Image Hosted by ImageShack.us

2013/11/15

भोट हाल्ने इच्छा अधुरै'

injuredकाठमाडौ, कार्तिक २९ - मंसिर ४ को संविधानसभामा भोट हाल्न पाइने खुसी बोकेर मलेसियाबाट बुधबार काठमाडौं उत्रिएका थिए, दार्चुला लुइटा ८ का विनोदबहादुर चन्द र बैतडी भुमेश्वर ७ का ध्वजसिंह बिष्ट । १८ महिनाअघि विदेश गएका चन्दलाई दलालले नक्कली श्रमस्वीकृति र भिसाको आधारमा मलेसिया पठाएका थिए भने बिष्ट बिरामी परेकाले ६ महिनापछि फर्केका थिए । बिहान १० बजे काठमाडौं झरेका उनीहरूसँग खाना खाने पैसासमेत थिएन । 

गाउँ जाने बसबारे बुझ्न नयाँ बसपार्क पुगेर वसन्तपुरस्थित होटलमा र्फकंदै गर्दा उनीहरू चढेको माइक्रोमा विस्फोट भयो । निर्वाचन विरुद्धको बन्दको अवज्ञा गरेको भन्दै सामाखुुसीमा गुडिरहेको माइक्रोमा पेट्रोल बम प्रहार भएको थियो, जसमा यात्रा गरिरहेका उनीहरूसहित ९ जना घाइते भए । अहिले अस्पतालको टोखास्थित ग्रान्डी अस्पतालको शय्यामा रहेका उनीहरूमध्येका चन्दसँग गरिएको कुराकानी उनकै शब्दमा:

धुम्बाराहीस्थित म्यानपावरको एजेन्ट महेन्द्रनगर घर भएका वीरेन्द्र चौधरीले १ लाख ५० हजार लिएर १८ महिनाअघि मलेसिया पठाएको थियो । सेक्युरिटी गार्डका लागि गएको थिएँ । तर, भिसा र श्रम स्वीकृति नै नक्कली रहेछ । मलेसियाको विमानस्थलमा नेपाली एजेन्ट झापा गौरादहका महेन्द्र बस्नेतले लिन आयो । मलाई गोर्खा सेक्युरिटी कम्पनीमा काम लगाए ।

त्यो कम्पनी नेपालीले खोलेको रहेछ । ६ महिना काम गरेबापत ५० हजार रुपैयाँ दिए । त्यसपछि जसले मलाई मलेसियाको विमानस्थलमा लिन आएको थियो, उसैले 'अब मैले आफ्नै सेक्युरिटी कम्पनी खोलेको छु,' भनेर कामबाट छुटाएर लग्यो । २ महिना काम पनि गरेँ । त्यसबापत २५ हजार पाएँ । दुई महिनापछि काम नहुने भयो, कोठामै बस्नुस् 'बेसिक स्यालरी' दिन्छु भन्यो । जुलाईदेखि कामविहीन भएँ ।

नक्कली भिसामा कामदार ल्याएको भन्दै मलेसिया अध्यागमनले ती दलाल, उसको श्रीमती, सालोलगायत आफन्तलाई पक्राउ गरेको छ । खल्तीमा पैसा भएन । मलेसियामा दिनमा एकपल्ट पानी पथ्र्यो । आकाशबाट परेको पानी घरको छाना र जस्ताबाट झरेपछि थापेर खान्थंे । नेपाल र्फकन मलेसियास्थित नेपाली दूतावासमार्फत मलेसियाको अध्यागमनमा ५ सय रिङगेट जरिवाना तिरें । दलालले मेरो राहदानीसमेत लगेकाले दूतावासले बनाइदिएको ट्राभल डकुमेन्टका आधारमा नेपाल फर्कें ।

र्फकन घरबाट ६० हजार ऋण गरेर पठाइएको थियो । विदेश जानुअघि दलालले मासिक १२ सय रिङगेट तलब पाउने झूटो आश्वासन दिएको थियो । विदेश जाँदा २ लाख र बेखर्ची भएर मलेसियामा बस्दा र आउन जहाज भाडासमेत २ लाख ५० हजार गरी साढे चार लाख रुपैयाँ ऋण लागेको छ । मलाई नक्कली भिसामा पठाउने म्यानपावर र दलाललाई सरकारले कारबाही गरिदेओस् ।

नेपाल र्फकने क्रममा मलेसिया विमानस्थलमा बैतडी भुमेश्वर ७ का ध्वजसिंह बिष्टसँग भेट भयो । उनी पनि ६ महिनाअघि मात्रै मलेसिया गएका रहेछन् । बसुन्धराको क्याराभान म्यानपावरबाट फर्निचरका सामान बनाउने कामका लागि गए पनि बिरामी परेर फर्केका रहेछन् । विदेश जान १ लाख ३० हजार म्यानपावरलाई बुझाउन ५० हजारको खेत, ५० हजारमा घर, ३० हजार ऋण गरेर साथी पनि मलेसिया जानुभएको रहेछ ।

मलेसियाबाट नेपाली समय अनुसार बुधबार बिहान ६ बजे नेपाल एयरलाइन्सको विमान चढेका थियौं । काठमाडौं विमानस्थलमा उत्रँदा १० बजेको थियो । नेपालमा यातायात बन्द छ भन्ने मलेसियामा पनि सुनेको थिएँ । बन्द भए पनि 'पार्टी' ले रिजर्भ गरेको गाडीमा घर लैजान्छ भन्ने हल्ला थियो । अरूको देशमा बस्नुभन्दा मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनमा मत खसाल्न पनि पाइने भएकाले नेपाल आयौं । 

काठमाडौंमा आफन्त नभएकाले होटलको खोजी गर्न माइक्रोबस चढेर दुवै जना बसुन्धरा गयौं । एक रात बसेको र खाएको दुई सय रुपैयाँमा कुरा मिल्यो । गाउँमा आफन्तलाई फोन गर्न दुवै जनाले एनसेलको सिम लियौं । आफ्नै मुलुकमा फर्केपछि परिवार खुसी पनि भए । विमानस्थलबाट बसुन्धरासम्म जाँदा जताततै निर्वाचनको माहोल देख्यौं । गाडीमा दलका कार्यकर्ता प्रचार गर्दै हिँडिरहेका थिए ।
भोट हाल्न पाइने भयो भनेर उत्साहित भएँ ।

होटलमा झोला छाडेर गाउँ जाने गाडीको अवस्था बुझ्न नयाँ बसपार्क गयौं । बस नजाने भएपछि निराश भयौं । दुवै जनाको खल्ती रित्तिएकाले काठमाडौंको महँगोमा कसरी बस्ने भन्ने भयो । मेरो खल्तीमा २२ रिङगेट (६८२ रुपैयाँ) थियो । बसपार्कबाट होटलमा र्फकन माइक्रोबस चढ्यौं । ठाउँ-ठाउँमा रोक्दै यात्रु चढाइरहेको थियो । म ढोका छेउमा थिएँ । सामाखुसी पुगेपछि एक्कासि ठूलो आवाज आयो । लगत्तै भित्रै आगो बल्यो । त्यतिखेर त बाँचिन्छ भन्ने नै लागेको थिएन ।

गाडी बल्न थालेकाले सबै चिच्याउन थाले । ढोका लक भएकाले झ्यालबाट हाम फालेर बाहिर निस्कें । आगो कसले लगायो भन्ने थाहा भएन । अर्काको देशमा हन्डर खाएर फर्केका हामीलाई किन निसाना बनाइयो भन्ने लाग्यो । अर्काको देशमा बाँचेर आयौं, तर नेपालमा असुरक्षित भइयो । नेपाल छिरेको साढे ६ घन्टापछि बन्दकर्ताको निसानामा परियो । नेपाली नागरिक भएर विदेश जानु हाम्रो गल्ती हो र ? घरजग्गा बिक्री गरेर गएँ । नेपालबाट जाँदा जुन लुगा गएको थिएँ, त्यसमै फर्कें । असुरक्षा भएकाले बेकार फर्केजस्तो पनि लाग्यो ।

राजनीतिक स्वार्थ पूरा गर्न बम प्रहार गर्दा हामीजस्ता सर्वसाधारण घाइते भयौं । यदि उसको स्वार्थ पूरा गर्नु थियो भने नेताकै गाडीमा बम हानेको भए हुन्थ्यो । म जस्त्ाो विदेशमा समेत हन्डर खाएर फर्केको व्यक्तिलाई नै किन लक्षित गरेको होला ? हात र अनुहारमा आगोले पोलेको छ । उपचार गर्ने खर्च छैन । सरकारले तिर्ने व्यवस्था गरिदिए हुन्थ्यो । विदेशदेखि भोट हाल्न पाइने र परिवारसँग भेट्ने इच्छा अधुरै रह्यो ।

No comments:

Post a Comment