2013/04/27

'जसले बलात्कार गर्‍यो उसैसँग घरकाले बिहा गरिदिए' उसैबाट ज्यानको खतरा भयो !

कल्पना घिमिरे, काठमाडौ, वैशाख १४ - उनलाई अहिले सबभन्दा बढी चिन्ता छ आफ्नै सुरक्षाको । बाआमा,पति, आफन्त र विराटनगरको सिंगो बस्ती माझ केको खतरा भयो यी २३ वर्षे युवतीलाई ? प्रश्न स्वभाविक रुपले उठ्न सक्छ । 'मलाई मेरै पतिले मार्छु भनिरहेका छन्' केही समय अघि प्रहरीमा दिएको उनको जाहेरीले भन्छ, 'जसले बलात्कार गर्‍यो उसैसँग घरकाले बिहा गरिदिए ।'

बिहा पछि ती युवतीको दुर्दिन झनै थपिएको छ । पति भनाउँदो जतिखेर पनि ज्यान लिने धम्की दिन्छ, हातपात र गाली गलौज त भइ नै रहन्छ । देख्दा अत्यन्तै सुन्दर र पढाइमा संधै पहिलो स्थान हाँसिल गर्ने यी युवतीको भोगाइ कहाली लाग्दो छ । लाउलाउ र खाउखाउको उमेरमा चरम यातना भोगिरहेकी युवतीको कथा उनकै शब्दमाः

बिराटनगरमा टंकीसिनुबारीस्थित पुष्पलाल चोकमा बस्ने किशोर भट्टराइले मलाई कक्षा नौ मा पढा भेटेको थियो । मलाई मन पराएर त्यसैबेलादेखि निरन्तर मेरो पिछ्छा गर्न थाल्यो । उसको खराब आचरण र व्यवहार देखेर म संधै ऊबाट टाढा रहने प्रयास गर्थे । उसले त्यतिबेला देखि नै म माथि हिंसा गर्न सुरु गर्‍यो । स्कुलमा साथीहरुसंग बोल्न नदिने, कुनै केटासाथीसित बोल्यो कि नानाथरी बात लगाएर गाली गलौज गर्ने गथ्र्यो । डर र त्रास बीच मेरो पढाइ चलिरहेको थियो । कक्षाको प्रथम बिद्यार्थी भएकाले म पढाइप्रति पनि उत्तिकै चाख दिन्थे । यसै क्रममा कक्षा ११ मा पढा एक दिन मेरो केटी साथीको घरमा अध्ययन गर्न जाने क्रममा सबै साथीहरुको अगाडि अनाहकमा थप्पड हानी मेरो बेइज्जत गर्‍यो । त्यसपछि निरन्तर शारीरिक र मानसिक दबाब दिन थाल्यो ।

उच्च माध्यमिक तहको अध्ययनकै क्रममा मेरो बैबाहिक सम्बन्ध राम्रो परिवारको र शिक्षित केटासंग हुन लागेको थाहा पाएर किशोरले मसंग शारीरिक सम्पर्क भइसकेको भन्दै अनर्गल झुटो प्रचार गर्दै भाँजो हाली मेरो विवाह हुन दिएन । उसले मलाई विवाह गर्ने प्रस्ताब राख्दै आएको थियो । खराब बानीब्यहोराका कारण उसंगको विवाह मैले सोचेको पनि थिइन ।

मानसिक तनाबमा मेरा दिनहरु बितिरहेका थिए । म राम्रो र शिक्षित परिवारको छोरी भएकीले बाबा मम्मीको मन दुख्ला भनेर परिवारमा कसैलाई यस्तो समस्याबारे सुनाएको थिइन । यसै शिलशिलामा उच्च माध्यमिक तहको अध्ययन पुरा गरी क्याम्पस तहको अध्ययनका लागि ०६५ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा गए । त्यसबेला पनि किशोरले अनावश्यक फोन गरिरहने, फोन नउठाउँदा निरन्तर घण्टी बजिरहने र तनाब भइरहने, फोन उठाँउदा पनि अत्यन्तै रुखो र अश्लिल शब्दहरुले गाली गरी दुःख दिइरहन्थ्यो ।

यसैक्रममा अध्ययनका क्रममा भएको छुट्टमिा ०६७ माघ २ गते म मेरो आफन्तकोमा काठमाडौं आएको थिएँ । त्यसबेला किशोरको दाजु पवनले किशोरले मलाई अन्तिम पटक भेट्ने इच्छा गरेकाले एक पटक भेट्न आग्रह गरे । मैले दर्जनौ पटक नभेट्ने र मेरो उसंग कुनै सम्बन्ध नभएको भन्दै इन्कार गरें । तर पवनले पारिवारिक सम्बन्ध र चीनजानको नाताले ज्यादै भेट्न जिद्धि गरे ।

त्यसपछि दाजु पवनसहित पशुपतिनाथमा १ घण्टाको लागि भेट्ने सल्लाह भयो । पशुपतिनाथमा सबैजनासंग भेट भयो । भेटघाटका क्रममा किशोरले एक्लै केही बेर भेट््ने इच्छा गरेको छ भन्दै दाजु पवनले किशोर र मलाई एकैछिन चावाहिलको एउटा खाजा घरमा छोडिदियो । त्यसैबेला खाजामा नसालु पदार्थ राखेर खुवाएछ । त्यसपछि मैले केही थाहा पाइन । म ब्युँझदा बसपार्कको एउटा होटलमा थिए । उसले बोहोस अवस्थामै होटलमा लगेर मलाई बलात्कार गरि अश्लिल भिडियो बनाएछ । म व्युँझिएपछि अतालिए रोए, कराएँ तर उसले उक्त अश्लिल भिडियो देखाउँदै पुन पटक/ पटक बलात्कार गर्‍यो । अब म उसकी श्रीमती भइसकेकी र विवाह नगरेमा भिडियो सार्वजनिक गरि बेइजत गर्ने र उक्त अश्लिल भिडियो फेसबुकमा राखिदिने भन्दै मलाई मानसिक यातना दियो । उसको यस्तो हर्कतबाट उम्केर म पोखरास्थित होस्टलमा पुगें । मैले आफुलाई पुरै बिक्षिप्त महसुस मात्र गरिन, आत्महत्या गर्ने बिचार आउन थाल्यो । मानसिक रुपमै म बिचलित थिएँ । पढाइ तर्फ कुनै ध्यान गएन । सबै परिक्षामा पहिलो हुने विद्यार्थी अन्तत यस पटकको परिक्षामा दई वटा विषयमा फेल भएँ ।

मेरो पढाइ अचानक गुमेको, निरन्तरको तनाबको कारण आनीबानीमा आएको परिवर्तन देखेर साथीहरुले मेरो विषयमा चासो राख्न थाले । मैले मेरा साथीहरुलाई सबै सुनाए । उनीहरुले तत्काल प्रहरीमा जाहेरी दरखास्त दिन कानुनी कारवाही गर्न सल्लाह दिए । साथीको सल्लाह अनुसार पीडकलाई कारवाही गर्ने शिलशिलामा म बिराटनगरस्थि घर गए ।

मेरो दाजु, दिदी र भिनाजुलाई सबै भनें । तर, सामाजिक बेइज्जती हुने भन्दै किशोरका परिवारसंग सम्पर्क गरी दुबै परिवारको व्यापक दबाबमा ०६८ जेठमा साँझ आठ बजे निर्णय गरी नौ बजे मेरो विवाह गरि पठाइदिए ।

मैले मेरो कर्मको फल ठानी हारेको आत्मसम्मान लिइ पुन अध्ययनका लागि पोखरा फर्किए । विवाह भएर पोखरा फर्किएपछि पीडकमा झनै उग्रता देखिन थाल्यो । कसैसंग बोल्न हिड्न समेत नहुने, बुबा, दाजु, शिक्षक भाइ अथवा अध्ययनका सहपाठी सबैलाई बात लगाउन थाल्यो । फोनमा उसले प्रयोग गर्ने अश्लिल शब्दावली म उल्लेख गर्न सक्दिन । यतिमात्र होइन उसकी श्रीमती भएपछि मैले ऊबाट पशुवत करणीको सामना गर्नुपर्‍यो । उसले निरन्तर मेरो र माइती पक्षको परिवार सबैलाई ज्यान मार्ने धम्की दिइरह्यो ।

'अश्लिल गाली गलौज र मानसिक यातना दिन थालेपछि आफु इन्जिनियरिङको विद्यार्थी भएको र थोरै प्राविधिक ज्ञान भएको कारण विभिन्न समयमा उसले दिएको धम्की र प्रयोग गरेको भाषालाई टेप गरी सुरक्षित राखेकी छु,' प्रहरी र अदालतमा दिएको निवेदनमा उल्लेख छ । यतिका तनाव र दबाबका बीचमा पनि मैले आफ्नो अध्ययन सफलताका साथ पुरा गरिरहेकी छु । अनेक संघर्ष झेल्दै भएपनि यसपटकको परिक्षामा कलेज टप गरेको छु । यसबाट म झनै सघर्षशील बन्दै गएकी छु ।

मेरो आफ्नो कुनै गल्ती छैन तर किन यस्तो समस्या झेलिरहेकी छु भन्ने चिन्ताले सताइरहन्छ । पछिल्लो समय मलाई भेट्ने बित्तिकै सिध्याइदिन्छु भन्ने धम्की दिइरहेको छ । आफु खतरामा रहेकोे पाएपछि जिउज्यानको सुरक्षा गरिदिन सरकार र सरोकारवाला निकायसंग गुहार गरेकी हुँ । मलाई उसले जुनसुकै बेला मार्न सक्छ, म बाँच्न चाहान्छु, मलाई बचाउनुहोस् । उसले मलाई सहयोग गर्ने आफन्तलाई समेत गोली हानी हत्या गरिदिने धम्की दिइरहेको छ । मलाई कुनै माना चामल र अंश चाहिदैन सिर्फ मेरो ज्यान सुरक्षित होस म यति चाहान्छु र ऊ बाट छुटिएर स्वतन्त्र जीवन जीउन चाहाना छ ।

उसले भर्खरै मेरो भिनाजु केदार दाहाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ । मैले भक्तपुर जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेकी छु । हाल आफु असुरक्षित भएपछि रक्षा नेपालको संरक्षणमा रहदै आएकी छु । मेरो अवस्था र घटनाबारे रक्षा नेपालले राष्ट्रिय महिला आयोग, प्रधानमन्त्री कार्यालयको लैङ्गकि हिंसा इकाइ, लगायत सम्बन्धीत निकायमा जानकारी गराइसकेको छ । तर, कहिँ कतैबाट मलाई न्याय दिलाउने र पीडकलाई कारवाही गर्ने प्रयास भएको छैन । महिला आयोगले अदालतमा मुद्धा बिचाराधिन रहेको अवस्थामा आफुले केही गर्न नसक्ने भन्दै जवाफ पठाएको छ । म पीडकलाई हदैसम्मको कारबाही होस भन्ने चाहान्छु । र, म जस्ता युवतीले यस्तो कहालीलाग्दो जीनव भोग्नु नपरोस्......।

No comments:

Post a Comment