चैत्र २६, २०७२- नगरपालिका भन्नेवित्तिकै स्वास्थ्य, शिक्षा, सडकलगायत पूर्वाधार पुगेको ठाउँ भन्ने आम बुझाइ छ । तर, जयपृथ्वी नगरपालिकाका मयाना र सुइल गाउँका बासिन्दाले सामान्य औषधि उपचारका लागि पनि आठ घण्टा हिँड्नुपर्ने बाध्यता छ ।
नजिकै स्वास्थ्य चौकी छैन । दुई सय पाँच परिवारका एक हजार तीन सयभन्दा बढीको बसोबास छ । उपचार अभावमा दुई वर्षयता गाउँका गर्भवती महिला र बालबालिका गरी ६ जनाले ज्यान गुमाइसकेको स्थानीयवासी बताउँछन् ।
गत जेठमा सुत्केरीपछि अत्यधिक रक्तस्राव भएकी ३० वर्षीया जानुदेवी बोहरालाई सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गयो । सोही महिना २८ वर्षीया सन्जादेवी जेठाराको साल अडकियो । उनले पनि बोहराकै नियति भोग्नुपर्यो ।
२०७१ वैशाखमा मयानाकी २६ वर्षीया बासमतीदेवी धामी र मंसिरमा ३५ वर्षीया वसन्तीदेवी धामीको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । बास्मतीको पेटमा शिशु उल्टो परेको र वसन्तीको साल अडकिएको स्थानीय जयबहादुर धामीले बताए ।
उनले समयमै उपचार नपाउँदा १२ वर्षीया वीरेन्द्र धामी र ९ वर्षीया सरोज धामीको पनि ज्यान गएको बताए । नजिक उपचारको व्यवस्था नभएका कारण ज्वरो आउँदा गाउँमै जडिबुटी र धामीझाँक्री गरेका यी दुवै बालकको टाइफाइडका कारण मृत्यु भएको थियो ।
गाउँमै स्वास्थ्य चौकी नभएका कारण स्थानीयवासीले सदरमुकाम चैनपुरस्थित स्वास्थ्य चौकी र जिल्ला अस्पताल सिमखेत धाउनुपर्ने भएकाले धेरैले सामान्य बिरामीको उपचार नै नगर्ने र बिरामी बढी भएमा गाउँमै धामीझाँक्रीको भर पर्ने गरेको महिला स्वास्थ्य स्वयंसेविका गुनमति धामीले बताइन् ।
‘चार घण्टा जान र चार घण्टा फर्किन समय लाग्छ, सदरमुकाम जाँदा केही नभए ५/७ सय खर्च पनि हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर धेरैजसोले सामान्य बिरामी हुँदा उपचार नै गर्दैनन् ।’ उनले बिरामी लिएर गएमा एक दिनमा फर्किन नसक्ने र उतै बस्नु पर्दा सामान्य बिरामीका लागि पनि हजारौं खर्च गर्नुपर्ने बाध्यता रहेको बताइन् ।
‘एक चक्की सिटामोलका लागि पनि हामीले ८ घण्टा हिँड्नुपर्छ,’ मयानाका डबलबहादुर धामीले भने, ‘नगरपालिकाका बासिन्दा भनेर के गर्नु हजुर, सामान्य ज्वरो आउँदा दुई दिन सदरमुकाम बस्नुपर्छ ।’ चैनपुरस्थित स्वास्थ्य चौकी मयानामा सारेर सेवा दिनुपर्ने स्थानीयवासीको माग छ । पटकपटक नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय धाइसकेका छन् ।
सुइल मयानामा बडास्तरीय स्वास्थ्य केन्द्र स्थापनाका लागि जिविस मार्फत स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिए पनि स्वीकृत भएर नआएको जयपृथ्वी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पूर्णबहादुर खडकाले बताए ।
http://bit.ly/1MiS8oY
No comments:
Post a Comment