2013/02/28

मलेसियामा भएको रामदत्त पन्त हत्याकाण्डमा मेनपावर कम्पनी संलग्न भएको आरोप

काठमाडौं, फागुन १५-वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रामदत्त पन्तको केही साता अघि भएको हत्याको छानबिन गरी संलग्न अपराधीलाई कारबाही तथा क्षतिपूर्तिको माग आफन्तले गरेका छन्। उनको गत माघ २४ गते हत्या भई यही फागुन ११ गते शव नेपाल ल्याइएको थियो।

कञ्चनपुर जिल्लाका पिपलाडी-९ गर्जमणिका ३६ वर्षीय पन्त विसं २०६८ असोजमा मलेसियाको जोरवार भन्ने स्थानमा कार्यरत थिए।
सुन्धरास्थित 'इन्पि्कनीटी रिक्रुइटमेण्ट' नामक मेनपावर कम्पनीका सञ्चालक उज्वलसिंह धामीलाई

रु एकलाख बुझाएर २०६८ असोजमा मलेसियाको जोरवार भन्ने स्थानमा गएको र भनेजस्तो काम र तोकिएको रकम उपलब्ध नगराइएको बताइएको छ।

मृतकका भाई नवराज पन्तले विदेश गएका दाजुसँग आफ्नो बराबर कुरा हुँदा दाजुले स्वदेश फर्काउन अनुरोध गरेपछि सम्बन्धित मेनपावर कम्पनीका सञ्चालक धामीसँग सोही वर्षको मङ्सिर २६गते रु एकलाख र दाजुलाई फिर्ता गर्ने सम्झौता भएको बताए।

उनले सो हत्यापछि मेनपावर कम्पनीका सञ्चालक धामी सम्पर्कमा नरहेको उल्लेख गर्दै वैदेशिक रोजगार विभागलाई आवश्यक क्षतिपूर्तिको व्यवस्थापन गरिदिन आग्रह गरे।
radioallnepal

३ महिनाअघि बेपत्ता युवक भारतमा मृत फेला

काठमाडौ, फाल्गुन १५ - काठमाडौंबाट ३ महिनाअघि बेपत्ता एक युवकको शव भारतको चण्डीगढमा फेला परेको छ । ललितपुरको लेले घर भएका २२ वर्षीय लव सापकोटाको शव चण्डीगढको किसनगढस्थित एक घरमा फेला परेको हो । पुल्चोकस्थित सुमेरु फाइनान्समा काम गर्ने सापकोटा गत मंसिर ११ देखि सम्पर्कविहीन थिए ।

लेलेस्थित घरबाट हिँडेका उनीसँग परिवारको मंसिर १६ मा अन्तिम फोनसम्पर्क भएको थियो । बुवा रामप्रसादले उनी हराएको प्रहरीमा जाहेरी दिएका थिए । चार महिनासम्म केही खबर नपाएको उनको परिवारलाई शुक्रबार उनी पढ्ने लेलेकै हिलटप कलेजबाट फोन गएको थियो । स्कुलमा भारत चण्डीगढबाट मूल प्रवास अखिल भारत नेपाली समाजका उपाध्यक्ष लक्ष्मण खनालले फोन गरेर सापकोटाको शव फेला परेको र घटनास्थलमा प्रहरीले उनको स्कुलको परिचयपत्र बरामद गरेको खबर दिएका थिए । स्कुलले परिवारलाई जानकारी गराएको थियो ।

भारतीय दैनिक भास्कर र अमर उज्यालालगायत पत्रपत्रिकाले नेपाली युवकको शव फेला परेको खबर छापेका थिए । त्यही खबर पढेर त्यहाँ रहेका नेपालीहरू मनिमजार प्रहरी थानामा पुगेका थिए । 'नेपालीको शव भेटिएको खबर अखबारमा पढेपछि प्रहरी थानामा सम्पर्क गर्न गयौं,' टेलिफोनमा खनालले भने, 'नेपाली भनेपछि मृतकको परिचयपत्रमा रहेको फोन नम्बरमा सम्पर्क गरेका थियौं ।'

खबर पाएपछि मृतकका परिवार आइतबार बिहान प्रहरी सम्पर्कमा आएका थिए । ललितपुर क्राइम ब्रान्चले शवबारे भारतीय प्रहरीसँग जानकारी र फोटो मागेको थियो । उक्त शव चण्डीगढस्थित किसनगढ इलाकाको एउटा घरमा फेला परेको मनिमजार प्रहरी थानाका सबइन्सपेक्टर धर्मपालले कान्तिपुरलाई बताए । उनका अनुसार घरधनीले कोठाभित्रबाट गन्ध आएको बताउँदै प्रहरीमा जाहेरी दिएका थिए । 'कोठाबाट दुर्गन्ध आयो भनेपछि हामीले गएर ढोका फोडेर हेरेका थियौं,' धर्मपालले टेलिफोनमा भने, 'शव केही दिन पुरानो हो ।'

उनका अनुसार शव बरामद भएको घर जय भगवान् नामका व्यक्तिको हो । ती व्यक्तिले मनिमजारा प्रहरी थानालाई दिएको जानकारीअनुसार उक्त कोठामा सापकोटासहित ३ नेपाली युवक बस्ने गर्थे । तीमध्ये दुई जना केही दिनअघि मात्र नेपाल जाने भन्दै हिँडेका थिए । उनीहरू त्यहाँ बिहेपार्टीमा 'वेटर' को काम गर्थे ।

धर्मपालले मृत्युको कारण थाहा हुन नसकेको जनाए । उनले आफन्त आएपछि मात्रै पोस्टमार्टम हुने बताए । शव जबरलाल नेहरू अस्पतालमा राखिएको छ । शवमा नाक र मुखबाट रगत निस्किएर जमेको छ । अनुहारमा नीलो दाग र सुन्निएको छ ।

सँगै भेटिएको हिलटप हाइयर सेकेन्डरी स्कुलको परिचयपत्रका आधारमा शव सापकोटाकै हुनुपर्ने परिवारले ठानेको छ । तर तस्बिरमा धेरै मोटो व्यक्ति देखिएकाले पहिचान गर्न कठिन भएको पिता रामप्रसादले बताए । 'स्विटर र भित्र लगाएको हरियो रङको टिसर्ट मेरो छोराकै हो,' उनले भने, 'तर यति धेरै मोटो थिएन ।' रामप्रसादले छोरो बेपत्ता हुनुअघि थानकोटसमेत कटेर नगएको उल्लेख गर्दै चण्डीगढ घटनाप्रति विश्वास गर्न नसकिरहेको बताए । 'कपडा र परिचयपत्रले मात्रै हो कि भन्ने लागेको छ,' उनले भने, 'त्यही पुगेपछि मात्र सबै थाहा हुन्छ ।' शव लिन मृतकका बुवा, काका र दाजु मंगलबार त्यसतर्फ जाने भएका छन् ।

टेन्सन घटाउन यसो गरौ

भागदौड तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनशैलीमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब, सिमित तलब अर्थात् पैसाले घर व्यवहारका असिमित आवश्यकता पूरा गर्नुपर्ने तनाव आदि आदि घरेलु तथा बाह्य तनावहरु मान्छेले झेलिरहेको हुन्छ ।

विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न र केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ । त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ ।

तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन । आखिर तनावलाई कसरी नियन्त्रण गर्ने त ? हामीले यहाँ केही टिप्स प्रस्तुत गरेका छौँ ।


१. बुढापाकाहरुसँग भेट गर्नुहोस् र कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव भएको छ भने तपाइँका वृद्ध हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध अभिभावकलाई भेट्न सम्भव छैन भने नजिकैका बुढापाकालाई भेट्न जानुहोस् । बुढा पाकासँगको बसाइले तपाइँलाई शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।

२. खानपान बदल्नुहोस् : तपाइँलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधै खाएर दिक्क भएको चिज भन्दा नयाँ चिज खाने कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय पदार्थको स्वाद लिएर तनावलाई भगाउन सक्नुहुन्छ । तपाइँले मदिरा नै खानुपर्छ भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर पार्न सक्नुहुन्छ ।

३. नङलाई बनाउनुस् कलात्मक : अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।

४. विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ ।

५. पूराना कपडाको रिडिजाइन । के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ ।

यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ ।

कोलकत्ताको बजारमा आगलागी, १९ को मृत्यु

१६ फागुन, काठमाण्डौं । 
भारतको कोलकत्ताको सियालदा इलाकास्थित सूर्यसेन बजारमा भएको आगलागीमा १९ जनाको मृत्यु भएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएपनि सरकारी अधिकारी र प्रहरीले संख्या बताएको छैन ।

बुधबार विहान करिव ४ बजेतिर सुरु भएको आगलागी झण्डै ३ घण्टापछि मात्र नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।

आगलागीको समयमा ७ तले भवनमा मानिसहरू रहेको र बाहिर निस्कने एउटा मात्र बाटो भएकाले ठूलो क्षाति भएको बताइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बजारको निर्माण अवैध रुपमा गरिएको थियो । मुख्यमन्त्री मतता बेनर्जीले मृतकका परिवारलार्इ २ लाख र घाइतेलार्इ ५० हजार दिने बताउनु भएको छ ।

छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

१६ फागुन, विराटनगर । 
आफ्नै ८ बर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा शनिश्चरे–४ बस्ने ४० बर्षीय खड्ग बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका उनले मंगलबार राति आफ्नै घरमा छोरीलाई जवरजस्ती करणी गरेको बताइएको छ ।

प्रहरीले पिडित बालिकाको स्वास्थ्य परिक्षणको लागि प्राथमिक स्वास्थ केन्द्र मंगलबारेमा पठाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु


१४ जनाको अवस्था गम्भीर ।
सुनसरी, फाल्गुन १६ । सुनसरीको इटहरीस्थित हलगडा चोक नजिकै सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थमै मृत्यु भएको छ । मृत्यु हुनेमा बसका कण्डक्टर उदयपुर सुपारीटारका ईश्वर लुइँटेल र धरान नगरपालिका ८ घर भएका सहचालक जयशंकर कोइराला छन् । बसमा सवार अन्य १४ जना गम्भीर घाईते छन् । घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । तीब्र गतिमा रहेको बस साईकल यात्रीलाई बचाउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

2013/02/24

नेपाली क्रिकेट टोली भोलि दिल्ली जाने

११ फागुन, काठमाडौं । 
आसन्न एसीसी टी-२० एलिट कप क्रिकेट र आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीमा रहेको नेपाली टोली अभ्यास खेलका लागि भोलि नयाँ दिल्ली जाने भएको छ ।

पारस खड्काको कप्तानीमा १८ सहितको २१ ससस्यीय टोली भोलि साँझ दिल्ली जाने क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले जनाएको छ ।

टोलीमा सुवास खकुरेल, सागर पुन, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा, प्रदिप ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी र सदर भेश्वाकर छन् ।

यस्तै शक्ति गौचन, चन्द्र साउद, अमृत भट्टराई, संजम रेग्मी, मंजित श्रेष्ठ, अनिल मण्डल, राहुल विश्वकर्मा, जितेन्द्रकुमार मुखिया र रामनरेश गिरी पनि भ्रमण टोलीमा परेका छन् ।

नेपाली टोलीले स्थानीय क्लबहरुसँग ४ एकदिवसीय र ४ टी-२० म्याच खेल्ने कार्यक्रम रहेको छ । एसीसी टी-२० एलिट कप क्रिकेट चैत्र १३ गतेबाट काठमाडौंमा हुँदैछ ।

छ वर्षीया बालिकामाथि जवरजस्ती गर्ने युवा पक्राउ

महेश्वर चामलिङ राई, उदयपुर, फागुन १२ - बालिकामाथि जवरजस्ती करणी गर्न खोज्ने यहाँका एक युवा रंगेहात पक्राउ परेका छन्। जिल्लाको जोगीदह ३ का स्थानीय दयाराम चौधरी सोही ठाउँकी सुन्तली चौधरी (नाम परिवर्तन) माथि जवरजस्ती गर्दै गरेको अवस्थामा रंगेहात फेला पारेर पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

छ वर्षीया बालिकालाई स्थानीय सामुदायिक वन उपभोक्ता समूहको जंगलमा बिहीबार दिउसो घाँस दाउरा गएको मौका पारी ललाई फकाई गर्दा नमानेपछि जवरजस्ती गर्न खोजिरहेका बेला गाउँलेले देखेर नियन्त्रणमा लिएर स्थानीय प्रहरी चौकीमा बुझाएको प्रहरीले जनाएको छ। शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय ल्याइएको ३० वर्षीय उनीविरुद्ध तत्कालै अदालतमा मुद्धा दायर गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताए।
बालिकालाई जिल्ला अस्पताल उदयपुरमा उपपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ। उनको स्वास्थय स्थिति सामान्य रहे्को पौडेलले बताएका छन्।

एकै दिन दुई जना बलात्कृत

फागुन १२ । म्याग्दीमा एकै दिन दुई जना बलात्कृत भएका छन् । बलात्कृत हुनेमा एक जना बालिका छन् भने अर्की युवती हुन् । चिमखोला घर भई हाल अर्थुङगे गणेश टोल डेरा गरी बस्दै आएका १४ वर्षीय रुपेश परियारले शुक्रबार स्थानीय चार वर्षीया बालिका ममता अधिकारी (नाम परिवर्तन) लाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ममतलाई बलात्कार गरेको अभियोगमा रुपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरी, ज्यामरुकोट–७ बस्ने १७ वार्षीया सरिता सार्की (नाम परिवर्तन) पनि बलात्कृत भएकी छन् । उनलाई स्थानीय ४० वर्षीय झलकबहादुर घिमिरेले शुक्रबार बलात्कार गरेका हुन् । उनले सरितालाई बारीमा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बलात्कार कार्यमा संलग्न झलकबहादुरलाई पनि नियन्त्रणमा लिएको छ ।

2013/02/21

संसारकै पिरो खुर्सानीको बेर्ना तयार

१० फागुन, काठमाडौं । 
पिरोका पारखीले प्रतीक्षा गरेको संसारकै सबैभन्दा पिरो खुर्सानीको बेर्ना तयार भएको छ । केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रले भारतको आसामबाट बीउ ल्याएर बेर्ना तयार गरेको हो । ‘अब बेर्ना वितरणका लागि तयार भएको छ’ केन्द्रका प्रमुख भरतकुमार पौडेलले भन्नुभयो-’परीक्षणका रुपमा फागुन अन्तिम हप्तादेखि वितरणको तयारी छ ।’

उहाँका अनुसार बेर्ना सीमितमात्र भएकाले सबै ठाउँमा वितरण गर्न समस्या छ । ‘माग धेरै छ, तर बेर्ना कम छ’ पौडेलले भन्नुभयो-’अहिले परीक्षणका लागि केही ठाउँमा वितरण गर्ने योजना छ ।’ केन्द्रले प्रति बेर्ना ५ रुपैंयाको दरले बिक्री गर्ने तयारी गरेको छ । पौडेलका अनुसार झण्डै ५/७ हजार बेर्ना उमारिएको छ । संसारकै सबैभन्दा पिरो ‘भुत जोलोकिया’को व्यवसायिक खेती नेपालमा समेत गर्ने गरी बेर्ना तयार गरिएको हो ।

यो जातको खुर्सानी मध्यपहाड र तराईका जुनसुकै ठाउँमा पनि खेती गर्न सकिन्छ । संसारकै सबैभन्दा पिरो खुर्सानीको रुपमा दर्ता भएको भोट जलोकियालाई हाइबि्रड गरेर भारत र बंगलादेशका बिभिन्न देशमा समेत खेती गरिँदै आइएको छ । विज्ञहरुका अनुसार यो खुर्सानी अरु जातका खुर्सानीभन्दा ४ सय १ दशमलव ५ पटकभन्दा बढी पिरो हुन्छ ।

४८ एचआइभी सङ्क्रमितको मृत्यु

१० फागुन, नेपालगन्ज । 
बाँकेमा अहिलेसम्म ४८ जना एचआइभी सङ्क्रमित बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । सामाजिक संस्था इन्प्रोक र मित्र समाजको तथ्याङ्कअनुसार, मृत्यु हुनेमा १७ महिला र ३१ पुरुष रहेका छन् भने जिल्लामा अहिलेसम्म ५ सय ११ जना एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।

एचआइभीको क्षेत्रमा क्रियाशील डाँक संस्थाका जिल्ला संयोजक विकास शर्माले असुरक्षित यौनसम्पर्क, सङ्क्रमित रगत र शरीरका अङ्गको प्रत्यारोपणका कारण पछिल्लो समय एचआइभी सङ्क्रमितहरु बढ्दै गएको बताउनुभयो ।

ब्राजिल लैजाने भन्दै ठगिएका थप सम्पर्कमा

काठमाडौ, फाल्गुन ९ -
मानव तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्दै इन्डोनेसियाबाट ब्राजिल लैजाने क्रममा बाटैमा अलपत्र परेकाको समाचार सार्वजनिक भएलगत्तै त्यही गिरोहबाट अरू पनि दर्जनौं पीडित भएको जानकारीमा आएको छ ।

पोखराका एजेन्ट विष्णु गुरुङ र उनकी श्रीमती बिनुमाया गुरुङले जनही ४ लाख रुपैयाँ उठाएर एक वर्षअघि ६ जनालाई इन्डोनेसिया पुर्‍याएका थिए । तीमध्ये थानकोटका नकुल सुनारको बाली प्रान्तमा दुर्घटनामा मृत्यु भएपछि गिरोहबारे थाहा भएको हो ।

परराष्ट्रको कन्सुलर शाखाले पहल गरे पनि नकुलको शव फिर्ता ल्याउन र अरूलाई उद्धार गर्न सकिएको छैन । इन्डोनेसियामा नेपालको कूटनीतिक सम्पर्क नरहेको र मलेसियाको क्वालालम्पुरस्थित नियोगले सहप्रमाणीकरण हेर्ने भएकाले उद्धार प्रक्रिया 'पत्राचार' मै सीमित छ । 'मलेसियास्थित दूतावासबाट एक कूटनीतिक कर्मचारीलाई जकार्ता पठाउने पहल भएको छ,' परराष्ट्रका एक अधिकारीले भने, 'क्वालालम्पुर-जकार्ता आवतजावतका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट तत्काल १ लाख २५ हजार रुपैयाँ निकासा हुनेछ ।' ब्राजिल लैजाने भनेर गिरोह सञ्चालन गर्ने गुरुङ दम्पतीको ठगीमा पर्नेहरूले जनही दुई लाखदेखि ४ लाख रुपैयाँसम्म शुल्क बुझाएको जानकारी दिए । गिरोहका सहायक एजेन्ट ज्ञानेन्द्र सुनार र सानुभाइ विश्वकर्मामध्ये सुनार अहिले हनुमानढोका थुनामा छन् । पीडितहरूले मुख्य एजेन्ट गुरुङकी श्रीमती बिनुमायालाई पनि पोखराबाट पक्राउ गरेर हनुमानढोकामा बुझाएका छन् । 'मेरी छोरी हीरा गुरुङ पनि अहिले जकार्ताको अध्यागमन थुनामा परेकी छ,' पोखराबाट आएकी हीराकी आमा कान्छी गुरुङले कान्तिपुरसँग भनिन् ।

पोखरेली नाता भएकाले उनले भने मुख्य एजेन्ट बिनुमायालाई २ लाख ५० हजार रुपैयाँ मात्रै बुझाएकी थिइन् ।' 'गुरुङ दम्पतीको गिरोहले हामी सबैबाट गरेर १ करोड रुपैयाँभन्दा बढी रकम उठाएको पाइएको छ,' जकार्तास्थित अध्यागमनमा आफ्ना भाइ कजन पोखरेल थुनामा परेपछि आक्रोशित दाजु रजनले भने । गुरुङ दम्पतीलाई त्यसरी नै पैसा बुझाएका धादिङका प्रकाश दुधराज, लव सुनार, उद्धव सुनार, आशिक सुनार, अमरबहादुर सुनार र नुवाकोटका कुमार सुनार पनि कान्तिपुर कार्यालय आएका थिए ।

कलंकीका गणेश रिसाल र थानकोटका मोहन सुनारले पनि आफूहरू गुरुङ गिरोहबाट पीडित भएको भन्दै ठगिएको कागजात देखाए । उनीहरू प्रत्येकले अधिकतम ४ लाख रुपैयाँ बुझाइसकेका छन् । मलेसियास्थित कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बालीस्थित अस्पतालमा रहेको नकुलको शव नेपाल पठाउन पहल गरिए पनि प्रक्रिया झन्झटिलो रहेको बताए । नक्कली भिसाको अभियोगमा प्रवीन सुनार, कृष्ण सुनार, किशोर सुनार, कजन पोखरेल र हीरा गुरुङ १० दिनदेखि जकार्तास्थित अध्यागमन कारागारमा छन् ।

लेबनानमा दुई युवतीको मृत्यु झापा, भद्रपुरकी सीता पालको लेबनानको बेलुनीमा गत माघ १६ गते मृत्यु भएको छ । मृत्युको कारण खुल्न नसकेको नेपाली सहयोगी डिल्ली पौडेलले बताए । सोलुखुम्बु, कानगलकी कल्पना दमाईंको मंसिर २१ गते मृत्यु भएकोमा उनको राहदानी नक्कली भएकाले शव ल्याउन सकिएको छैन । चोरी र जालसाजीसहितका अभियोगमा अहिले लेबनानमा १२ नेपाली युवती कारागारमा रहेको पौडेलले बताए ।

विदेश जान एकै विद्यालयका ३५ विद्यार्थीले पढाई छाडे

दिलीप पौडेल, बाग्लुङ, फागुन ९ -
व्यक्तिले शिक्षा पाए आत्मनिर्भर र सक्षम बन्न सक्छ। शिक्षासँगै सीप भए विदेशमा पनि राम्रो रोजगारीको अवसर मिल्छ। तर, विदेश गए पैसा कमाइन्छ भन्ने लहैलहैमा लाग्दा दुर्गम गाउँ बोबाङका विद्यार्थी स्कुल छोड्न थालेका छन्।

एसएलसी पास नगरेका विद्यार्थी धमाधम स्कुल छाडेर राहदानी बनाउँदै विदेशिएका छन्। जिल्ला सदरमुकामदेखि ३६ कोष पश्चिममा छ उक्त गाउँ। कक्षा ७ देखि १० सम्म पढ्नेहरु नागरिकता र राहदानीमा उमेर बढाएर कतार, साउदी, मलेसिया लगायत मुलुकमा अदक्ष कामदारका रुपमा सस्तो श्रम बेच्न गएका छन्।

ज्ञानोदय माविमा कक्षा ९ का छात्र महेश भण्डारीले बिदेश जान स्कुल छाडे। भण्डारी दोस्रो त्रैमासिक परिक्षामा समेत सहभागि भएनन्। उनले राहदानी बनाइसकेका छन्। 'पढेर पनि आखिर पैसा कमाउनु हो,' उनले भने,'त्यसैले विदेश जाने तयारीमा छु।'

भण्डारीमात्र होइन, त्यहि स्कुलको कक्षा १० का छात्र प्रमोद अदै पनि विदेशिए। परिवारले एसएलसी दिएर जाउ भन्दा पनि उनले अटेर गरे। '८० हजार रुपैयाँ खर्च गरेर कतार गए पनि अहिलेसम्म पैसा पठाएको छैन', बाबु कर्मबहादुरले भने, 'एसएलसी दिएर जालास् भन्दा पनि टेरेन।'

यो शैक्षिक शत्रमा मात्र ज्ञानोदय माविका ३५ विद्यार्थीले विदेश जान स्कुल छाडेका छन्। '१ सय ४४ विद्यार्थीले स्कुल छाडेका छन्,' प्रधानाध्यापकले भने, 'ती मध्ये ३५ जनाले राहदानी बनाएका छन्।'

पोहोर भन्दा यो बर्ष विदेशिने लहर चलेपछि पढालेखाहरु भने चिन्तित देखिएका छन्। सामान्य लेखपढले विदेशमा तल्लो स्तरको काम गर्नुपर्ने भएकाले एसएलसीसम्म अध्ययन गर्न सुझाब दिँदा पनि बेवास्ता गरेको शिक्षक बताउँछन्।

बोबाङमा दलित र जनजाति समुदायको बसोबास छ। अधिकांश युवा विदेश छन्। कक्षा ८ पढ्दापढ्दै कतार पुगेका मनोहर विक पहिलो छुट्टीमा घर फर्किएका छन्। दुई बर्ष कतारको एक निर्माण कम्पनीमा काम गरेर फर्किएका विकले विदेश सोचे जस्तो नभएको बताए। 'यहाँबाट धन टिप्न पाइएला भनेर गएको थिएँ,' उनले भने, 'दिनमा १५ घण्टा काम गर्दा मुस्किलले २५ हजार कमाउँछु।'

उनले काम गर्दा हातमा परेका ठेला समेत देखाए। 'पढालेखालाई अलि राम्रो काम पनि पाइन्छ,' उनले भने,'सीप नहुँदा सस्तोमा श्रम बेच्नु पर्ने बाध्यता छ।'

कतिपयलाई परिवारले कर गर्छन। तर, अधिकांश विद्यार्थी आफैं पढाई छोडेर विदेश हिँड्छन्। पढ्ने उमेरमा विदेशमा पलायन भएपछि गाउँनै रित्तिएको गाविस सचिब लोकबहादुर कुँवरले बताए। 'वैदेशिक रोजगारले आर्थिक अबस्थामा केही सुधार आए पनि परनिर्भरता बढाएको छ,' उनले भने।

मैले छोएको माया चलेन


कमल नेपाली- ०५८ साल वैशाख। चितवने साथीको बिहे। दुलाहाको तर्फबाट हामी निम्तालु। काठमाडौंबाट चार जना गएका थियौं। साँझमा पुगियो चितवन। राजधानीबाट गएका दुलाहाका साथीहरूलाई मेजमानी त हुने नै भयो। वरपरका कन्या (कन्या त कोक्रोमा मात्र पाइन्छ भन्छन् तैपनि भनिहालें)- हरू हामीलाई हेरेर मस्किन थाले। प्वाट्ट फुट्लाजस्तो वैंश भरिएका ठिटीहरूलाई देखेर एक साथीले भनिहाल्यो- 'एक जना घट्लाजस्तो छ है यताको!' उनीहरूले एकापसमा हेराहेर गरे। सायद उनीहरूको मन भन्दो हो- 'तँ हैन म घट्ने!'

'अनि बढ्ने चाइँ उता!'- साथीले मलाई देखाएर भन्यो। त्यतिखेर उनी हीँहीँहीँ... हाँस्दै थिए, घोडा हिनहिनाएजस्तो। विचार त आफैंलाई गरेका हुँदा हुन्, मलाई हालिदिए घानमा। अब झस्किने भाग मेरो। केटी देख्नासाथ म त्यसैत्यसै मुजिन्छु। मेरो मुटुमा ढ्यांग्रो बज्न थाल्छ- गुरुङहरूको अर्घुंमा जस्तै। लेडिजफोविया सायद।

ठिटाहरू ठट्टिँदै गर्दा एक जना झुल्किए। सानो गाँठीका। गहुँगोरा। श्रीमान् गम्भीर भन्न सुहाउने हुलियाका। उनको उमेरले भनिरहेथ्यो- 'म दाइ हुँ।' चिनापर्ची भयो। अघिल्लो दिनै आइपुगेका रहेछन् काठमाडौंबाटै। थानकोटका रहेछन्।

दुलाहाका लागि त एकरात पनि सिंगै युगजस्तो भयो होला। उता दुलहीलाई पनि। तर हामी भने थाकेका ज्यान ओछ्यानमा ढल्नासाथै ढालिएछ रातलाई। बिहान पनि कति छिटो भएको!
...
आज जन्ती जाने दिन। पोखरा चाख्न पाइने। बसले साइत गर्‍यो। जन्ते बसमा हामी, दुलाहा र उनका खास भित्रियाचाहिँ कारमा। मभन्दा पछाडि सिटमा दुलाहाकी बैनी र तिनै सानो गाँठीका दाइ थिए। ११ बजेतिर पोखरा पुगियो। पञ्चेबाजा घन्काउँदै।

दुलहीको घर चिप्लेढुंगा। पुग्नासाथै अगाडि आइपुग्यो मिष्ठान्न। बिहान खाजा मात्र खाएर निस्केको जन्तीको आन्द्रा बटारिइसकेको थियो। ग्याष्टिक हुनेको त पुतुतु धुवाँ छाड्ने गरी रिसायो होला भुँडी। अरुलाई किन यसो भन्नु! भएको त आफैंलाई हो नि। अँ, सपासप खाइयो, थपीथपी खाइयो। भान्से नानीहरू (साली नानी भन्नुपर्ला)-ले के ठाने कुन्नि! हन्तकाले पो भने कि! काले भनुन् कि गोरे! खान त परिगो।
भान्सालगत्तै सुरु भयो नाचगान। साथीहरू साली नानीहरू (?)-सँग कुम ठोक्काइठोक्काई नाच्न लागे। मलाई पनि तानिहाले। परेन फसाद! खुट्टा नघुमाई सुक्खै पाइएन। घुमाएँ। मंकी डानस भयो कि के भयो। जेहोस् म नाचें, जिन्दगीमा एउटा इतिहास बन्यो।

ह्यानत्यान गर्दागर्दै दिन अस्ताइसकेछ। दुलाहादुलही कारमा अघि लाएर हामी निस्कियौं। गाडीले पाइला उचाल्दा साँझ खसिसकेको थियो। फकिँँदा पनि सानो गाँठीका ती दाइ र दुलाहाकी बैनी एउटै सिटमा थिए। फरक कति भने आउँदा मेरो पछाडि थिए जाँदा मेरो दायाँतर्फको लहरमा। ठानेँ, केही हुँदै छ। अर्को जन्तेबाख्रो पनि छिट्टै खाना पाइनेभो, जन्ती बन्ने अर्को अवसर पनि थपिने भो!

चितवन पुग्दा आधारात भइगो। कोही कता कोही कता छरिएर घडीचरो बसायौं। हाम्रो अनिँदो बिहान जाग्यो आँखा मिच्दै, मुखलाई हाब्रो बनाउँदै।

बिहान दुलाहालाई साथीहरूले जिस्क्याए। दुलहीको अनुहारमा र जीउमा टाँसिएका सितारा उनको अनुहारमा र पाखुरामा सरुवा भएका थिए। उनको अघाएको मुख प्रष्टै देखिन्थ्यो। यता हाम्रो भोक जागिसकेको थियो। सबैका आ-आफ्ना थिए भने सोचे होलान्- 'प्रतीक्षा गर मेरी मायालु...।' म पनि त यही ड्याङमा थिएँ नि।

बिहे खाइयो, पचाइयो। काठमाडौं फर्किने बेला भयो। खान्कीका लागि बारीको पाटामा ताँती लाग्यांै। हामी चार जना काठमाडौंले ताँतीमा थियौं तर सानो गाँठीका ती दाइ गायव। मलसाँप्रोले जस्तै घाँटी तन्काएर हेर्दै साथीले केही इशारा गरे। उनको चलेको जुँगाले कुरा बुझायो। ती दाइका लागि त भित्रै पाकेको पो रहेछ मिष्ठान्न। हामी त रहलपहलमा परिहाल्यौं। साथीहरूले कुरा काटे। म पनि त्यो कटाइमा सहभागी भएँ। पोलहरू खुले- दुलाहाकी बैनीका लागि यो सब हुँदैछ। तिनै दाइलाई पट्याउने प्रयासमा छ त्यो परिवार। यस्तै यस्तै।

ज्वाइँसत्कार पाएर पनि सानो गाँठीका ती दाइ भने श्रीमान् गम्भीरको गम्भीरै थिए। आएदेखिन्को एउटै ब्रान्डको गम्भीरता देखेर मेरो मनमा एउटा घोर्ले प्रश्न च्याहाँ गर्यो- 'किन?'

फर्किने बेला। नजिकै घर पर्ने हुँदा कोही घरतिर पसे, कोही आफन्तकोतिर। काठमाडांै फर्किने भयौं सानो गाँठीका तिनै दाइ र म। गाडीको सिटमा सँगै बस्यौं। बस जर्‍याकजुरुक उठ्यो र तुुफान कुद्यो। प्रसंगवश कुरा निक्लियो दुलाहाकी बैनीको। निक्ल्यो पनि के भन्नु? निकालेँ म आफैंले। उनले भने खासै चासो दिएनन्। उनका कुरामा विवाह र केटीबारे उति उत्साहजनक तत्व पाइनँ। आखिर किन त? त्यही प्रश्न च्याहाँ गर्‍यो फेरि।

उनी खुल्दै गए कछुवाको चालमा। कहानीको रिल घुम्न थाल्यो। उनी कलेज फ्ल्यासब्याकमा गए-।
'ऊ राम्री थिई। प्रेम प्रस्ताव राखेँ। स्वीकारी। बिस्तारै हाम्रो सम्बन्धबारे एक कान दुई कान हुँदै सर्वत्र फैलिइसकेको थियो। यो कुरा उसको घरकसम्म पुगेछ। उसका बाउले मलाई भेटेरै धम्की दिए। केही डराएको थिएँ, ऊ मलाई ढाडस दिन्थी, 'पर्च टर्च।' उसले नै आड दिएपछि पछि हट्ने कुरै भएन। बाउ झनै चिढिँदै गए। त्यो चिढ्याइँ मेरो लागि हतकडी बनेर हाजिर भयो। भए नभएको आरोपसहित झ्यालखानामा हाले। जे त पर्ला, उसले भनेकी थिई, 'पर्च टर्च।'
उसले कुनै उपाय लगाएर रिहा गर्छे भन्नेमा ढुक्क थिएँ। म उसैलाई पर्खिरहें।

तीन दिनपछि-
ऊ आई। म खुसीले चंगा भएँ। साथमा उसका बाउ पनि थिए। सोचेँ, बाउलाई समेत मनाइछ। केटीलाई मान्नैपर्छ। मेरो अनुहार हँसिलो भयो। मैले त तिनलाई ससुरा बा नै देख्न थालेँ।

उनीहरू आइपुग्दा म जेलको फलामे बारमा छोइने गरी उभिएको थिएँ, ताकि ऊसँग छोइन सकुँ। फिस्स हाँसेर भनें, 'तिमी आउँछ्यौ भन्ने विश्वास थ्यो निरु!' ए साँच्ची त हुनेवाला ससुरा बालाई अभिवादन गर्नै भुलेँछु। सादर नमस्कार टक्य्राएँ तर त्यसको जवाफ मेरो बुझाई विपरीत आयो, 'चिप्लो घस्न खोज्छस् कुजात!'

बुढा पड्किइहाले अब मेरो भर ऊ नै त थिई। म उसको प्रतिक्रियाको तीव्र प्रतीक्षामा थिएँ। बाउको धमास सकिएपछि उसले भनी- 'तँ कुजातसँग म आउँचु भन्ठान्याछस्? थुः!'

मेरो मुख उसको थुकले भरियो। अघिसम्म तावामा थिएँ अब भुंग्रोमा। मेरो सपनाको महल गर्ल्यामगुर्लुम ढल्यो। बाउचाहिँले छोरीलाई घन घोटी बञ्चरो बनाइसकेछन्। त्यो बञ्चरो ममाथि अन्धाधुन्ध प्रहार भयो। मेरो छाती, मुटु अनि मस्तिष्क सब चिराचिरा भए। उनीहरू मेरो यो हाल हेर्दै शानका साथ फिर्ती सवार भए। मेरो छट्पटी सुरु भयो। सजाय काटेर फर्किंदासम्म मभित्रको आधा मान्छेले आत्महत्या गरिसकेको थियो। मेरो हालत देखेर घरमा रुवाबासी चल्यो।

मलाई मर्मत गर्न भनी सिंगो परिवार खट्यो। काउन्सिलिङ गर्नेदेखि लिएर योगध्यानसम्म पुर्‍याइएँ। मैले त आफूलाई माया नै मारिसकेको थिएँ तर बिस्तारै मनका घाउ पुरिँदै गए। समय रहेछ मनको घाउको मलम। म तंग्रिएँ। तर पनि कहिलेकाहीँ त्यो घाउ बल्भि्कन खोज्छ। तुस नमेटिने रहेछ। के गर्नु भाइ हामीले छोएको त माया पनि नचल्ने।'

ती दाइको कुरा सकिँदा नसकिँदै म क्षतविक्षत भइसकेको थिएँ। मान्छेले रङ फेर्नमा छेपारोलाई समेत पछार्छ भन्ने यहीँ थाहा पाएँ। मलाई फेरि पनि हँसिया चिह्नले ठुँग्यो, 'चिनेरै सम्बन्ध बनाउने अनि अहिले यस्तो घात किन?'

मेरो पनि त ती दाइकै चाल भएको हो। मैले आफ्नै ठानेको क्षेत्रीनी (थपिनी) ले यहीँ स्वाहा गरी। मैले आफ्नै ठानेको गुरुङसेनीले पनि त्यै गरी। मेरो माया पनि चलेन। अझ त्यो आकारको अपमान पनि आइलागेको भए मेरो के हाल हुन्थ्यो? सम्झेर झसंग तर्सिन्छु।

मान्छे भन्दा कुकुर सिपालु

कुकुर मान्छेको इमान्दार जनावर साथी मात्र होइन यो धुर्त पनि हुन्छ । शोधकर्ताहरुका अनुसार मान्छेको भावना वा अवस्था बुझेर मान्छेलाई छक्याउँदै आफ्नो स्वार्थपूर्ति गर्न कुकुर निकै चलाख हुन्छ ।

मानवीय दृष्टिकोणबाट परिस्थितिलाई बुझ्न कुकुर धेरै हदसम्म सक्षम हुने शोधकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार उसलाई निषेध गरिएको वा खान नदिइएको खानेकुरा मान्छेको आँखा छलेर चोर्ने काममा कुकुर निकै बाठो हुन्छ । खासगरी अँध्यारोमा मान्छेले देख्न नसक्ने मौका पारेर यस्ता खानेकुरा हात पार्न कुकुर ढुकिरहेको हुन्छ ।

कुकुरले आफ्नो मालिक रिसाएको छ की खुसी भएको छ ? त्यो कुरा बुझ्छ र सोही अनुरुप आफ्नो व्यवहार परिवर्तन गर्छ । एनिमल कग्निसन नामक पत्रिकामा प्रकाशित समाचार अनुसार आफ्नो मालिकको अगाडि निकै इमान्दार देखिएपनि मालिकले नदेख्ने परिस्थितिमा कुकुरले इमान्दारिता त्याग्छ र आफ्नो औकात देखाइहाल्छ । घरभित्र खानेकुरा समेत भएको कोठामा मालिकसँग बसिरहेको कुकुर उज्यालोमा त्यो खानेकुरा छुन जाँदैन, तर जब बत्ति निभाइन्छ वा अँध्यारो पारिन्छ तब उक्त कुकुरले आफुलाई मालिकले नदेख्ने ठान्छ र लुसुक्क त्योे खानेकुरा भाठौँ पुगेर खाइहाल्छ ।

अँध्यारोमा मान्छेले देख्न सक्दैन भन्ने कुराको हेक्का कुकुरलाई भएको बेलायतको पोर्टस्माउथ विश्वविद्यालयकी शोधकर्ता जुलियन कामिन्स्की बताउँछन् । तर मान्छेको सुखदुखमा कुकुरले आफ्नो अनुहार पनि दुखी वा हँसिलो बनाएर साथ दिन्छ भन्ने यसअघिको मान्यता भने गलत रहेको उनको भनाइ छ ।

उनका अनुसार कुकुरले मान्छेको सुखदुखमा आफ्नो अनुहार पनि उस्तै पारेर साथ दिन्छ भन्ने कुरा केवल मान्छेको सोँचाई वा अनुमान मात्र हो 

नेपालीले बनाए विश्व रेकर्ड


काठमाडौ, फाल्गुन १० - 
चाल्नाखेलका सुवास पन्तले हातका औंला पड्काएर विश्व कीर्तिमान राखेका छन् ।

चाइनाको 'वल्र्ड रेकर्ड एसोसिएसन'ले पठाएको विश्व कीर्तिमानको प्रमाणपत्र उनले तीन दिनअघि पाएका हुन् । उनले बिना कुनै सहायता एउटा हातका औंलाले अर्को हातका औंलालाई नछोई तीस सेकेन्डमा सयपटक औंला पड्काएका थिए ।

भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले बिहीबार सम्मानसहित चीनले पठाएको प्रमाणपत्र पन्तलाई हस्तान्तरण गरेका हुन् । त्यसबाहेक दुई महिनाअघि नै उनलाई नेपालस्थित एभरेस्ट वल्र्ड रेकर्डले प्रमाणपत्र दिइसकेको छ

2013/02/20

लोडसेडिङ ४ घन्टा बढ्न सक्ने


९ फागुन, काठमाण्डौं । 
नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको विद्युतगृह ८ दिन पूर्णरुपमा बन्द गर्ने भएको छ । ‘मेन इनलेट भल्ब’मा समस्या देखिएपछि मर्मतका लागि विद्युत गृह बन्द गरिने भएको हो ।

‘मेन इनलेट भल्ब’ मर्मत गर्न प्राधिकरणले आगामी फागुन १८ गतेदेखि विद्युतगृह बन्द गर्ने तयारी गरेको छ । विद्युतगृह गत बर्षनै मर्मत गर्न केन्द्रका इन्जिनियरहरुले सुझाव दिएका थिए र बढ्दो लोडसेडिङलाई मध्यनजर गर्दै मर्मत नगरिएको आयोजनाकै इन्जिनियरहरुले बताएका छन् ।

उक्त आयोजना बन्द हुँदा लोडसेडिङ भने बढ्ने विद्युत व्यापार विभागका निर्देशकसमेत रहेका प्रवक्ता शेरसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो-’उक्त आयोजना बन्द हुँदा थप चार घण्टासम्म लोडसेडिङ थपिन सक्छ ।’ उचित संरक्षणको अभावमा १ सय ४४ मेगावाटको उक्त आयोजनाले अहिले ५५ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको खबर नेपाल समाचारपत्रले छापेको छ ।

कतारमा घरको काम गर्न नमानेपछि महिला पक्राउ

दोहा (कतार), फाल्गुन ९ - 
यहाँको क्लिनिङ कम्पनीमा कार्यरत एक नेपाली महिलालाई कम्पनीले करारविपरीत घरको काम गर्न नगएको भनी बेपत्ता बनाएको छ । उक्त घटनापछि २३ नेपाली महिला सुरक्षा माग गर्दै मंगलबार नेपाली दूतावास पुगेका छन् ।

कतारमा महिला कामदारलाई सप्लाइमार्फत कम्पनीमा क्लिनिङमा पठाउँदै आएको कम्पनीले धनकुटाकी १८ वर्षीया अञ्जना माझीलाई शनिबारबाट बेपत्ता बनाएको उनका सहकर्मी महिलाहरूले बताए । उसलाई खोजी गरी सकुशल क्याम्पमै फर्काउन र आफूहरूको सुरक्षा प्रदान गर्न उनीहरू दूतावास पुगेका हुन् ।

'अञ्जनालाई घरको काम गर्न दबाब दिइएको थियो । कम्पनीको काम गर्न आएकाले घरमा नजाने बताएपछि शनिबार मुदिर आएर लिएर गए,' सहकर्मी टुककुमारी भट्टराईले भनिन्, 'त्यसपछि अञ्जनालाई कहाँ लगियो हामीलाई केही थाहा छैन ।'

त्यस विषयमा बुझ्न दूतावासले कम्पनी मुदिरलाई बोलएर सोधपुछ गरेको थियो । कम्पनीले 'प्रहरीले नै पक्रेर लिएर' गएको जवाफ दिएको छ । 'सीआईडीले बाहिरबाट पक्रेर लिएर गएको हो,' कम्पनी मुदिरको भनाइ उद्धृत गर्दै श्रम सहचारी इन्द्रदेव पाण्डेले कान्तिपुरसूग भने, 'कामदारको सहमतिबेगर घरमा काम गर्न पठाइएको छैन ।'

महिलाहरूले भने कम्पनीको भनाइप्रति आपत्ति जनाउूदै क्याम्पबाटै मुदिरले लिएर गएको बताए । उनीहरूले आफूहरूलाई जबजस्र्ती घरको काममा पठाउने गरेको भन्दै आपत्ति जनाए । 'हामी कम्पनीको काम भनेर आएको हौं । हामी बैंक, स्कुल र हस्पिटलमा सफाइ गर्ने भनेर रोजगार करारपत्रमा सम्झौता गरेका थियौं,' धनकुटाकी जिना लिम्बूले भनिन्, 'जबर्जस्ती घरको काममा पठाउन मिल्दैन ।'

पीडित महिला कामदारहरूले दूतावासका श्रम सहचारीलाई भेटेर आफूहरूलाई असुरक्षा भएको भन्दै घर पठाइदिन अनुरोध गरेका छन् । 'घरको काम गर्न नगएमा हामीलाई पिट्ने, धम्क्याउने, औषधिउपचार नगरिदिने र समयमै अस्पताल पनि लगिदिने गरेको छैन,' लिम्बूले भनिन् 'हामीलाई सुरक्षित क्याम्प पनि छैन ।'

उक्त कम्पनीमा ९ महिनादेखि ३ वर्षसम्म काम गर्ने महिला कामदार छन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृति र सुर्कम ओभरसिजबाट आएका हुन् । सुर्कमबाट आएका कामदारले आफूहरू ८५ हजार रुपैयाँ तिरेर आए पनि करारपत्र अनुसार सेवा सुविधा नपाएको बताएका छन् ।

कम्पनीको व्यवहारबाट त्रसिद उनीहरूले 'महिला कामदारलाई जथाभावी आरोप' लगाएर बेइज्जत गर्न खोज्ने कम्पनीलाई कारबाही गर्नसमेत माग राखे । 'हामीबाट लगिएको साथीलाई सुरक्षित क्याम्पै ल्याइदिने वातावरण बनाइदिन दूतावाससूग अनुरोध गरेका हौं,' उनीहरूको भनाइ छ ।

2013/02/19

नेकपा–माओवादीको बन्द: बिहानै प्रेसका गाडी तोडफोड


नेकपा–माओवादीले आह्वान गरेको बन्दको असर आज विहानैदेखि परेको छ । राजधानीका सडकमा केही ट्यासी चलेबाहेक यातायातका अरु साधन चल्न सकेको छैन । मुलुकमा विदेशी हस्तक्षेप बढेको, मूख्य दलहरु विदेशीको गोटी बनेको

आरोप लगाउँदै माओवादीले बन्द आह्वान गरेको हो । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न आरोपितहरुमाथि मुद्दा चलाइएकामा आपत्ति जनाउँदै नेपाल बन्दको आह्वान गरिएको हो । हत्या आरोपमा समातिएकालाई छाड्नुपर्ने माग माओवादीको छ । उसले अहिलेको सरकारको राजीनामा, निर्दलीय सरकार गठनको विरोध, दलहरुकै संलग्नतामा राष्ट्रिय सरकार बनाउनुपर्ने जस्ता माग पनि राखेको छ ।

बन्दकर्ताले आज बिहान सवेरै यहाँ प्रेसका दुई वटा गाडी तोडफोड गरेका छन्। नेकपा–माओवादीले आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि बन्द आह्वान गरेको घोषणा गरेको भए तापनि ती गाडीहरु ६ बजेभन्दा अगाडि नै तोडफोड गरिएको छ। जबरजस्ती बन्द गराउँदै हिँडेका बन्दकर्ताले कान्तिपुर टिभीको बा ८ च ८२१ नम्बरको भेन बानेश्वरमा आक्रमण गरेका हुन्। नेपाल पत्रकार महासंघ कान्तिपुर टिभी शाखाले घटनाको भत्सर्ना गरेको छ। 'एफएनजे केटिभी शाखा कान्तिपुर टिभीका पत्रकार बोकेको गाडीमाथि भएको तोडफोडको कडा शब्दमा भत्सर्ना गर्दछ', शाखाले ट्विटमार्फत् तोडफोडको भत्सर्ना गर्दै भनेको छ- 'हामीले यसलाई स्वतन्त्र मिडियामाथिको प्रहारको रुपमा लिएका छौं।'

बन्द आह्वानकर्ताले सञ्चारकर्मीलाई लिएर आएको कान्तिपुर टेलिभिजनको गाडी नयाँ बानेश्वरमा र सगरमाथा टेलिभिजनको गाडी मध्यबानेश्वरमा बिहान साँढे पाँच बजे नै तोडफोड गरेका थिए। महानगरीय प्रहरी प्रवक्ता हेमन्त पालका अनुसार बन्दकर्ताले बिहान साँढे पाँच बजेको हाराहारीमा सोह्रखुट्टे नजिकै पर्यटक बोक्ने एउटा ट्याक्सी, वनस्थली ढुङ्गेधारा र जोरपाटीमा एक एक वटा माइक्रोबस तोडफोड गरेका थिए। यस्तै बन्दकर्ताले पर्यटक चढेको बस लैनचउरमा तोडफोड गरेका छन् ।

नेकपा–माओवादीले बन्दको समयमा प्रेसका गाडी, दूध बोक्ने गाडी एम्बुलेन्समाथि तोडफोड नहुने भनेर हिजो साँझ प्रेस विज्ञप्ति जारी गरे तापनि बन्द आह्वानकर्ताले पार्टीको घोषणाविपरीत गएर प्रेसलगायतका गाडीमाथि तोडफोड गरेका हुन्।

बर्दियामा जन्ती बस दुर्घटना, १ को मृत्यु


८ फागुन, बर्दिया । बर्दियाको गुलरियामा जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ दर्जन बढी घाइते भएका छन् । मृत्यु हुनेमा मोतिपुर-७, का जगतबहादुर चौधरी रहेका छन् ।

करिव १ सय जन्ती बोकेको ना ३ ख ६२३० नम्बरको बस कल्भर्टमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस कल्भर्टमा ठोक्किएर नालीमा खसेको प्रहरी प्रमुख सुरेशविक्रम शाहले जानकारी दिनुभयो । बसमा क्षमता भन्दा यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बसका चालक भने फरार रहेका छन् । घाईतेमध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरिएको छ भने अन्यलाई जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

2013/02/18

सुनामी पीडितलार्इ सुनको र्इटा उपहार

सुनामीले तहसनहस भएको जापानको माछा मार्ने बन्दरगाहका मानिसहरूलार्इ आजभोलि सुनको र्इटा उपहार आउने गरेको छ । स्थानीयलाई सुनका इँटा भएको बेनामी पार्सल हुलाकबाट आउने गरेको छ ।

करिब १० दिनअघि मियागी प्रान्तको इशिनोमिकीमा यो सुनको इँटा प्राप्त भएको थियो । सुनामी सहायता समूह र माछा बजारमा काम गर्ने व्यक्तिहरुलाई दुई किलोग्राम तौलको सुनका इँटाहरु प्राप्त भएका छन् 
जसको बजार मुल्य २ लाख ५० हजार डलर छ ।

एक स्थानीय पत्रिकाले यसलाई ‘सुनको सद्भाव’ भनेको छ । ११ मार्च २०११ मा जापानमा आएको ९ रेस्कट स्केलको भूकम्प र त्यसपछिको सुनामीका कारण करिब १९ हजारले ज्यान गुमाएका थिए भने फुकुशिमामा रहेको परमाणु संयन्त्र पनि ध्वस्त भएको थियो ।

इशिनोमिकी राजधानी टोकियोको उत्तर पूर्वमा करीब ३ सय ५० किमीको दुरीमा छ । यहाँ तीन हजार व्यक्ति मारिएका थिए र चालिस हजार भन्दा धेरै भवनहरु नष्ट भएका थिए ।

बन्दरगाह र माछा बजार सञ्चालन गर्ने कम्पनीका प्रमुखले आफूलाई दुई किलो सुनको इँटको एउटा पार्सल प्राप्त भएको बताएका छन् 
पठाउनेको ठेगाना छैन 

इशिनोमिकी फिश मार्केट लिमेटेडका प्रमुख क्यूनिओ सूनोले समाचार एजेन्सी एएफपीलाई भनेका छन् –पार्सल पठाउनेको केही जानकारी छैन यो पार्सललाई विविध वस्तुका रुपमा उल्लेख गरिएको थियो । त्यसैले मैले बडो सावधानीसँग यसलाई खोलें । यसलाई खोलेपछि म चकित भएँ किनभने यसमा दुईवटा २४ क्यारेटका सुनका इँटाहरु थिए, जसलाई कागजमा बेरिएको थियो ।” सुन बाहेक त्यस पार्सलमा अरु कुनै सन्देश र फिर्ती ठेगाना पनि नभएको सूनो बताउँछन् । उनका अनुसार पार्सल उत्तरपश्चिमी शहर नागानोबाट पठाइएको सम्म थाहा भएको छ । सूनोले यो धनलाई माछा बजारको पुननिर्माणमा खर्च गर्ने बताए ।

यसै गरी इशिनोमिकीको पनरुद्धारका लागि काम गरिरहेको संस्था योशी कनिकोलाई पनि दुईवटा सुनका इँटा प्राप्त भएका छन् । उनीहरु भन्छन–“हामी यो दाताको सम्मान गर्छौ यसलाई बर्बाद हुन दिने छैनौं 

2013/02/17

पशुपतिनाथको चन्दा बाकसबाट पैसा चोरी

काठमाडौँ, फागुन ६ - 
पशुपतिनाथको मन्दिर परिसरभित्र राखिएको चन्दा बाकसबाट पैसा चोरी भएको छ। मन्दिर परिसरको पूर्वोत्तरतर्फको बुढानीलकण्ठ मन्दिर नजिकै चन्दा बाकसबाट पैसा चोरिएको हो।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले गएराति करिब १२ बजे रुद्र गारेश्वर महादेवको ढोकातिरबाट दुई जना चोर आएर सो बाकस फुटाएर पैसा लगेको सिसी टिभीबाट पत्तालागेको बताए ।

सिसिटिभीमा १२ बजेर २८ मिनेट पछिको करिब १५ मिनेटको दृश्य कैद भएको छ। त्यसमा चोरहरुले मुख छोपेर चोरी गरेको र उनीहरु सूर्यघाट हुँदै बेपत्ता भएको दृश्य पनि परेको छ।

उनले सो बाकसमा करिब रु ३० देखि ४० हजारसम्म हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायतको उच्च अनुसन्धान व्यूरोले यस घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिए ।

टेलिकमले गर्येा ऐतिहासिक सम्झौता !!


चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेले नेपाल टेलिकमको महत्वाकांक्षी योजनाको एक करोड जीएसएम मोबाइल लाइन विस्तारको ठेक्का पाएको छ। शुक्रबार नेपाल टेलिकमले चिनियाँ कम्पनी हुवावेसँग ५२ लाख जीएसएम

मोबाइल लाइन विस्तारको प्याकेज ए अर्न्तगतको टेलिफोन उपकरण उपलब्ध गराई जडान, सञ्चालनमा ल्याउने साथै मर्मत सम्भारसमेत गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको जानकारी दिएको छ। टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले दिइन। बिहिबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका सोलुसन म्यानेजर हुवाङ्ग आइहूवा तथा एकाउन्ट म्यानेजर रोशेन्द्र खड्काले सम्झौतामा हस्ताक्षर गरेका थिए।

टेलिकमको जीएसएम मोबाइल विस्तारको योजनामा यो सम्झौता अन्तर्गत आपूर्ति हुने उपकरणहरु मध्यमाञ्चलमा काठमाण्डौ उपत्यका बाहिरका क्षेत्र, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा जडान हुनेछन्। सम्झौता अनुसार हुवावेले अत्याधुनिक प्रविधिका ५२ लाख जीएसएम मोबाइलका उपकरण, जडान, सञ्चालन र मर्मतसम्भार समेत गर्नेछ। एक करोड जीएसएम मोबाइलको विस्तार अर्न्तगतको प्याकेज ए को यो ५२ लाख लाइन विकासका लागि टेलिकमले सातकरोड ५५ लाख २९ हजार पाँचसय ९८ अमेरिकी डलर र तीन अर्ब ४८ करोड ५० लाख ६८ हजार सातसय ४९ नेपाली रुपैंया हुवावेलाई तिर्नेछ।

यस अधि टेलिकमको एक करोड लाइन विस्तारको प्याकेज बी अन्तर्गतको काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा सेवा विस्तार गर्न ४८ लाख लाइन जीएसएम मोबाइल विस्तारका लागि असार ११ मा हुवावेसँग सम्झौता भएको थियो। जसको उपकरणहरु जडानको क्रममा छन्। टेलिकमले नयाँ प्रोजेक्टको रुपमा अगाडि सारेको एक करोड लाइन जीएसएम मोबाइलको सीमकार्ड बेच्नका लागि नीजि कम्पनीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएको छ। टेलिकमको जीएसएम प्रोजेक्ट अर्न्तगतको प्याकेज ए र बीको काम सहज रुपमा सम्पन्न भएको खण्डमा सात वर्षा नेपाल टेलिकमले एक करोड जीएसएम मोबाइलबाट थप सेवा दिनसक्छ।

बस जुध्दा दुई दर्जन बढी घाइते

रामेश्वर कार्की, धादिङ, फागुन ५ - 
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा आज दिउँसो साढे तीन बजे दुई वटा बस एक आपसमा जुध्दा दुई दर्जन बढी यात्रु घाइते भएका छन्। उदयपुरको कटारीबाट काठमाडौं तर्फ आउँदै गरेको ना२ख ७३४२ नम्बरको यात्रुबहक बस र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना४ख ७५२२ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

बेनिघाट-८, बेनिघाट बजार नजिकै भएको सो दुर्घटनाका २० जना घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौं स्टार र शिवज्योति अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पाँच जना घाइतेको अवस्था गम्भिर रहेको बताइएको छ। अधिकांश घाइतेको बाहिरी चोट लागेको छ।

अन्य केही सामान्य घाइते स्थानीय अस्पतालमा उपचार गराइ घर फर्केका छन्। सिमसिम पानी परेका कारण सडक चिप्लो हुँदा चिप्लएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। दुर्घटना पछि केहीबेर अवरुद्ध रहेको सडक सुचारु भएको छ।

2013/02/07

चट्याङबाट ५ को मृत्यु

सुर्खेत, माघ २४ -
बदलीसँगै चट्याङ लागेर भेरी अञ्चलका सुर्खेत, बर्दिया र जाजरकोटमा गरी तीनको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सल्यानमा एउटा घरमा चट्याङ पर्दा क्षति पुग्नुको साथै महिला गम्भीर घाइते छिन् । सुर्खेतको गर्पन ३ मा बुधबार बिहान साढे दुई बजे परेको चट्याङमा ८ वषर्ीया अस्मिता थापाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । चन्द्रबहादुर थापाको घरमा परेको चट्याङले उनकी पत्नी गीता र छोरी रूपमा घाइते भएको जिल्ला प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । उनले चट्याङमा परी बेहोस अवस्थामा रहेका दुवैलाई उपचारार्थ वीरेन्द्रनगर ल्याएको बताए । जाजरकोट संवाददाताका अनुसार गाईभैंसी चराएर घर र्फकंदै गरेका युवाको मंगलबार अपराह्न परेको चटयाङमा परेर मृत्यु भएको छ । जाजरकोटको पश्चिम भेगस्थित दसेरा १ का ३६ वषर्ीय मानबहादुर शाही पानी पर्न थालेपछि जंगलबाट गाईभैंसी फर्काएर घरतिर आउँदै गरेकामा मृत्यु भएको हो । त्यस्तै, गुलरिया संवाददाताका अनुसार, चट्याङ परेर बाँके ओडरापुर २ का ४० वषर्ीय नरबहादुर बुढाको मृत्यु भएको छ । बुढा घाँस काट्न सीमावर्ती बर्दियाको मानझुन्डी जंगलमा आएका बेला मंगलबार चट्याङ लागेको थियो । उनको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ । यसैगरी बाजुरा संवाददाताका अनुसार मंगलबार राति घरमा चट्याङ पर्दा विद्युत् सट भएपछि काँडा गाविस ७ गोठपाडाका २८ वषर्ीया किडी रोकाया र १५ वषर्ीय भीमबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी रमेश रोकायाले जनाए । अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँका लालबहादुर रोकाया, शंकर बुढा, धन रोकाया, भाना रोकाया, बुद्धि रोकाया र बुँदे रोकाया छन् । उनीहरूको काँडा स्वास्थ्य चौकीका उपचार भइरहेको छ ।

१० वर्षसम्म केटीसँग बोल्न नपाउने, बोले ५ वर्ष जेल

बेलायतका एक जना पुरुषलाई १० वर्षसम्म महिलाहरुसँग बोल्न प्रतिबन्ध लागेको छ । एक अदालतले उनलाई नचिनेका महिलासँग सार्वजनिक स्थानमा बोल्न रोक लगाएको हो 
डेभिड डेलाहन्टी नामका ती ५६ वर्षे पुरुषले एक युवतीलाई आफुले बलात्कार गर्न सफल भएको भनि दाबी गरेसँगै उनलाई यस्तो सजाय दिइएको हो । सार्वजनिक बसभित्र आफुले ती २० वर्षे युवतीलाई भेटेको, त्यसपछि उनलाई गालामा चुम्बन गरेको र करणी गरेको झुटो दाबी उनले गरेका थिए । उनको त्यस्तो झुटो दाबीका कारण ती युवतीको इज्जत र प्रतिष्ठामा दाग लागेको र उनलाई गम्भीर मानसिक असर परेको ठहर गर्दै अदालतले यौन तथा मानसिक हिंसाको आरोपमा उनीमाथि यस्तो अनौठो सजाय सुनायो ।


अदालती फैसलापछि अब उनले सार्वजनिक स्थानमा कुनै नचिनेका महिलालाई हेलो भनेर बोलाएमा मात्र पनि उनले ५ वर्ष जेलको हावा खानुपर्ने छ । तर इमर्जेन्सी परेको बेला भने उनलाई हल्का बोल्न छुट दिइनेछ ।

महिलासँग बोलचाल गर्न १० वर्षे प्रतिबन्ध सँगै ती पुरुषले ९ महिनाको जेल र १२० घण्टाको श्रम सजाय पनि पाएका छन् । साथै उनको नाम यौन अपराधीको सूचिमा समेत दर्ज गरिएको छ ।

मुम्बइमा बिनाले सबै सिमा तोडिन !! (भिडिओ सहित)

पाकिस्तानी मुलकी बलिउड नायिका बीना मलिक अंगप्रदर्शन गर्न उदार मानिन्छिन् । चलचित्रको पर्दामा होस् या कुनै सार्वजनिक कार्यक्रममा बिना उत्तेजक पहिरनमा देखिन्छिन् ।हालै मात्र वीनाले अभिनय गरेको चलचित्र ‘मुम्बई १२५ किमी’ को प्रोमो सार्वजनिक गरिएको छ ।


प्रोमोमा वीनाको उत्तेजक दृश्य देखेर धेरैले आश्चर्य मानेका छन् । यो चलचित्रमा वीनाले भुतको भुमिका निर्वाहा गरेकी छिन् ।
तर चलचित्रको पर्दामा उनी हिरोको साथमा बेडमा रमाउन मस्त देखिएकी छिन् । सिनेमा हरर कथाबस्तुमा बनेतापनि बिनाको उत्तेजक दृश्यलाई दर्शकले संझने विश्वास निर्माणपक्षको छ ।

रकम लिएर बलात्कार घटना मिलाए प्रहरी प्रमुखले

लहान, माघ २५ - 
सिरहाको वस्तीपुरमा गत शुक्रबार एक किशोरीमाथि भएको बलात्कार घटना मिलाउन स्थानीय प्रहरी चौकीका प्रमुखले रकम लिएको खुलासा भएको छ ।

शुक्रबार बेलुकी खेत हेर्न गइरहेकी बस्तीपुर–६ की १४ वर्षीया किशोरीलाई एक्लै देखेपछि बगैचामा रहेको झुपडीमा रातभरी बलात्कार गरिएको घटना वस्तीपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेलले जाहेरी लिनुका साटो रकमको लेनदेन गरि स्थानीय अगुवाको रोहवरमा मिलाएको हो ।

स्थानीय वस्तीपुर ६ का जोगेन्द्र यादव, ओम प्रकास महतो, बस्तीपुर ८ कै रामसुन्दर यादव, सिग्नेश्वर पासमान, गोविन्दपुर २ का रामलोचन महतोको रोहवरमा पीडित पक्षलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपियाँ दिनुपर्ने निर्णय गराएर घटना ढाकछोप गर्ने प्रयास गरिएको हो ।

बेलुकी खेत हेर्न गइरहेको किशोरीलाई छिमेकी १८ वर्षीय नागे यादवले जबजस्ती तानेर नजिकै रहेको बगैंचामा पुर्याए पनि बगैंचामा रहेका नागेका दाजु २५ वर्षीय मागेन भन्ने चन्देश्वर यादवले किशोरीलाई देखेपछि भाइलाई घर पठाई त्यही रहेको झुपडीमा रात बलात्कार गरेका थिए ।


घटनाको जानकारी स्थानीय बासिन्दाबाट गोप्य रुपमा वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले मंगलबार पाएपछि मात्र घटना सार्बजनिक भएको थियो । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी निरीक्षक खतिवडाले उक्त चौकीका प्रमुख पोखरेललाई निगरानीमा राखी कारबाही चलाउनुका साथै बलात्कृत किशोरीलाई उपचारको लागि राजबिराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।

बलात्कृत किशोरीले घटनाबारे आफ्ना बुवालाई बताएपछि उनी छोरीलाई बलात्कार गर्ने पीडकलाई कारबाही गर्न भन्दै शनिवार बस्तीपुरस्थित प्रहरी चौकी पक्की टोल पुगेका थिए । तर सो चौकीका पोखरेलले पीडितलाई न्याय दिलाउनुको साटो त्यस दिनभरी आफ्नै चौकीमा समाजका केही अगुवाहरुलाई बोलाई पञ्चेयती गरेर रकमको लेनदेन गर्दै ढाकछोप गरी घटना मिलाउने प्रयास गरेका थिए ।

‘मातहतको कार्यालय भए पनि बलात्कारजस्तो जघन्य घटनाको जानकारी हामीलाई दिइएन’, वडा प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक खतिवडाले भने ‘वस्तीपुरकै सर्वसाधारणबाट बलात्कारको घटनालाई रकमको लेनदेन गर्दै थामथुम पारिएको सूचना प्राप्त भएपछि तत्कालै सो चौकीका प्रमुख पोखरेललाई निगरानीका लागि नियन्त्रणमा लियौं ।’

बेलुकी एक्लै किशोरीलाई खेततर्फ गइरहेको देखेपछि भाइ नागेले नै जबर्दस्ती करणी गर्ने उद्देश्यले बगैंचामा लिएर गएको अनुसन्धानमा खुलेको छ’, प्रहरी निरीक्षक खतिवडाले भने ‘तर बगैंचाभित्र उनको दाई चन्देश्वर यादवले किशोरीसहित भाइलाई देखेपछि भाइलाई घर पठाई त्यहीभित्र रहेको झुपडीमा रातभरी किशोरीलाई बलात्कार गरेको पाइएको छ ।’

जाहेरी लिनु र सोको जानकारी माथि पठाउनुको साटो प्रहरी चौकीका प्रमुख पोखरेलले स्थानीय अगुवाको रोहवरमा छलफल गराई पीडित पक्षलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपियाँ दिनुपर्ने निर्णय गराएका थिए । सोही निर्णय अनुसार पीडकका पिता बेचन यादवले आइतबार एक लाख रुपैयाँया प्रसनि पोखरेलसमक्ष जम्मा गरेका थिए । पोखरेलले भने त्यसमध्ये ९० हजार मात्र पीडित किशोरीका पितालाई बुझाएका थिए । घटना मिलाउन पीडकको तर्फबाट आफुले २५ हजार नगद लिएको वडा प्रहरी कार्यालय लहानको निगरानीमा राखिएका प्रहरी सहायक निरीक्षक पोखरेलले सञ्चारकर्मी समक्ष स्वीकारे ।

वस्तीपुर प्रहरी चौकीका प्रमुख पोखरेललाई मङ्गलबारै नियन्त्रणमा लिइएको सूचना पाउने बित्तिकै किशोरीलाई बलात्कार गर्ने चन्देश्वर यादव र उनका भाइ नागे यादव तथा पिता बेचन यादव फरार छन् ।

तीन पक्राउ

प्रसनि पोखरेलको पहलमा छलफलमा बस्ने पाँच मध्ये वस्तीपुर–६ मा बस्ने जोगेन्द्र यादव तथा बस्तीपुर–८ मा बस्ने रामसुन्दर यादवलाई वडा प्रहरी कार्यालय लहानले मङ्गलबार राति र सिग्नेश्वर पासमानलाई बुधबार अपरान्ह पक्राऊ गरिएको छ । छलफलमा रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका जोगेन्द्र र रामसुन्दर यादवलाई सार्वजनिक मुद्धा चलाइएको प्रहरीले जनायो । बलात्कारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनायो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णहरि शर्माले बलात्कारजस्तो जघन्य अपराधलाई समेत ढाकछोप गरी मिलाउने प्रयास गर्ने स्थानीय प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेललाई कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जनाए 

2013/02/03

अपहरित उद्योगी राठीको हत्या


काँकडभिट्टा, माघ २० - 
विराटनगरका उद्योगी गंगाविसन राठीको अपहरणपछि हत्या भएकोछ। करिब तीन साताअघि व्यापारिक कामको सिलिसिलामा विराटनगरवाट झापाको काँकडभिट्टा हुँदै भारतको सिलिगुढी गएका उनको शव शनिबार बिहान सिलिगुडी प्रहरीले फेला परेकोछ।

सिलिगुडीदेखि करिब १६ किलोमिटर टाढाको सुकुना वनक्षेत्रमा उनको शव फेला परेको सिलिगुडी प्रहरीले पुष्टि गरेको छ । सिलिगुडी प्रहरीले शनिबार साँझ पत्रकार सम्मेलन गरी घटनाको पुष्टि गरेको हो । सिलिगुडी प्रहरीका कमिस्नर आनन्द कुमारले राठीसँगै शिवसेना नेपालका प्रमुख चन्द्रप्रकाश चूडालको समेत शव फेला परेको बताए ।

'दुवै शव क्षतविक्षत र नचिनिने अवस्थामा छन्' कुमारले भने । पत्रकार सम्मेलनमा चूडालको जनवरी ८ मा र राठीको १० तारिखका दिन हत्या गरिएको जनाइएको छ । दुवैको करिव २० दिनअघि हत्या भएको प्रहरीको अनुमान छ ।


पत्रकार सम्मेलनमा कुमारले पक्राउ गरिएका अभियुक्तहरुले राठी र चूडालको हत्या गरी फालिएको शुक्रबार बयान दिएपछि शनिबार बिहानै शव बरामद गरिएको बताएका थिए । उनीहरुले राठीको हत्यापछि परिवारका सदस्यलाई फोन गरी फिरौती रकम मागेको प्रहरीले जनाएको छ ।

प्रहरीले राठीको अपहरणमा संलग्न सुरेन्द्रकुमार मिश्र र अभिजित वासुलाई साताअघि पश्चिम बंगालको बीरवुङ जिल्लास्थित वोलपुर क्षेत्रबाट पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै मिश्रकी पत्नी मोनिकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अपहरणकारीले राठीलाई मुक्त गर्न परिवारसँग ५ करोड भारतीय रुपैयाँ फिरौती माग गरेको सिलिगुडी प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी शेरवहादुर बस्नेतले भारतीय प्रहरीसंगको सम्पर्कमा राठी र चूडालको हत्या भएको जानकारी आएको बताए । राठीको उद्दारका लागि डीएसपीको नेतृत्वमा नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको थियो ।

नरिवलको पानी पिउनुका फाइदै फाइदा


नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ ।
अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घटाउन समेत नरिवलको पानी कामयाबी हुन्छ ।
अझ गर्भवती महिलाका लागि नरिवलको पानी पिउनै झनै फाइदाजनक हुने बताइएको छ । नरिवलको पानीले महिलामा पूराउने अन्य लाभ यसप्रकार छन्:

नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ । त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ ।
नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
नरिवलको पानी पिउनुको अर्को फाइदा के हो भने यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।