सिरहा, पुस २७ -

अज्ञात ब्यक्तिले सारस्वर-७ मा एक बिपन्न परिवारलाई घरमा सुतिरहेको अबस्थामा बुधवार राती आगो लगाएर जलाउने प्रयास गरेको दावी गरिएको छ ।
आगलागीबाट आमा छोरा दुवै घाइते भएका छन् ।
सारस्वर ७ की प्रमिलादेवी मण्डल र उनका ८ बर्षिय छोरा रोहित मण्डललाई जलाउने प्रयास भएको आमा प्रमिलाले बताएकी छन् ।
आगलागीबाट उनीहरुको अनुहार तथा शरीरका बिभिन्न भाग जलेको छ । उनीहरुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पति, सासुससुराको समेत मृत्यु भइसकेको र छोरासंगै उनी जीवन बिताइरहेकी छन् ।
धरान लैजानुअघि प्रमिलाले बिहीबार आफू सुतिरहेको अबस्थामा अचानक झ्यालबाट भाटामा आगो लगाएर फ्याकेपछि छोरालाई जोगाउन समातेर ढोका खोल्न पुगेको तर बाहिरबाट ढोका थुनिएकाले बाहिर निस्कन नसकेको बताइन् ।
फुसको घरमा बाँसको टाटमा झयाल जस्तो राखेको दुलोबाट हात घरभित्र छिराएर अनुहारमा आगो लगाएको उनले बताइन् । प्रमिलाले घट्ना विवरण सुनाउँदै गर्दा जिल्ला अस्पताल सिरहामा अचेत भएकी थइनि् ।
प्रमिलाका छिमेकी रामे भण्डारीले घरमा आगो लागेको देखेर गाउँमा हल्ला भएपछि आफूहरु निभाउन गएको बताए ।
आगो निभाउन जाँदा घरभित्र आमाछोरा हुनसक्ने भनेर आफूहरुले घरको टाट काटेर उनीहरुलाई जलेको अबस्थामा निकालेको भण्डारीले बताए ।
भण्डारीले आमाछोरा सुतेको घर फुसको भएकोले उनीहरु घरमा आगोसमेत नबालेकोले कसैले आगो लगाएको हुनु पर्ने बताए । आगो निभाउने क्रममा उनको घर क्षतिग्रस्त भएको छ । गाउँलेहरुले आगलागी कसरी भएको भन्ने बारे जानकारी नभएको बताएका छन् ।
प्रमिलाकी देवरानी राधादेवी मण्डलले घरमा आगो लागेपनि कसैलाई गुहारेको नसुनेको र बालक रोहितले पनि रोएकोसम्म नसुनेको बताए । उनले गाउँलेले आगो लागेको हल्ला गरेपछि मात्रै जानकारी पाएको बताए । स्थानीय कुसेस्वर मण्डलले आगो कसरी लाग्यो भन्ने बारे कसैलाई जानकारी नभएको बताएका छन् ।
स्थानीय बिसेस्वर मण्डलकी पत्नीले यो टोलमा आफू मात्रै प्रमिलाको घरमा जानेआउने गरेको र अन्य छिमेकीसंग उनको मनमुटाब रहेको बताइन् ।
प्रमिलाले आफ्नो छोरा रोहितलाई बेस्सरी कुट्ने गरेको कारण देवरानी लगायत छरछिमेकसंग समेत समय समयमा झगडा भइरहने गरेको बताइन् ।
स्थानीय प्रहरी चौकी बेल्हाका प्रहरी सहायक निरीक्षक विजय कुमार कापरीले आफूले घटनास्थलको अबस्था मूल्यांकन गरेर हेर्दा बाहिरबाट कसैले आगो लगाएको नदेखिएको र सोही अनुसार घटनास्थल मुचुल्का बनाएको बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकृत राजकुमार शाहीले जिल्लाबाटसमेत घटना अनुसन्धानका लागि खटिगएको टोलीले घरमा नै चिसो छल्न बालेको आगोबाट आगलागी भएको हुनसक्ने जानकारी दिएको बताए ।
No comments:
Post a Comment