2013/04/12

बैंकिङ कारोबार नगर्दा लुटिने बढे

काठमाडौ, चैत्र २९ -
सिमलाबाट फर्किंदै गरेका घुमखहरे-१ सुर्खेतका २८ वषर्ीय लोकबहादुर थापा गत फागुनमा बाटोमै लुटिए । हरिद्वार र नजियाबादका बीचमा अपरिचित व्यक्तिले खानेकुरामा नशालु पदार्थ खुवाएर लठ्याएपछि उनीसँग भएको ४० हजार रुपैयाँ भारु लुटेका थिए । रुपैडिहा बसपार्कमा अलपत्र उनलाई नेपाल प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पठायो । यस्तै घटना सोमबार फेरि दोहोरियो । दिल्लीबाट नयाँ वर्ष मनाउन घर फर्किंदै गरेका गुमी-८ सुर्खेतका २४ वषर्ीय चन्द्रबहादुर महताराको २० हजार भारु चोरियो । बसमा सँगै रहेका बडम्जली-७ दैलेखका गोरखबहादुर शाहीले हरियाणानजिक पुग्दा नगद चोरेको आरोप महताराले लगाएका छन् । उनका अनुसार बसमा झोला छाडेर शाही फरार भएका थिए । झोला खोलेर हेर्दा नागरिकताको प्रमाणपत्र भेटिएकाले उसैले चोरी गरेर फरार भएको आशंकासहित महताराले कारबाहीका लागि निवेदन दिएको सीमास्थित जमुनाहा प्रहरी चौकीले जनाएको छ ।

यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन् । मुलुकको व्यस्तमध्येको एक रुपैडिहा नाकाबाट घर फर्किने नेपाली लुटिने घटना बढेका छन् । यात्राका क्रममा विश्वासमा पारेर नशालु पदार्थ सुँघाएर लुटिने घटना दैनिकजसो हुने गरेका छन् । चाडपर्व आउनुअघि यस्ता घटना झनै बढ्छन् ।

भारतका जुनसुकै सहरबाट पनि नेपालमा भएका आफन्तलाई बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत सजिलै सुरक्षित तरिकाले रकम पठाउन सकिन्छ भन्ने जानकारी नहुँदा अधिकांश नेपाली घर फर्किंदा लुटिने गरेको प्रहरीले जनाएको छ । बसपार्कमा अलपत्र थापाको उद्धारमा संलग्न जमुनाहा प्रहरी चौकीका हवल्दार नरबहादुर सिंहले विदेशबाट बैंकमार्फत पैसा घर पठाउन सकिन्छ भन्ने थाहा नपाएकाले बोकेर आएको बयान उनले दिएको बताए ।

मध्य तथा सुदूरपश्चिमका अधिकांश बासिन्दा कामका खोजीमा दिनहुँ भारत पस्छन् । नेपालीका लागि भारत रोजगारीको सजिलो गन्तव्य हो । मध्यको रुपैडिहा, सुदूरका गौरिफन्टा र बनबसा नाका भएर भारत जाने तथा फर्किने अधिकांशले बैंकिङ कारोबारबारे अनभिज्ञता देखाएका छन् ।

बुधबार घर फर्किरहेका नेपालगन्ज फुलटेक्राका दुर्गाप्रसाद शर्माले उता कुन बैंकमार्फत पैसा पठाउने र यता कसरी लिने भन्ने बारेमा थाहा नपाएको प्रतिक्रिया दिए । 'सधैजसो पैसा खल्तीमा बोकेरै घर फर्किने गरेको छु । अहिलेसम्म कुनै अपि्रय घटना भएको छैन,' उनले भने, 'बैंक तथा रेमिट्यान्स कम्पनीबारे थाहै छैन ।'

पछिल्ला दिनमा केहीले बैंक/रेमिट्यान्स कम्पनीका माध्यमबाट रकम पठाउन थालेका सीमामा कार्यरत प्रहरी, बैंक कर्मचारी र स्वदेश फर्किनेहरूले बताएका छन् । गाउँकै चिनारुले सल्लाह दिएपछि रानीवन-३ दैलेखका लोकप्रसाद खनालले पन्जाब बैंकको तिनकै खाताबाट घरमा रकम पठाए । 'बाटो खर्च मात्र बाँकी राखेर अरू कमाइ बैंकमार्फत पठाएँ,' बुधबार घर फर्किरहेका खनालले बैंकको रसिद देखाउँदै भने ।

नेपाल र भारत दुवैतिर कारोबार गरिरहेका केही बैंकहरूले पढ्न र उपचारका लागि भारत जाने नेपालीले बैंकमार्फत रकम पठाउने र झिक्ने गरेको जनाए । नेपाल एसबीआई बैंक नेपालगन्ज शाखाका अप्रेसन इन्चार्ज नवराज जोशीले यता खाता खोलेर उताबाट पैसा पठाउनेको संख्या उल्लेख्य वृद्धि भएको बताए । स्टेट बैंक अफ इन्डिया -एसबीआई) सँग सम्बन्ध भएकाले एसबीआई बैंकमार्फत नेपालमा रकम पठाउन सहज भएको उनको भनाइ छ । 'कामका लागि भारत जानेहरूका गाउँमा

गएर बैंकिङ कारोबार गर्न जनचेतनासमेत जगाइरहेका छौं,' उनले थपे ।

त्यस्तै एभरेस्ट बैंकले पनि यस्तै सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । भारतमा बस्ने नेपालीहरूले पन्जाब नेसनल बैंकमार्फत यहाँ रेमिट्यान्स पठाइरहेको बैंकका नेपालगन्ज प्रबन्धक सुधीर गौतमले बताए । 'दैनिक ५०/६० जनाले बैंकमार्फत भारतबाट रकम पठाइरहेका छन्,' उनले भने ।

No comments:

Post a Comment