2013/04/27

नयाँ वर्षको अपेक्षा

वसन्तले पालुवा हाल्दैछ, नयाँ वर्षको उमङ्ग बढ्दो छ। भोलि न्यू इयर इभ, नयाँ वर्ष २०७० लाई भव्य रूपमा स्वागत गर्ने अन्तिम दिन्। नयाँ वर्षलाई स्वागत गर्ने सबैका आ-आफ्नै योजना छन्। साँझ सहर झिलिमिली हुनेछन्, गाउँघरमा भर्खरै पालुवा लागेको वृक्षहरू बेतोडले हल्लिनेछन्। प्राकृतिक रूपमै उनीहरूले पनि नयाँ वर्षलाई आत्मसात् गर्नेछन्। मध्यरातको १२ बजेपछि २०७० औपचारिक रूपमै प्रवेश गर्नेछ। समय चलायमान छ, अरू सबै कुरा रोकिए पनि ऊ गतिशील छ, त्यसकारण ६० को दशकलाई बाईबाई गर्दै अब ७० को दशक सुरु हुनेछ। विक्रम संवत् २०६९ अनेकौं असफलताका बाबजुद पनि नेपाली जनतालाई भविष्यका लागि केही आशा जगाएर यसै साता बिदा हुँदैछ। केही सोचिएका र केही नसोचिएका घटनाका कारण नेपाली इतिहासको यो कालखण्डले नेपाल र नेपाली समाजलाई सुदूर भविष्यसम्म प्रभावित गरिरहनेछ। वर्ष प्रारम्भ हुँदा नेपाली जनताबाट जे-जस्ता अपेक्षाहरू गरिएका थिए ती अपेक्षाहरू अहिले पनि जस्ताको तस्तै रहेकाले पनि यो वर्षले नेपाली समाजलाई मेलमिलाप र एकताबद्ध हुनुको विकल्प छैन भन्ने सन्देश दिइरहनेछ। लगभग पूरा वर्ष बजेटविहिन अवस्थामा रहेर वर्षको अन्तमा आएको वाषिर्क बजेटले पनि वर्ष २०७० मा संविधानसभाको निर्वाचन हुने र त्यसले निर्धारित समयमै आफ्नो लक्ष्य प्राप्त गर्ने कुरामा नेपाली जनताको भरोसा बढ्दै गएको छ। यस्तो भरोसाका माझ हामीले २०६९ साललाई बिदा गर्न पाउनु सुखद् नै मान्नुपर्छ। वर्ष २०६९ मा नेपालको आर्थिक, सामाजिक, राजनैतिकका साथै अन्य क्षेत्रमा देखा परेका सुधारका संकेतहरू, गल्ती-कमजोरीहरू, नेपाली जनताको मुलुकप्रतिको प्रतिबद्धता एवं समर्पणका कारण सम्भव भएका केही घटनाको सांगो-पांगो विवरण साप्ताहिकका भित्री पृष्ठहरूमा संक्षिप्त रूपमा समेटिएका छन्।
ekantipur

No comments:

Post a Comment