2013/06/11

कतै दैलो बन्द, कतै रुवाबासी

busभोताङ (सिन्धुपाल्चोक), जेष्ठ २२ - बुहारीले धेरै ढिपी गरिन्, उनले सहरमा घर बनाएको छ रे, हेरेर आउँछु । ८५ वर्षीय सिनेन तामाङले छिमेकीसँग भनेका थिए, उतातिर धेरै बस्ने मन छैन । यसो भन्दै उनले दैलोमा ताला लगाए, आँगनमै रोकेको बस चढे । उनको दैलो सधैँका लागि बन्द भएको छ । ससुरा सिरेनलाई घर देखाउन लैजाने नोर्कीको पनि मृत्यु भएको छ ।
१५ महिने बालिकालाई झ्यालबाट फ्याँक्दै २६ वर्षीया मीठु सापकोटाले भनेकी थिइन्, म मरे पनि छोरी बाँचोस् । उनले भनेजस्तै भयो । छोरी करुणा जीवित छिन्, मीठुको मृत्यु भएको छ । रोजगारीका लागि कोरिया जाने सिलसिलामा टिकट काट्न राजधानी हिँडेका ३५ वर्षीय निमा ग्याल्बो तामाङ अब कहिल्यै र्फकने छैनन् । बाबु तेम्बा छाती पिट्दै भन्छन्, विदेश उड्नुअघि एकपटक भेट्न आउँछु भन्थ्यो, कहिल्यै नआउने गरी उड्यो । आगामी २७ गते कोरिया उड्ने तयारीमा रहेका तेम्बाको मृत्यु भएको हो । यी व्यक्तिगत घटना उदाहरण मात्र हुन् । लेकाली बस्तीमा साताअघि भएको बस दुर्घटनाले सिन्धुपाल्चोकका चार गाउँ अहिले शोकमा डुबेका छन् ।
थाङपालकोट, भोताङ, बरुवा, ज्यामिरेको टोलटोलमा रुवाबासी चलेको छ । भोताङका मात्र ५ जनाको मृत्यु भयो । घटना भएको सातापछि गाउँका बन्द विद्यालय भर्खर खुल्न थालेका छन् । मृतकको घर पुग्ने छिमेकी र आफन्तको आँसु अडिएको छैन । गाउँवासी बस चालक ज्ञानबहादुर तामाङप्रति निकै आक्रोशित छन् । टोलटोलमा भेला भएका गाउँले भन्छन्, चालकलाई ज्यान मार्ने अभियोगमा मुद्दा चलाउनुपर्छ । सोमबारसम्म घटनामा परेका १७ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १० जना उपचारपछि घर फर्केका छन् । उनीहरूलाई हेलिकप्टरबाट राजधानी लगिएको थियो । मृत्यु भएका १४ मध्ये अधिकांशलाई बसले किचेको थियो । घटनामा ३० भन्दा बढी गम्भीर घाइते भए । उनीहरूको बस र ढुंगाले च्यापिएर मृत्यु भएको थियो ।
उपचार गरिरहेका कतिपयले अपांग भएर बाँच्नुपर्नेछ, आफन्त गुनासो गर्छन् । शिक्षण अस्पतालमा उपचार गराइरहेका मिर्के लामा भन्छन्, यो त ड्राइभरको लापरबाही हो । उनी भन्छन्, उनीमाथि कडा कारबाही हुनुपर्छ । मिर्केका बाबु सिरेन र भाइबुहारी नोर्कीको मृत्यु भएको छ । श्रीमती र भतिजाको उपचार भइरहेको छ । क्यानडामा रहेका नोर्कीका पति नीरबहादुर दुई दिनअघि राजधानी आएका छन् । सदरमुकाम अदालतको तारेखमा हिँडेका भोताङकै बुद्धे तामाङ र देउ तामाङको सोही घटनामा मृत्यु भएको थियो ।
१५ महिने नातिनीलाई झ्यालबाट फ्याँकेर उनी सधैँका लागि गइन्, थाङपालकोटको घरमा बुहारी मीठुको किरिया बसेका देवीबहादुर डाँको छोड्दै भन्छन्, जानीजानी अर्काको ज्यान लिने ड्राइभरलाई कारबाही हुनुपर्छ । उनीजस्तै धेरैको आक्रोश चालकमाथि छ । बालिका करुणा भने उपचारपछि आइतबार फर्किसकेकी छन् । आमा मीठुले झ्यालबाट फ्याँक्दा उनको टाउकामा चोट लागेको थियो । जिल्लाको पश्चिमी भेकमा सबैभन्दा धेरै मानवीय क्षति भएको यो पहिलो दुर्घटना हो । गत १५ गते मेलम्ची-भोताङ सडकको थाङपालकोट तथा थाङपालधापको सिमाना सल्लेडाँडाबाट झन्डै डेढ सय मिटर तल खसेको बस टुक्राटुक्रा भएको थियो ।
विद्यालयमा पूजाआजा हिन्दु परम्पराअनुसार ब्राह्मणहरूबाट विद्यालय प्रांगणमा रुद्री र होम गरेर अध्ययन सुरु गरिएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दुर्घटनास्थल नजिकैको थाङपालधाप उच्च माविमा होम र रुद्रीको आयोजना गरिएको थियो । घटनाका घाइते र मृतक राखेको विद्यालय कक्षाकोठाहरू रगताम्मै थिए । उनीहरूलाई दिनभर सोही विद्यालयमा राखिएको थियो । विद्यार्थीसमेत विद्यालय आउन डराएपछि शान्तिको कामना गर्दै पूजाआजा गरिएको हो ।
फरार चालक पक्राउ मेलम्ची प्रहरीले दुर्घटनापछि फरार चालकलाई आइतबार राति पक्राउ गरेको छ ।
पटकशिला २ का २४ वर्षीय ज्ञानबहादुर तामाङलाई पटकेश्वर-साँखु सडकबाट राति ८ बजे नियन्त्रणमा लिएको हो । निरीक्षक सुदीप पाठकका अनुसार ट्यापे माइला नामबाट चिनिने चालक तामाङ सम्पर्कमा नआउने संकेत पाएपछि पछिल्लो तीन दिनदेखि खोजी गरिएको थियो । बस खसेपछि सुरक्षित स्थलतिर फरार तामाङले प्राविधिक कारण दुर्घटना भएको प्रारम्भिक बयान दिएका छन् । उनले दुर्घटना भएको दिन मामा नाता पर्ने अर्का चालकलाई फोन गरेका थिए । मृतक र बिरामीको उद्धार भइरहेका बेला उनी तिपेनी नजिकैको खोलामा लुकेर बसेका थिए । आफूले २ नं. गियरमा गाडी चलाएको र अगाडि भागको माटो भासिएकाले दुर्घटना भएको बयान प्रहरीलाई दिए । उनको हातमा र टाउकामा सामान्य चोट लागेको छ । २ जना पक्राउ गरेका थियौं, निरीक्षक पाठकले भने, हातमा ब्यान्डेज र उसको हुलियाबाट चालक चिनेका थियौं ।

No comments:

Post a Comment