2013/01/11

प्यूठानमा विद्युत् बन्द हुँदा हाहाकार


प्यूठान, पुस २६ 

लोडसेडिङविरुद्धको आन्दोलनमा आगजनी गरेको भन्दै तीन दिनदेखि झिमरुक विद्युत उत्पादन बन्द गरिँदा चौतर्फी समस्या उत्पन्न भएको छ । खानेपानी लगायतमा वैकल्पिक व्यवस्था नहुँदा समस्या देखिएको हो । जिल्लाका तीन वटै सामुदायिक रेडियो, साप्ताहिक पत्रिका बन्द् छन् । 

बीटीएस टावरहरु बन्द हुँदा जिल्लाको अधिकांस स्थानमा नमस्ते, स्काइ मोवाइल बन्द भएको नेपाल टेलिकमले जनाएको छ । विद्युत अवरुद्ध भएपछि जिल्लामा खानेपानीको हाहाकार भएको छ । जिल्लाका अधिकांस पुराना खानेपानी आयोजनाहरुको मुल सुक्दै गए पछि सञ्चालनमा ल्याइएका लिप्टिङ खानेपानी आयोजनाहरु सञ्चालन नहुँदा खानेपानीको हाहाकार भएको हो । 

लिफिट् मार्फत खानेपानी सुविधा सञ्चालन भएका सदरमुकाम खलंगा, व्यापारिक केन्द्र विजुवार लगाएत खैरा, बर्जिवाङ, भिंगृ, रस्पुरकोट, पकला, मरण्ठाना लगायत क्षेत्रका डेढ दर्जन बढि आयोजना तीन दिनदेखि बन्द भएका छन् । 

आयोजना बन्द हुँदा जिल्लाका करिव २० हजार जनसंख्या प्रत्यक्ष प्रभावित छन् भने खानेपानीको हाहाकार भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले जनाएको छ । विद्युत अवरुद्ध हुँदा लिफ्टबाट आउने पानी बन्द भएपछि खानेपानी समस्या उत्पन्न भएको डिभिजन कार्यालयका प्रमुख फत्तबहादुर क्षेत्रीले बताए । 

प्यूठान जिल्ला लोडसेडिङमुक्त जिल्ला भएकाले आयोजनाहरुले बैकल्पिक उपायको तयारी नगरेकाले यस्तो अवस्था श्रृजना भएको बृहत विजुवार साना सहरी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर विष्टले बताए । 

सोमबार भएको लोडसेडिङबिरुद्धको आन्दोलनमा बुटबल पावर कम्पनी कार्यालय थता कर्मचारी आवास क्षेत्रमा भएको आगजनीको बिरोधमा बुटवल पावर कम्पनीले झिमरुक बिद्युत उत्पादन केन्द बन्द गराएपछि जिल्लामा तीन दिनदेखि विद्युत बन्द भएको हो । 

मंगलबारदेखि नै बुटवल पावर कम्पनीसँग सर्बपक्षीय वार्ता गरी बिद्युत सञ्चालन गराउने प्रयास असफल भएको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताए । उनले बिहिबार दिउँसो बुटवल पावर कम्पनीको दारिमचौरमा सर्बपक्षीय बैठक बस्न थालेकाले निकास निस्कनसक्ने बताए ।

No comments:

Post a Comment