2013/01/25

आफन्तले फकाएर दिल्लीको कोठीमा बेचे


हेटौंडा, माघ १२ - 
मित दाजुले फकाएर दिल्लीको कोठीमा बेचे, कल्पनासमेत थिएन, उद्धार गरेर बिहीबार यहाँ ल्याइएकी युवतीले भनिन्, 'अस्मिता लुटियो ।' सुकौरा ८ की १६ वर्षीया किशोरीलाई मितदाजु र भाउजूले गत भदौ ८ मा विभिन्न प्रलोभन देखाएर अर्को दिन कोठी पुर्‍याएर बिक्री गरेका थिए ।

किशोरीको घर र मितदाजुको ससुराली नजिकै थियो । किशोरीलाई भाउजूले सुत्न बोलाइन् । सुत्न गइन्, निदाउन पाइनन् । दाजुभाउजूले अनेक प्रलोभन देखाए । चितवनमा गएर पसल थाप्ने भनेर उनलाई ९ गते बिहान गाउँबाट भगाए । उनीसँग गाउँकी एक युवती पनि थिइन् । उसलाई बाटैबाट फर्काए । 'मलाई फर्काउने कोही पनि भएन,' उनले भनिन्, 'म चितवन पुगेँ ।'

उनलाई भगाउने हर्नामाडी ४ का २१ वर्षीय लक्ष्मणी घिमिरे र १९ वर्षीया पत्नी सानुमाया स्याङ्तान हुन् । घिमिरेसँग दाजुले मित लगाएका थिए दम्पतीले किशोरीलाई एक रात आफन्तकोमा राखे । आफन्तले आमाको तिलहरी चोरेर आएको भनेर त्यहाँबाट भोलिपल्ट निकालिदिए । भदौ १० गते बिर्तामोड पुगँे । तीन दिन बिर्तामोडको होटलमा बसेपछि घिमिरे दम्पतीले चौथो दिन सबिता राई भन्नेलाई जिम्मा लगाएर भागे  सबिताले उनलाई घुम्न जाने भन्दै भारतको सिलगुढी पुर्‍याइन् ।

सिलगुढीमा आफूजस्तै ५ जना केटी फेला परे । एक रात त्यहाँ राखेपछि ६ जनालाई एक महिला र एक पुरुषले घुम्न जाने भनेर दिल्लीको ठम्बुस्थित कोठीमा पुर्‍याएको उनले बताइन् । 'नचाएर अनेक खालको काम गर्नुपर्‍यो,' उनले भनिन्, 'मार्ला भन्ने डर, बाध्य भएर मान्नै पर्‍यो  ६ कक्षामा पढाइ छाडेकी किशोरीको कोठामा इलामकी विवाहित अधबंैसे महिला पनि थिइन् । 

दलालको प्रलोभनमा उनी बेचिइएकी थिइन् । किशोरी र महिलाबीच दुःखसुखका कुरा हुन्थे । एक दिन कोठी मालिक्नीको छोराको मोबाइल फेला पारेर महिलाले आफू बेचिएको पतिलाई जानकारी गराइन् । इलाम घर भएका पति खोज्दै कोठीमा पुगे । मालिक्नीले १७ हजार भारु दिएपछि मात्र लैजान पाइन्छ भनी । पैसा तिर्न लगाएर कोठीबाट उद्धार भइन् । उनीहरूसँगै बिर्तामोड आएर माइती नेपालको सहयोगमा किशोरी बिहीबार हेटौंडा आइपुगेकी हुन् । उनी माइती नेपालको संरक्षणमा छिन्।

बाबु-आमा, दिदीबहिनी र दाजुहरू भेट्न उनी हतारिएकी छन् । आफ्नो घटना सुनाउँदा उनी पटक-पटक डाँको छाडेर रुँदै भनिन्, 'मलाई बिक्री गर्ने अपराधीलाई जेल हाल्नुपर्छ ।' बिक्री गर्ने घिमिरे दम्पती जेलमा छन् भन्ने कुरा उनलाई जानकारी छैन । उनीहरू जेलमा छन् भनेर जानकारी दिएपछि उनको अनुहारमा देखिएको पीडा र आक्रोशमा थोरै भए पनि परिवर्तन आएको थियो । घिमिरे दम्पतीलाई प्रहरीले उनलाई बिक्री गरेको आरोपमा गत कात्तिक २७ गते नेपालगन्जबाट पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशअनुसार उनीहरू पुर्पक्षका लागि थुनामा छन् ।

No comments:

Post a Comment