2013/02/21

विदेश जान एकै विद्यालयका ३५ विद्यार्थीले पढाई छाडे

दिलीप पौडेल, बाग्लुङ, फागुन ९ -
व्यक्तिले शिक्षा पाए आत्मनिर्भर र सक्षम बन्न सक्छ। शिक्षासँगै सीप भए विदेशमा पनि राम्रो रोजगारीको अवसर मिल्छ। तर, विदेश गए पैसा कमाइन्छ भन्ने लहैलहैमा लाग्दा दुर्गम गाउँ बोबाङका विद्यार्थी स्कुल छोड्न थालेका छन्।

एसएलसी पास नगरेका विद्यार्थी धमाधम स्कुल छाडेर राहदानी बनाउँदै विदेशिएका छन्। जिल्ला सदरमुकामदेखि ३६ कोष पश्चिममा छ उक्त गाउँ। कक्षा ७ देखि १० सम्म पढ्नेहरु नागरिकता र राहदानीमा उमेर बढाएर कतार, साउदी, मलेसिया लगायत मुलुकमा अदक्ष कामदारका रुपमा सस्तो श्रम बेच्न गएका छन्।

ज्ञानोदय माविमा कक्षा ९ का छात्र महेश भण्डारीले बिदेश जान स्कुल छाडे। भण्डारी दोस्रो त्रैमासिक परिक्षामा समेत सहभागि भएनन्। उनले राहदानी बनाइसकेका छन्। 'पढेर पनि आखिर पैसा कमाउनु हो,' उनले भने,'त्यसैले विदेश जाने तयारीमा छु।'

भण्डारीमात्र होइन, त्यहि स्कुलको कक्षा १० का छात्र प्रमोद अदै पनि विदेशिए। परिवारले एसएलसी दिएर जाउ भन्दा पनि उनले अटेर गरे। '८० हजार रुपैयाँ खर्च गरेर कतार गए पनि अहिलेसम्म पैसा पठाएको छैन', बाबु कर्मबहादुरले भने, 'एसएलसी दिएर जालास् भन्दा पनि टेरेन।'

यो शैक्षिक शत्रमा मात्र ज्ञानोदय माविका ३५ विद्यार्थीले विदेश जान स्कुल छाडेका छन्। '१ सय ४४ विद्यार्थीले स्कुल छाडेका छन्,' प्रधानाध्यापकले भने, 'ती मध्ये ३५ जनाले राहदानी बनाएका छन्।'

पोहोर भन्दा यो बर्ष विदेशिने लहर चलेपछि पढालेखाहरु भने चिन्तित देखिएका छन्। सामान्य लेखपढले विदेशमा तल्लो स्तरको काम गर्नुपर्ने भएकाले एसएलसीसम्म अध्ययन गर्न सुझाब दिँदा पनि बेवास्ता गरेको शिक्षक बताउँछन्।

बोबाङमा दलित र जनजाति समुदायको बसोबास छ। अधिकांश युवा विदेश छन्। कक्षा ८ पढ्दापढ्दै कतार पुगेका मनोहर विक पहिलो छुट्टीमा घर फर्किएका छन्। दुई बर्ष कतारको एक निर्माण कम्पनीमा काम गरेर फर्किएका विकले विदेश सोचे जस्तो नभएको बताए। 'यहाँबाट धन टिप्न पाइएला भनेर गएको थिएँ,' उनले भने, 'दिनमा १५ घण्टा काम गर्दा मुस्किलले २५ हजार कमाउँछु।'

उनले काम गर्दा हातमा परेका ठेला समेत देखाए। 'पढालेखालाई अलि राम्रो काम पनि पाइन्छ,' उनले भने,'सीप नहुँदा सस्तोमा श्रम बेच्नु पर्ने बाध्यता छ।'

कतिपयलाई परिवारले कर गर्छन। तर, अधिकांश विद्यार्थी आफैं पढाई छोडेर विदेश हिँड्छन्। पढ्ने उमेरमा विदेशमा पलायन भएपछि गाउँनै रित्तिएको गाविस सचिब लोकबहादुर कुँवरले बताए। 'वैदेशिक रोजगारले आर्थिक अबस्थामा केही सुधार आए पनि परनिर्भरता बढाएको छ,' उनले भने।

No comments:

Post a Comment