काठमाडौ, भाद्र ६ - उपभोग क्षमता भएका अधिकांश ग्राहकसम्म सेवा पुगेपछि दूरसञ्चार क्षेत्रको वृद्धिदर घटेको छ । आर्थिक वर्ष ०६९/७० मा दूरसञ्चार सेवा प्रदायक कम्पनीको ग्राहक संख्या २३ दशमलव ३८ प्रतिशतले बढेको छ । एक वर्षअघि ३१ दशमलव ३ प्रतिशतले बढेको थियो ।
गएको आर्थिक वर्षमा दूरसञ्चार सेवा उपभोक्ताको संख्या २ करोड १३ लाख पुगेको छ । यसमा सबैभन्दा धेरै जीएसएम मोबाइल सेवा प्रयोगकर्ता छन् । कुल सेवा प्रयोगकर्ता मध्ये करिब १ करोड ९० लाख जीएसएम सेवा लिने उपभोक्ता हुन् । यो वृद्धिपछि टेलिफोन सेवाको पहुँच मुलुकको ८० प्रतिशतभन्दा बढी जनसंख्यासम्म पुगेको देखिन्छ ।
सञ्चालनमा रहेका ६ दूरसञ्चार कम्पनीले गएको वर्ष जम्मा ४० लाख ग्राहक थपेका छन् । अघिल्लो वर्ष ४१ लाख ग्राहक थपिएका थिए । ग्राहक थपिने क्रम घट्दै जानुमा विभिन्न कारणले असर गरेको दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ ।
'सहरी क्षेत्रमा सेवाको ठूलो वृद्धि देखिएको छ,' दूरसञ्चार प्राधिकरणका निर्देशन आनन्दराज खनालले भने, 'तर त्यस्तो सेवा वृद्धि ग्रामीण क्षेत्रमा आशा गरेअनुरूप देखिएको छैन ।' केही वर्षमै ग्रामीण क्षेत्रमा बजारको ठूलो विकास हुने उनले बताए । यसका साथै भ्वाइस र डाटा सेवालाई जोडेर अघि नबढे बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने उनी बताउँछन् ।
गएको आर्थिक वर्षको अन्त्यमा एनसेलको ग्राहक संख्या १ करोड ५ लाख पुगेको छ । यही अवधिमा नेपाल टेलिकमका ग्राहक ९१ लाख बढी छन् । एक वर्षको समयमा एनसेलले २१ लाख र टेलिकमले १४ लाख ग्राहक थपेको छ । तेस्रो धेरै ग्राहक हुने कम्पनीको स्थानमा स्मार्ट टेलिकम पुगेको छ । गत वर्ष ३ लाख बढी ग्राहक थप्दै कुल संख्या ७ लाख ५३ हजार पुर्याएको छ ।
युनाइटेड टेलिकमको ग्राहक संख्यामा ८१ हजार थपिएर ७ लाख १९ हजार पुगेको छ । अर्को सेवा प्रदायक नेपाल सेटलाइटको ग्राहक १ लाख ४९ हजार छ । त्यस्तै सीजी कम्युनिकेसन्स (पूर्व एसटीएम टेलिकम सञ्चार) सँग ५३ सय ग्राहक छन् । १ करोड लाइन सेवा विस्तारको योजना सुरु गरेको नेपाल टेलिकमका कारण चालू आर्थिक वर्षमा सेवा प्रयोगकर्ताको संख्या बढ्ने देखिन्छ । योसँगै सबैभन्दा ठुलो सेवा प्रदायक एनसेलले पनि आफ्नो टुजी र थ्रीजी सेवाको विस्तार योजना बनाइरहेको छ ।
पछिल्लो समय मोबाइलबाट चलाउने इन्टरनेटको माग बढ्दै गएपछि कम्पनीले पनि सेवा/ सुविधामा प्रतिस्पर्धा गर्न थालेका छन् । टेलिकमले जीएसएम, आईपीसडीएम प्रविधिलाई सुधार गरेर सेवा विस्तार गरिरहेको छ । योसँगै एकीकृत लाइसेन्ससम्बन्धी मुद्दा अदालतबाट टुङ्गो लागे चालू वर्षभित्र दूरसञ्चार सेवामा असर पर्नेछ ।

No comments:
Post a Comment