-
No comments:
Post a Comment