Image Hosted by ImageShack.us

2013/06/10

किष्टका कार्यकारी प्रमुख ज्ञवालीद्वारा राजीनामा, घर्ती कामु

२५ जेठ, काठमाडौं । किष्ट बैंकमा स्थापना कालदेखि कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएका कमलप्रसाद ज्ञवालीले पदबाट राजीनामा गर्नु भएको छ । सञ्चालक समितिले उहाँको राजीनामा स्वीकृत गरी शनिबार बीएन घर्तीलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

प्रबन्ध सञ्चालक ज्ञवालीले प्रमुख कार्यकारी अधिकृत र सञ्चालक दुवै पदबाट राजीनामा गर्नु भएको हो । बैंकका प्रमुख प्रवर्द्धक रहनु भएका ज्ञवालीले व्यवस्थापन र सञ्चालक दुवै समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
सिद्धार्थ डेभलपमेन्ट बैंकबाट जालसाझी गरी ऋण लिएर चुक्ता नगरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्ञवालीकी धर्मपत्नी गौरी खनाललाई पक्राउ गरेपछि उहाँले राजीनामा गर्नु भएको हो । गौरीलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।

प्रहरीले गौरीमाथि अनुसन्धान सुरु गरेको पृष्ठभूमिमा नैतिक रुपमा बैंकको जिम्मेवार पदको भूमिकामा रहिरहनु उपयुक्त नलागेको हुनाले राजीनामा गरेको उहाँले बताउनु भएको छ । ‘अनुसन्धान कार्यमा सहयोग पुगाेस र सो विषयले किष्ट बैंकलाई कुनै पनि असर नपरोस् भनेर राजीनामा गरेको हुँ’, उहाँले भन्नुभयो ।

व्यापार प्रशासनमा स्नातकोत्तर घर्ती किष्ट बैंकको नायव महाप्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । यसअघि एनआईसी बैंकमा वरिष्ठ प्रबन्धकको जिम्मेवारीमा रहनु भएको घर्तीको १६ वर्ष लामो बैंकिङ्ग अनुभव रहेको छ ।

किष्ट बैंक विभोर विकास बैंकसँग मर्ज हुने प्रक्रियामा रहेको छ । सन् २००३ मा फाइनान्स कम्पनीको रुपमा स्थापना भएको किष्ट २००९ मा वाणिज्य बैंकमा स्तरोन्नति भएको हो । विभोर जग्गामा अत्यधिक सेयर लगानी र ऋण प्रवाह गरेर २०११ मा तरलता समस्यामा परेको बैंक हो । उसले लिएको धितो र गरेको लगानी असल भएको आधारमा नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गरी विभोरलाई बचाएको थियो ।

किष्ट बैंकसँग देशव्यापी सञ्जाल रहेको र विभोरसँग न्यून मात्र निक्षेप संकलन रहेको हुनाले दुई कम्पनी मर्जपछि निक्षेप र कर्जालाई विस्तार गर्ने उच्च सम्भावना रहेको छ । दुई अर्ब चुक्ता पुँजी रहेको किष्टका ५१ वटा शाखा रहेका छन् । विभोरसँग चुक्ता पुँजी ९२ करोड रुपैयाँ रहेको छ भने निक्षेप २ अर्ब ६५ करोड रुपैयाँ मात्र छ । जसअनुसार, सन्तुलित कर्जा प्रवाह गरेकामा थप ५/६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सकिन्छ ।

विभोर बैंकले यसअघि ज्योति समूहको प्रवर्द्धनमा रहेको भाजुरत्न फाइनान्ससँग मर्ज गरेको थियो । ज्योति समूहको किष्ट बैंकमा लगानी गर्ने इच्छाअनुसार विभोर र किष्ट मर्ज हुन लागेका हुन् । ज्योति समूहले किष्टको साधारण सेयर समेत ठूलो परिमाणमा खरिद गरिसकेको बुझिएको छ । हालसम्म ज्ञवालीको सेयर डोमिनेट रहेको यस बैंकमा मर्जपछि ज्योतिको डोमिनेट रहने सम्भावना रहेको छ ।

No comments:

Post a Comment