नयाँदिल्ली , वैशाख १२ - भारतमा एक ४७ वर्षीय हजुरबुबाले अस्पतालको शय्याबाटै नवजात शिशु नातिलाई ४५ हजार भारतीय रुपैयाँमा बेचिदिएको खुलासा भएको छ । स्थानीय एक व्यापारीलाई नाति बेच्ने ती
हजुरबुबालाई प्रहरीले पक्राउ गरिसकेको छ । किनबेचमा संलग्न अरू दुईलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
सुत्केरीपछि अस्पतालको शय्यामा रहेकी छोरीको आँखा छलेर उनले नातिलाई बाहिर निकालेका थिए । यसका लागि उनले अस्पतालमा कार्यरत दुई कर्मचारीको सहयोग लिएका थिए । उनीहरूले पैसाको प्रलोभनमा यो काम गरेका थिए । पञ्जाव प्रान्तको लुधियाना निवासी फोरेज खानले श्रीमान्सँग सम्बन्धविच्छेद गरेर बसेकी छोरीले पाएको नातिलाई बेच्न पहिले नै ती व्यापारीबाट बैना रकम लिइसकेको प्रहरीले जनाएको छ ।
लुधियानाका प्रहरी अधिकारी सतिश मल्होत्राले नवजात शिशुको अपहरण र बेचविखनमा संलग्न सबैजनालाई नियन्त्रणमा लिइएको र आवश्यक कानुनी कारबाही अघि बढाइएको जानकारी दिएका छन् । शिशुलाई आमाको जिम्मा लगाइएको छ । उक्त बच्चालाई व्यापारीले राम्रोसँग पालनपोषण गरेकोले स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।
यसै महिनाको सुरुमा लुधियानाकै एक स्थानीय अस्पतालमा ती शिशु जन्मिएका हुन् । जन्मिएको केही दिनमै उनलाई बेचिएको हो । उनीहरूलाई भारतको हालको कानुनबमोजिम कम्तीमा पनि सात वर्ष जेल सजाय हुन सक्ने बताइएको छ । भारतमा यस्ता बालबालिका अपहरणका मुद्दा व्यापक मात्रामा बढिरहेको पाइन्छ । एक तथ्यांकअनुसार सन् २०११ मा मात्र भारतमा कम्तीमा पनि ५ हजारलाई बालबालिकाको अपहरण गरी बेच्ने काममा संलग्न रहेको आरोपमा अदालतमा मुद्दा दायर गरिएको थियो । भारतमा यसरी बेचिएका बालबालिकालाई वेश्यावृत्तिमा लगाउने, सडकमा बसेर माग्ने काममा प्रयोग गर्ने तथा सर्कसजस्ता जोखिमपूर्ण काममा लगाउने गरिन्छ ।
No comments:
Post a Comment