अमर खड्का, इटहरी, फागुन २४ -विद्यार्थीलाई यौनशोषण गर्ने तथा अश्लील भिडियो सार्वजनिक गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत् स्थानीय उच्चमाविमा कक्षा ११ मा अध्ययनरत छात्राको अश्लील भिडियो सार्वजनिक गर्ने सगरमाथा बोर्डिङ
स्कुल बेलबारीका शिक्षक गणेश दुलाललाई प्रहरीले पक्राउ गरेको हो। प्रेमको नाटक गर्दै आएका शिक्षकले विभिन्न अर्धनग्न पोजमा खिचेका तस्बिर र भिडियो चार दिनअघि फेसबुकबाट सार्वजनिक गरेपछि ती छात्रा कारबाही माग गर्दै महिला अधिकारवादी संस्था एबीसी नेपाल र प्रहरी कार्यालय बेलबारी पुगेकी हुन्। २३ वर्षीय शिक्षक दुलालले यौनशोषण तथा झुक्याएर तस्बिर तथा भिडियो खिचेको पीडितले बताएकी छन्।
'
छोरीका साथीभाइलाई चार दिनदेखि नै तस्बिर र भिडियो मोबाइलमा सेयर गरेका रहेछन, मैले भने आज बिहानमात्र फेसबुकमार्फत् देखेँ,' ती छात्राकी आमाले मंगलबार साँझ टेलिफोनमा भनिन, 'छोरी अर्धनग्न भएर विभिन्न पोजमा खिचेका तस्बिर हरेर अचम्भित भए र सम्हालिँदै सोधेँ, तर, उनले थाहा छैन भनिन्।' केही महिनाअघि दुलालले बेलबारीदेखि उत्तरतर्फ राके भन्ने स्थानमा डुलाउन लगेको बेलामा बेहोस हुने खानेकुरा खुवाएर त्यसरी तस्बिर र भिडियो खिचेको हुनसक्ने छात्राले बताइन्। तस्बिर र भिडियो कहिले खिचेको भन्ने आफूलाई कुनै हेक्का नभएको उनले जनाइन्। शिक्षक दुलालले लामो समयदेखि यौनसम्बन्ध र गलत कार्य गर्दै आएको समेत पत्ता लागेको छात्राकी आमाले बताइन्। 'छोरी कक्षा ९ र १० मा पढ्दादेखि नै यौनसम्बन्ध र गलत कार्य गर्ने गरेको खुलेको छ,' उनले नागरिकसँग भनिन्।
व्यवस्थापनमा स्नातक पूरा गरेका दुलाल प्राथमिक तहका गणित शिक्षक हुन्। कक्षा ९ देखि सगरमाथा स्कुलमा ती छात्राले अध्ययन गरेर अघिल्लो वर्ष एसएलसी उत्तीर्ण गरेकी थिइन्।
'छात्रालाई विवाह गर्ने प्रलोभन देखाएर ती शिक्षकले यौनशोषण र ब्ल्याकमेल गर्दै आएका रहेछन्। अति भएपछि छात्रा घटना सार्वजनिक गर्न बाध्य भइछन्,' महिलाको अधिकारका लागि क्रियाशील एबीसी नेपालकी विष्णु शर्माले भनिन्। दुलाललाई संस्थाकै अगुवाइमा कारबाहीका लागि मुद्दा दायर गरिने शर्माले जानकारी दिइन्। छात्रालाई एबीसी नेपालले नै संरक्षणमा राखेको छ।
सगरमाथा स्कुलले भने मंगलबार नै सूचना जारी गरी दुलाललाई निष्कासन गरेको जनाएको छ। 'सामाजिक मूल्य-मान्यताविपरीत कार्य गरेकाले तत्काल बैठक बसेर दुलाललाई निष्कासन गरिएको छ,' प्रिन्सिपल इरान राईले भने। इलाका प्रहरी कार्यालय बेलबारीका सइ टोलेन्द्र अधिकारीले शिक्षक दुलाललाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए।
No comments:
Post a Comment