Image Hosted by ImageShack.us

2013/02/19

नेकपा–माओवादीको बन्द: बिहानै प्रेसका गाडी तोडफोड


नेकपा–माओवादीले आह्वान गरेको बन्दको असर आज विहानैदेखि परेको छ । राजधानीका सडकमा केही ट्यासी चलेबाहेक यातायातका अरु साधन चल्न सकेको छैन । मुलुकमा विदेशी हस्तक्षेप बढेको, मूख्य दलहरु विदेशीको गोटी बनेको

आरोप लगाउँदै माओवादीले बन्द आह्वान गरेको हो । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न आरोपितहरुमाथि मुद्दा चलाइएकामा आपत्ति जनाउँदै नेपाल बन्दको आह्वान गरिएको हो । हत्या आरोपमा समातिएकालाई छाड्नुपर्ने माग माओवादीको छ । उसले अहिलेको सरकारको राजीनामा, निर्दलीय सरकार गठनको विरोध, दलहरुकै संलग्नतामा राष्ट्रिय सरकार बनाउनुपर्ने जस्ता माग पनि राखेको छ ।

बन्दकर्ताले आज बिहान सवेरै यहाँ प्रेसका दुई वटा गाडी तोडफोड गरेका छन्। नेकपा–माओवादीले आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि बन्द आह्वान गरेको घोषणा गरेको भए तापनि ती गाडीहरु ६ बजेभन्दा अगाडि नै तोडफोड गरिएको छ। जबरजस्ती बन्द गराउँदै हिँडेका बन्दकर्ताले कान्तिपुर टिभीको बा ८ च ८२१ नम्बरको भेन बानेश्वरमा आक्रमण गरेका हुन्। नेपाल पत्रकार महासंघ कान्तिपुर टिभी शाखाले घटनाको भत्सर्ना गरेको छ। 'एफएनजे केटिभी शाखा कान्तिपुर टिभीका पत्रकार बोकेको गाडीमाथि भएको तोडफोडको कडा शब्दमा भत्सर्ना गर्दछ', शाखाले ट्विटमार्फत् तोडफोडको भत्सर्ना गर्दै भनेको छ- 'हामीले यसलाई स्वतन्त्र मिडियामाथिको प्रहारको रुपमा लिएका छौं।'

बन्द आह्वानकर्ताले सञ्चारकर्मीलाई लिएर आएको कान्तिपुर टेलिभिजनको गाडी नयाँ बानेश्वरमा र सगरमाथा टेलिभिजनको गाडी मध्यबानेश्वरमा बिहान साँढे पाँच बजे नै तोडफोड गरेका थिए। महानगरीय प्रहरी प्रवक्ता हेमन्त पालका अनुसार बन्दकर्ताले बिहान साँढे पाँच बजेको हाराहारीमा सोह्रखुट्टे नजिकै पर्यटक बोक्ने एउटा ट्याक्सी, वनस्थली ढुङ्गेधारा र जोरपाटीमा एक एक वटा माइक्रोबस तोडफोड गरेका थिए। यस्तै बन्दकर्ताले पर्यटक चढेको बस लैनचउरमा तोडफोड गरेका छन् ।

नेकपा–माओवादीले बन्दको समयमा प्रेसका गाडी, दूध बोक्ने गाडी एम्बुलेन्समाथि तोडफोड नहुने भनेर हिजो साँझ प्रेस विज्ञप्ति जारी गरे तापनि बन्द आह्वानकर्ताले पार्टीको घोषणाविपरीत गएर प्रेसलगायतका गाडीमाथि तोडफोड गरेका हुन्।

No comments:

Post a Comment