Image Hosted by ImageShack.us

2013/09/06

झापाकी महिलाले चार बच्चा जन्माइन्

bachaविराटनगर, २० भदौ । झापाकी एक महिलाले बिहीबार विराटनगरमा चार बच्चालाई जन्म दिएकी छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा सफल शल्यक्रिया मार्फत उनले ३ छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । झापा धुलाबारी बस्ने २६ वर्षीया दीपा भट्टराईले आज यहाँ आधा घण्टाको सफल शल्यक्रियापछि चार बच्चालाई जन्माएकी हुन् ।
अस्तापलकी प्रसूति रोग विषेशज्ञ चिकित्सक शान्ती सुवेदी, सविना लामिछाने, परिनिता थापा, वर्षा अग्रवाल र बालरोग विशेषज्ञ अरुण गिरीको संयुक्त टोलीले शल्यक्रियाबाट बच्चा निकाल्न सफल भएको हो । ती बच्चाहरुमध्ये २ छोराको तौल १ किलो २ सय ग्राम, अर्का छोराको तौल १ किलो ग्राम र छोरीको तौल ८ सय ग्राम रहेको चिकित्सकहरुले बताएका छन् ।

चारमध्ये ३ छोरा अहिलेसम्म स्वस्थ रहेको भए पनि छोरीको निकै कम तौलको रहेको र श्वासप्रश्वासमा समस्या भएको बालरोग विशेषज्ञ अरुण गिरीले बताउनुभयो । उहाँले चारै बच्चालाई आपतकालीन उपचार कक्ष (आइसीयु) राखिने बताउनुभयो ।

सामान्यतया, बच्चाको तौल २ किलो ५ सय ग्रामसम्म हुनुपर्ने बताउँदै उहाँले हालसम्म उनीहरुमा खासै ठूलो समस्या नदेखिए पनि ४८ घण्टापछि भने अन्य रोग देखा पर्ने सम्भावना रहेको बताउनुभयो । चार बच्चा जन्माउने आमाको स्वास्थ्य अवस्था राम्रो रहेको स्त्री तथा प्रसूति रोग विषेशज्ञ शान्ती सुवेदीले बताउनुभयो । नोवेल अस्पतालमा चार बच्चाको जन्म भएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ 

दीपाको पहिलो बच्चा दुई वर्षअगाडि दुई महिनाको गर्भ हुँदा खेर गएको बताइएको छ । उनले डा भोला रिजालको रेखदेखमा एक महिनासम्म औषधि खाएपछि पुनः गर्भ रहेको, र एकै पटक चार शिशु जन्मिएको उनको परिवारजनले जनाएका छन् ।

No comments:

Post a Comment