नेपालगन्ज, कार्तिक १० -
कांग्रेस सभापति सुशील कोइराला चितवनकै निर्वाचन क्षेत्रमा व्यस्त छन् । सबै दलका उम्मेदवार घरदैलोमार्फत मत मागिरहेका बेला उनी भने गृहनगरमा एक सातापछि मात्रै आइपुग्ने कार्यक्रम छ ।
कोइराला यसअघि दुई पटक क्षेत्रमा आएर फर्के पनि घरदैलो गर्न भ्याएका छैनन् । उनलाई जिताउन खटिएका संगठन विभाग प्रमुख आनन्द ढुंगाना र कोइरालाकै भाइ अरुणको नेतृत्वमा प्रचार अभियान र घरदैलो कार्यक्रम भइरहेको छ ।
दुई पटक यसै क्षेत्रबाट निर्वाचन जितेका, तर गत चुनावमा पराजित कोइरालालाई संविधानसभामा पुर्याउन कांग्रेसले चितवन ४ बाट समेत उम्मेदवार बनाएको छ । ढुंगानाका अनुसार पार्टीले धेरैअघिदेखि नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारिसकेका कारण कोइरालाको निर्वाचन क्षेत्रप्रति धेरैको चासो छ । तर कोइरालाका लागि चुनौतीका पहाड भने यथावत् छन् ।
एमाओवादी, एमाले र मधेसी दलका उम्मेदवारहरू राष्ट्रिय नेता भएर पनि स्थानीय विकास निर्माणमा कोइरालाले केही गर्न नसकेको आरोप लगाउँछन् । उनीहरू कोइरालाको भावनात्मक सम्बन्ध नेपालगन्जभन्दा पनि विराटनगरमा रहेको बताउँछन् । यस्ता आरोप खण्डन गर्दै ढुंगाना भन्छन्, 'मध्यपश्चिमको विकास हुनुपर्छ भनेर नै तीन पुस्तादेखि बस्दै आएको नेपालगन्जलाई उहाँले छाड्नुभएको छैन । यहाँ -बाँके) को जति विकास भएको छ, त्यो उहाँकै कारणले भएको हो ।'
कोइरालाको त्याग, संघर्षशील व्यक्तित्व, पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि बढाइसकेको, नेपालगन्जले देशको नेतृत्व चाहिरहेको, संविधानसभाभित्र कांग्रेसको सभापति पुग्नुपर्छ भन्ने विचार एमाओवादी र एमालेभित्र समेत देखिएका कारणले पनि कोइरालाको विजय सुनिश्चित रहेको ढुंगानाको दाबी छ । पहिलो संविधानसभामा कोइराला तेस्रो स्थानमा आएका थिए । यस क्षेत्रबाट यसअघि मधेसी जनअधिकार फोरम नेपालका सर्वदेव ओझाले जितेका थिए ।
उनी जयप्रकाशप्रसाद गुप्ताले थालेको राष्ट्रिय मधेस अभियानमा आबद्ध हुँदै स्वतन्त्र उम्मेदवार बनेका छन् । ओझाले १४ हजार ९ सय मत ल्याएका थिए । दोस्रो स्थानमा माओवादीका परमानन्द कुर्मीले ६ हजार ९ सय ७० र कोइरालाको मत ५ हजार ९ सय ६९ मात्र थियो ।
तर पुरानो अंक गणितको आधार भत्किएको उम्मेदवारहरू दाबी गर्छन् । मधेसवादी दलको प्रभाव क्षेत्र रहे पनि उनीहरूको आपसी विभाजन र शत्रुतापूर्ण प्रतिस्पर्धाको फाइदा एमाओवादी, कांग्रेस र एमालेले पाउने देखिन्छ । यद्यपि, मधेसवादी दलहरू गैरमधेसवादी पार्टीले मुस्लिम र मधेसी नेतालाई उम्मेदवार नबनाएका कारण त्यसको असर नपरेको भन्दै आफूहरूले जित्ने तर्क गर्छन् ।
'गैरमधेसवादी दलले मधेसी र मुस्लिम उम्मेदवार नदिँदा त्यसको नोक्सान उनीहरूलाई भएको छ । असन्तुष्टहरूलाई पार्टी रोज्ने अवसर मिलेको छ । एमाओवादी, कांग्रेस र एमाले समर्थित मुस्लिम र मधेसी कार्यकर्ता तथा मतदाता अहिले हामीलाई सघाउन आइरहेका छन्,' तराई मधेस लोकतान्त्रिक पार्टीका बाँके ३ का उम्मेदवार पशुपतिदयाल मिश्र भन्छन्, 'कांग्रेस सभापति कोइरालालाई जिताउन एमाओवादी र एमालेले कमजोर उम्मेदवार उठाएका छन् । पकड हाम्रै छ ।'
एमाओवादी उम्मेदवार दामोदर आचार्य भने मिश्रले भनेजस्तो आफ्नो पार्टीले कमजोर उम्मेदवार नउठाएको बताउँदै आफूले जित्ने दाबी गर्छन् । उद्योग वाणिज्य संघका पूर्वजिल्ला अध्यक्ष र हालका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले मधेसवादी दल विभाजित भएको, मधेस आन्दोलनको भावनासमेत यतिबेला नरहेको, कोइरालाप्रति आम जनता आकषिर्त हुन नसकेको अवस्थामा आफू अनुभवी र नयाँ अनुहारसमेत भएकाले आफ्नो स्थिति सुदृढ रहेको बताए ।
एमाले उम्मेदवार विजया धितालले पनि मधेस केन्दि्रत दलको फुट, एमाओवादीभित्रको विभाजन, एमाओवादीले सरकारमा बसेर नेपालगन्जका लागि केही दिन नसकेको अवस्थामा मतदाताले महिला उम्मेदवारलाई जिताउने दाबी गरिन् । 'म जहाँ जान्छु त्यहाँ उत्साह बढी छ,' उनले भनिन्, 'अन्य दलले महिलालाई उपेक्षा गरेका कारण पनि मेरो माहोल राम्रो छ ।'
निर्वाचन क्षेत्र नं ३ मा मात्रै ३६ उम्मेदवार छन् । तीमध्ये मधेसवादी दलका १५ छन् । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं बाँके ३ का उम्मेदवार धवलशमशेर राणाको प्रभावसमेत यस क्षेत्रमा छ । ठूला दलहरू असफल भएकाले आमजनताले आफ्नो पार्टीको एजेन्डालाई अनुमोदन गर्ने उनको भनाइ छ । 'जनताले नचाहेको धर्म निरपेक्षता लादिएको छ । जाति र भाषाका आधारमा संघीयता ल्याउन खोजिएको छ । त्यो रोक्न मलाई जिताउँछन् भन्ने विश्वास छ,' उनले दाबी गरे ।
बाँके ३ मुस्लिम समुदायको बाहुल्य रहेको क्षेत्र हो । तर, प्रमुख दलहरूले मुस्लिम समुदायबाट प्रत्यक्ष उम्मेदवार नबनाउँदा केही असन्तुष्टि सबैजसो दलका मुस्लिम कार्यकर्तामा देखिएको छ । तर, उनीहरूलाई खुसी बनाउन प्रमुख दलले समानुपातिकमा मुस्लिमलाई ल्याएर सम्भावित क्षति जोगाउन खोजेका छन् । एमाओवादी, कांग्रेस, एमाले र मधेस केन्दि्रत दलको केन्द्र नै मुस्लिम समुदायमा बनेको छ ।