पाल्पा, भाद्र १२ - पहाडबाट खसेको ढुंगाले लु१च ४६०८ नम्बरको कार उछिट्याउँदा त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत मदनपोखरा ४ डुम्रे र गौडे पुल नजिकै मंगलबार बेलुकी माथिबाट खसेको ढुंगा लागेर कारलाई उछिट्याउँदा गुल्मी हुँगा ९ का ५५ वषर्ीय हरिप्रसाद न्यौपाने र गुल्मी थानपति गाविसका चालक २५ वषर्ीय इसप नेपालीको मृत्यु भएको हो । मृतक न्यौपाने नेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष साथै निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्षहुन् ।
उनीहरू बिहान गुल्मीबाट बुटवल गएका हुन् । बुटवलबाट पाल्पातर्फ फर्किने क्रममा दुघर्टनामा परेको जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए ।
क्षतविक्षत भएको अवस्थामा एउटा शव निकाले पनि अर्को निकाल्न निकै अप्ठ्यारो भएको प्रहरीले जनायो । ढुंगाले उछिट्याएको कारमा समेत पूर्णरूपमा क्षति पुगेको छ । उनका अनुसार राजमार्गभन्दा तल र डुम्रे खोलादेखि माथि भीरमा कार अड्केकोले शव निकाल्न कठिनाइ भएको छ । राति अबेरमात्र शव निकालिएको छ ।
भीरबाट डोरी लगाएर प्रहरी र सेनाको चण्डीप्रसाद गणका सैनिकले कार निकाल्ने प्रयास गरेका छन् । सदरमुकाम तानसेनदेखि झन्डै १७ किलोमिटर बुटवलतर्फ भएको दुर्घटनामा कार सडकदेखि करिब ३० मिटर तल खसेको प्रहरीले जनायो । कारमा दुई जनामात्रै सवार भएको प्रहरीले जनायो । पाल्पा-बुटवल सडक खण्डमा पहिरो झरेर र ढुंगा खसेर बर्सेनि दर्जनभन्दा बढी यात्रुको मृत्यु हुने गरेको छ ।
यसैबीच, गुल्मी संवाददाताका अनुसार कार दुर्घटनामा कांग्रेस जिल्ला नेता न्यौपानेको निधनले नेपाल विद्यार्थी संघको बुधबार हुन लागेको ११ औं जिल्ला अधिवेशन स्थगित भएको छ । निजी कामका लागि बुटवल पुगेका न्यौपाने बुधबार जिल्लामा हुन लागेको नेविसंघको ११ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनका लागि निजी कार रिजर्भ गरेर तम्घास आउने क्रममा दुर्घटनामा परेका हुन् ।
नेपाली कांग्रेस उपसभापति भुवनप्रसाद श्रेष्ठले नेविसंघको जिल्ला अधिवेशन र नेपाली कांग्रेसका सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको बताए । नेता न्यौपानेको निधनपछि अधिवेशनमा जुटेको नेविसंघ र संविधानसभाको दोस्रो निर्वाचनमा जुटेको नेपाली कांग्रेससमेत स्तब्ध भएको छ । न्यौपानेको शवलाई बुधबार कांग्रेस पार्टी कार्यालयमा ल्याई श्रद्धाञ्जली सभा गरी रिडीमा अन्त्येष्टि गरिने पार्टीले जनायो ।
No comments:
Post a Comment