बाबियाचौर (म्याग्दी), चैत २४- म्याग्दीको राखु भगवती गाविसमा घरायसी विवादमा दाजुले धकेल्दा लडेर बहिनीको दुबै हात भाँचिएको छ। भगवती-२ रिसीनचौतारीका नौबहादुर भण्डारीले धकेल्दा कान्लाबाट खसेर उनकी बहिनी ३९ वर्षीया चङ्गाकुमारी भण्डारीको दुबै हात भाँचिएको हो।
२०६९ साल चैत १८ गते बिरामी आमालाई औषधि लिएर बेनीबाट भेट्न गएकी चङ्गाकुमारीलाई उनका दाजु नौबहादुरले कुटपिट गरी ढालेर कान्लाबाट खसालेको पीडितले चैत २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ।
चङ्गाकुमारीका दुबै हातको नाडीमा हड्डी फुस्किएको उनका श्रीमान् थानबहादुर भण्डारीले बताउनुभयो। पीडितका अनुसार आमालाई भेट्न गएको निहुँमा नौबहादुरले धाराबाट पानी लिएर घरतर्फ जाने क्रममा बाटैमा कुटपिट गरी कान्लाबाट खसालेका थिए।
उनीहरुबीच जग्गासम्बन्धी विवाद रहेकाले दुबै जनाले मदिरा सेवन गरेको अवस्थामा झगडा भएको स्थानीयवासीको भनाइ छ। पीडक पक्षले भने कुटपिट नभई धकेला धकेल हुँदा कान्लाबाट खसेर हात भाँचिएको दाबी गरेका छन्। नौबहादुरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
No comments:
Post a Comment