काठमाडौ, फाल्गुन २९ -
महँगो मोल तिरेर किनेको सुनको शुद्धतामा ढुक्क हुनुहुन्छ ? तपाईंले २४ क्यारेट भनेर तोलाको ५६ हजार ५ सय रुपैयाँ तिरेको सुन २२ क्यारेट वा त्योभन्दा पनि कमसल पर्न सक्छ । बजारमा सुनको कालोबजारी बढ्दै गएपछि कतिपयले गहनामा मिसावट गर्न थालेका छन् । गहना व्यवसायीका अनुसार उनीहरूले प्रतितोला सुनमा निर्धारित मोलभन्दा २ हजार रुपैयाँजति बढी तिर्नुपरेको छ । कालो बजारमा बढी मोलमा सुन किने पनि निर्धारित मोलभन्दा बढीमा बिक्री गर्न नसकिने भएकाले कतिपयले मिसावट सुरु गरेको इबिसु ज्वेलरीका सञ्चालक दीपक मल्होत्राले बताए । उपभोक्तालाई ठग्न नचाहने व्यवसायीले ज्याला बढी लिएर २४ क्यारेटकै गहना बेचिरहेको उनले बताए ।
आयातित सुनको बिस्कुटमा सुनको मात्रा ९९ दशमलव ५ प्रतिशत हुन्छ । गहना बनाउने क्रममा थोरै तामा र चाँदी मिसाउनैपर्ने भएकाले २४ क्यारेटको गहनामा ९९ प्रतिशत सुन हुन्छ । २२ क्यारेटमा ९२ प्रतिशत सुन हुन्छ । क्यारेट घट्ने क्रमसँगै सुनको शुद्धता कम हुँदै जान्छ । तर उपभोक्ताका लागि सुनको शुद्धता परीक्ष्ाण सहज छैन । गुणस्तर तथा नापतौल विभागमा रहेको मेसिनमा निर्यात हुने सुनका गहना परीक्षण गर्ने सुविधा मात्र छ । बजारमा अनुमति नलिई एकाध मेसिन भित्रिए पनि ती सुन व्यवसायीको मात्र पहुँचमा छ । इजाजत नलिई भित्र्याइएकाले सर्वसाधारणले तिनमा सुन जाँच्न सक्दैनन् । बजारमा मिसावटको कुरा सुनिएकाले सुनचाँदी व्यवसायी महासंघले सबैको ध्यानाकर्षण गराएको निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए । मागअनुसार आपूर्ति हुन नसक्दा कालोबजारी बढेकाले यस्तो अवस्था आएको उनले बताए । शाक्यका अनुसार बिहेको लगन नभएका बेला पनि बजारमा २५ किलो सुनको माग छ । आपूर्ति भने १५ किलो मात्र छ । वैशाख लागेपछि दैनिक ५० किलो माग हुने भएकाले अवस्था अझ जटिल हुने उनले बताए ।
राष्ट्र बैंकले गत फागुनदेखि असारसम्म सुन आयातको कोटा २० किलो पुर्याएको थियो । तर साउनमा कोटा घटेपछि कालोबजारी सुरु भएको उनले बताए । 'बजारमा माग बढिरहेका बेला आयात घटेपछि कालोबजारी स्वाभाविक छ,' शाक्यले थपे ।
डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बजारको माग बुझेरै १५ किलोको कोटा दिइएको बताए । 'त्यतिबेला व्यवसायीसम्बद्ध संस्थाले पनि यति भए पुग्छ भनेका थिए,' उनले भने, 'आपूर्ति व्यवस्थापनमा कमजोरी हुँदा अभाव देखिएको हुन सक्छ ।'
राष्ट्र बैंकले सुन आयातको जिम्मा बैंकर्स एसोसिएसनलाई दिएको छ । एसोसिएसनले आलोपालो गरी सदस्य बैंकलाई सुन आयातको कोटा दिन्छ । एउटा बैंकले एकचोटिमा ५० किलो सुन भित्र्याउँछन् । सुन व्यवसायीसम्बद्ध चारवटा संस्थाको सिफारिसमा बैंकले सुन बिक्री गर्ने व्यवस्था मिलाएको छ ।
सुनचाँदी व्यवसायी महासंघ ५० प्रतिशत, नेपाल सुनचाँदी व्यवसायी तथा रत्न आभूषण महासंघ ३० प्रतिशत, सुनचाँदी कला व्यवसायी संघ र हस्तकला व्यवसायी संघले १०/१० प्रतिशत कोटा पाएका छन् । तिनले आफ्ना सदस्यलाई बिक्रीको सिफारिस गर्छन् । बजारमा सुन हारालुछ भएकाले बैंकले बिक्री गर्ने सुनमा कालोबजारी बढेको व्यवसायीको आरोप छ । कालोबजारीमा बैंकका कतिपय कर्मचारीको पनि मिलेमतो रहेको आरोप छ । बैंकले आपूर्ति गर्ने सुन घरेलु खपतका साथै भारतमा तस्करीसमेत हुने भएकाले बजारमा सुनको हारालुछ छ ।
बजारमा भारतीय रुपैयाँ -भारु) को हाहाकारले सुनको तस्करी बढाएको छ । 'भारतीय बजारमा सुन बिक्री गरे प्राप्त हुने भारु कालोबजार गरी थप नाफा गर्न सकिने भएकाले सुनको माग थेगिनसक्नु छ,' मल्होत्राले भने, '१ सय भारु भए १ सय ६५ रुपैयाँ सजिलै पाइन्छ ।'
सरकारले सुनको मोल निर्धारण गर्ने जिम्मा व्यवसायीको एउटा संस्था -सुनचाँदी व्यवसायी महासंघ) लाई दिएकाले यस्तो समस्या देखिएको नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष्ा रमेश महर्जनले बताए । मोल निर्धारण गर्न राष्ट्र बैंक, आयातकर्ता, सुन व्यवसायी सम्मिलित संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ ।
सरकारले सुन आयात खुकुलो गर्नुपर्ने शाक्यले बताए । सरकारले झिटीगुन्टा तथा भारी आदेशअन्तर्गत ६ महिनाभन्दा बढी विदेशमा बसेर र्फकनेलाई राजस्व्ा लिएर केही परिमाणमा सुन ल्याउने सुविधा दिए बजारमा सहज आपूर्ति हुने उनले बताए । 'यसबाट वैदेशिक रोजगारीमा जाने कामदार लाभान्वित हुनका साथै आपूर्ति पर्याप्त हुन्छ,' उनले भने । डेपुटी गभर्नर अधिकारी सुन आयातमा सबैथरी प्रयोग भइसकेको बताउँदै अस्वाभाविक रूपमा बढ्ने मागलाई सम्बोधन गर्न नसकिने बताउँछन् । 'जति पनि सुन ल्याउन दिने कुरा हाम्रो अर्थतन्त्रले थेग्न सक्तैन,' उनले थपे ।
बढी परिमाणमा सुन आयात भई शोधनान्तर घाटा भएपछि सरकारले आर्थिक वर्ष २०६६/६७ को माघदेखि सुन आयात नियन्त्रण गरेको थियो । त्यतिबेला ६ महिनामै ३१ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको थियो, शोधनान्तर घाटा २० अर्ब भएको थियो ।
बैंकको एकाधिकार भएको गुनासो बढेपछि गत वैशाखदेखि सुन व्यवसायीसम्बद्ध संस्थाको सिफारिसमा बिक्री गर्ने व्यवस्था मिलाइएको हो
No comments:
Post a Comment