केआई सिंह राजमार्गमा बिरामी बोकेको जिप बिहीबार राति सडकबाट खस्दा एकै परिवारका चार जनाको घटनास्थलमै मृत्यु भएको छ । आठ जना घाइते छन् । गम्भीर घाइते तीन जनालाई उपचारका लागि नेपालगन्ज पठाइएको डडेलधुराका डीएसपी कृष्ण प्रसाईंले बताए ।
मृत्यु हुनेमा डोटीको दिपायल सिलगढी-७ की ३५ वषर्ीया रियोनादेवी माझी, उनकी नातिनी तीन वषर्ीया नेत्रा माझी, सोही नगरपालिका-९ की ३८ वषर्ीया कमला माझी र उनका देवर दिलबहादुर माझी छन् । सामान्य घाइते डडेलधुरास्थित टिम अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनायो ।
दिपायलबाट बिरामी बोकेर आएको से१ज ३२९ नम्बरको जिप सदरमुकामदेखि पाँच किलोमिटर टाढा अमरगढी नगरपालिकाको राई नजिक बिहीबार राति १ बजे दुर्घटना भएको हो । 'दुर्घटना हुन नपर्ने ठाउँमा दुर्घटना भएको छ,' डीएसपी प्रसाईंले भने, 'चालकको लापरबाहीले उकालोमा रहेको जिप दुर्घटना भएको छ ।' चालक विशाल सिंहले मोबाइलमा कुरा गरिरहँदा स्टेरिङ काट्न नसकी जिप सडकबाट तल खसेको यात्रुहरूले बताए । जिपमा चालकसहित १२ जना थिए । बिरामीलाई उपचार गराउन महेन्द्रनगर हुँदै भारतको सीतारगंज अस्पताल लान लागिएको थियो ।
उता, गाउँका चार नातेदारको दुर्घटनामा मृत्यु भएपछि दिपायल क्षेत्र शोकमा डुबेको छ । मृतकका आफन्तका रुवाबासी चलेको छ । घाइतेका आफन्त उपचारको चिन्तामा छन् । घाइतेहरू पनि वडा नं. ९ का माझी र साउद परिवारका छन् । व्यापारिक चहलपहल हुने दिपायलको पिपल्ला शनिबार सुनसान रह्यो । मृत्यु हुने नेत्रा र रियोना स्थानीय व्यापारी गोपाल माझीकी छोरी र सासू हुन् ।
उनकी श्रीमती सरस्वती र साला सन्तोष पनि दुर्घटनामा घाइते छन् । सरस्वतीको उपचारका लागि नेपालगन्ज लगिएको छ । 'व्यापारी मित्र गोपालको परिवारमाथि आइपरेको घटनाले हामी सबैलाई मर्माहत पारेको छ,' डोटी उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाहले दुःख व्यक्त गरे, 'घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं ।'
रोल्पामा ३ जना रोल्पा- दक्षिणी रोल्पाको दहवनमा ट्याक्टर खस्दा तीन बालकको ज्यान गएको छ । १४ जना घाइते छन् । प्रहरीका अनुसार नुवागाउँ-२ गैरा गाउँमा ना१त १४४७ नं. को ट्याक्टर शुक्रबार सडकबाट ४ सय मिटर तल खसेको
हो । मृत्यु हुनेमा नुवागाउँ- २ का ९ वर्षका दीपेन्द्र सुनार, ८ वर्षका गोविन्द बाँठा र ९ वर्षका सुनील थापा छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई होलेरीमा प्राथमिक उपचारपछि नेपालगन्ज लगिएको छ ।
स्थानीय पिउरी गाउँतिर सामान लिन गइरहेको उक्त ट्याक्टरमा विद्यालयका बालबालिका थिए । अरू घाइतेमा पनि बढी बालबालिका नै रहेको प्रहरीले जनायो । प्रहरी निरीक्षक सोम थापाले घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको बताए । उक्त सडक अघिल्लो वर्ष गाविस बजेटबाट निर्माण गरिएको हो ।
ekantipur
ekantipur

No comments:
Post a Comment