2013/03/25

मलेसियामा नेपालीमाथि आक्रमण, मृत्युको खबर मिथ्या

रामचन्द्र नेपाल/भीम तामाङ
अपडेटः १२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली बसिरहेको होस्टलमा गएराति स्थानीय मलेसियन युवाहरुको समूहले सांघातिक आक्रमण गरेको छ । स्थानीय समयअनुसार साँझ करिव ८ बजेतिर सुरुमा ४ जनाको समूहमा मोटरसाइकलमा आएका युवाहरुले आक्रामण प्रयास गरेका थिए । उनीहरु उल्टै पिटाइ खाएर फर्किएपछि करिब साढे दुई सयको संख्यामा आएका स्थानीय युवाहरुले नेपालीहरुमाथि आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार तरबार, रड र घरेलु हतियारसहित आएका ती युवाहरुको आक्रमणबाट तीनजना घाइते भएका छन । जसमध्ये दुइजनाको अवस्था गम्भीर छ भने अन्य केही युवाहरु सामान्य घाइते भएका छन् । स्थानीय प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु पछि हटेका थिए । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गर्नुपरेको थियो ।

जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी बोल्न नसक्ने अवस्थामा छन् भने राजुको टाउकोभन्दा तल आँखामाथि गहिरो

चोट लागेको छ । स्थानीय क्लिनिकमा भेटिएका एक नेपालीले भने आफ्नो अवस्था समान्य भएको भन्दै परिचय नखुलाइदिन आग्रह गरे ।

प्रहरीले घटनामा संलग्न ९ जना नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । त्यसबाहेक कुनै पनि पनि नेपाली नियन्त्रणमा नरहेको र घटनामा कसैको पनि हताहती नभएको प्रहरीले जानकारी दियो ।

होस्टलमा रहेका नेपाली कामदारहरुले आफ्ना १२ साथीहरु हराइरहेको बताए पनि नेपाली राजदूतावासका प्रतिनिधि चक्र सुवेदीले ९ जना प्रहरी नियन्त्रणमा र ३ जना अस्पतालमा रहेको जानकारी दिएपछि उनीहरुले आफ्ना सवै साथीहरु सम्पर्कमा आएको र हताहती नभएको बताए । प्रहरी नियन्त्रणमा रहेका नेपालीलाई दूतावासका प्रतिनिधिले भोलि हिरासतमा भेट्ने कार्यक्रम छ ।

होस्टेल भएको क्षेत्र

हल्लाका पछाडि मन्त्री आफैं

यता काठमाण्डौमा भने सोमबार बिहानैदेखि मलेसियामा ६ जना नेपालीको ज्यान गएको र १८ जना अस्पतालमा भर्ना भएको खबर प्रसारण भयो । हल्लालाई औपचारिकता दिने काम नवनियुक्त परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरेले ।

हल्ला के हो भनेर फोन गर्ने सञ्चारकर्मीलाई घिमिरेले ६ जनाको मृत्यु भएको र १८ जना घाइते भएको खबर आएको जानकारी दिए । कतिपय संचारमाध्यमलाई कलब्याक गरेरै मन्त्रीज्यूले अपुष्ट भनिएको खबर टिपाउनुभयो ।

नेपालीको मृत्यु भएको हल्लासँगै परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावासका कार्यबाहक राजदूतलाई बोलाएर नेपाली नागरिकको सुरक्षा गर्न आग्रहसमेत गरेपछि राजधानीको कूटनीतिक वृत्तमा केहीबेर खैलाबैला मच्चियो । तर, मन्त्री आफैंले चढाएको हल्ला मलेसियास्थित दूतावासले खण्डन गरेपछि परराष्ट्रका अधिकारीहरु यस्तो हल्लाको दोष मिडियामाथि लगाएर आफू पानीमाथिको ओभानो बन्ने प्रयासमा लागे । सोमबार दिउँसै

परारष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले पत्रकार सम्मेलन गरेर मन्त्रालयको बचाऊ गरे ।

स्रोतका अनुसार मलेसियास्थित नेपाली राजदूतावासले यस्तो हल्ला चलेको भए पनि पुष्टि हुन नसकेको जानकारी परराष्ट्रलाई गराएको थियो । तर, मलेसियास्थित दूतावासले अपुष्ट भन्दाभन्दै परराष्ट्र मन्त्रीले पुष्टि भइसकेको खबरझैं मिडियालाई कोट उपलब्ध गराए । जसले गर्दा नेपालमा दिनभरि नै सन्त्रास फैलियो भने मलेसियास्थित नेपाली राजदूतावास मरेको कुरा हल्लामात्रै भन्दा भन्दै हैरान पर्‍यो ।

खबर थाहा पाउनासाथ नेपालस्थित म्यानपावर कम्पनी डराउन थाले । ०६० भदौ १६ मा इराकमा भएको नेपालीको हत्यापछि जे अवस्था आयो, त्यस्तै हुन सक्छ भन्दै म्यानपावर कम्पनीले बिहानैदेखि कार्यालयका पासपोर्ट सुरक्षित स्थलमा सार्न थाले । अधिकांशजसो म्यानपावर दिनभरजसो नै बन्द भए भने व्यवसायीहरुले गृह र श्रम मन्त्रालयमा फोन गरी आफ्ना कार्यालयमा सुरक्षा दिन माग गरे ।

यो पनि पढनुहोस्: मलेसियाको भिडन्तस्थलमा मैले जे देखेँ..
अपरान्ह परराष्ट्र मन्त्रालयले एक पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रीज्यूको कोटका आधारमा लेखिएका समाचारलाई सच्याउने प्रयत्न गर्‍यो । अपरान्ह नै क्वालालम्पुरस्थित नेपाली राजदूतावासले विज्ञप्ति निकालेर मृत्युको हल्लामा सत्यता नभएको, आफ्ना प्रतिनिधि घटनास्थल पुगेर जानकारी लिनुका साथै प्रहरीसँग समन्वय गरेको जानकारी दियो ।

बिहानैदेखि तनावमा फसेका म्यानपावर व्यवसायी पनि साँझ पर्दा नपर्दै शान्तिको सास फेर्न थाले ।

दूताबासको विज्ञप्ति पढ्नुस्

No comments:

Post a Comment