Image Hosted by ImageShack.us

2013/11/11

फिलिपिन्समा समुद्री आँधी नेपालीको अवस्था अज्ञात

फिलिपिन्समा समुद्री आँधी नेपालीको अवस्था अज्ञातकाठमाडौं - फिलिपिन्सको समुद्री आँधी 'हेयान' प्रभावित क्षेत्रमा करिब १० हजारको मृत्यु भएको खबर आइरहँदा त्यहाँ रहेका नेपालीहरूको अवस्था भने खुल्न सकेको छैन।

शुक्रबार आएको ठूलो समुद्री आँधीबाट क्षतिबिक्षत फिलिपिन्सको पूर्वी क्षेत्रमा विद्यार्थी, उद्योगी र व्यवसायी गरी सयभन्दा बढी नेपाली बस्छन्। सडक र सञ्चारसम्पर्क टुटेकाले उनीहरूसँग सम्पर्क हुन नसकेको गैरआवासीय नेपाली संघ (एनआरएन) फिलिपिन्सले जनाएको छ।

'पूर्वी क्षेत्रमा पर्ने सिबु र टाक्लोबान सहर नराम्रोसँग प्रभावित भएका छन्,' एनआरएन फिलिपिन्सका अध्यक्ष सुदर्शन खड्काले मनिलाबाट टेलिफोनमा भने, 'अहिलेसम्म आँधी प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्था खुल्न सकेको छैन। सञ्चारसम्पर्क टुटेकाले नेपालीको अवस्था बुझ्न कठिनाइ भएको छ।'

खड्काका अनुसार उद्योगी, व्यापारी र चिकित्साशास्त्रलगायत विषय पढ्ने विद्यार्थी गरी करिब ९ सय हाराहारी नेपाली फिलिपिन्समा छन्। आँधीप्रभावित सिबु सहरको साउथ वेस्टर्न युनिभर्सिटीमा मात्रै ७० देखि सय हाराहारीमा नेपाली विद्यार्थी पढ्छन्। यस्तै टाक्लोबान सहरमा १० देखि १२ नेपाली परिवार छन्।

राजधानी मनिलापछि सिबु फिलिपिन्सको दोस्रो ठूलो सहर मानिन्छ। २५ लाख मानिस बसोबास गर्ने यो सहरको साउथ वेस्टर्न युनिभर्सिटी चिकित्साशास्त्र अध्यापन गराउने एसियाकै राम्रो विश्वविद्यालयमा पर्छ।
'धेरै नेपाली मनिलामा बस्छन्, जहाँ आँधीको कुनै प्रभाव छैन। आँधी प्रभावित क्षेत्रमा बस्ने नेपालीको संख्या निकै सानो छ,' खड्काले भने, 'अहिलेसम्म आँधीबाट कोही नेपाली घाइते वा मृत्यु भएको खबर हामीले पाएका छैनौं।'

प्रतिघन्टा ३ सय ८० किलोमिटरको गतिमा आएको समुद्री आँधी हेयानले ३ देखि १० मिटरसम्मको समुद्री छालले टाक्लोबान सहरलाई हानेको थियो। आँधीले टाक्लोबानमा रहेका अधिकांश घर, विद्यालय, विमानस्थल, सडक र पुल ध्वस्त भएको छ। प्रभावित क्षेत्रका ७० देखि ८० प्रतिशत घर तथा संरचना क्षतिग्रस्त छ।

फिलिपिन्ससमेत हेर्ने जिम्मेवारी पाएको मलेसियास्थित नेपाली दूतावासले आँधीबाट नेपाली प्रभावित भएको खबर नपाएको जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता दिपक धितालका अनुसार दूतावासले मनिलास्थित नेपाली वाणिज्यदूतसँग सम्पर्क गरी नेपालीको अवस्था बुझिरहेको छ। 'सञ्चारविच्छेद भएकाले प्रत्यक्ष सम्पर्क गर्न कठिन छ। अहिलेसम्म नेपालीलाई केही भएको जानकारी आएको छैन। हामी बुझ्दैछौं,' उनले भने।

काठमाडौंस्थित फिलिपिन्सका महावाणिज्यदूत सुरज वैद्यले पनि आँधीमा परी कोही नेपाली हताहत भएको खबर अहिलेसम्म आफूले नपाएको जनाए। उनले पनि नेपालीको अवस्था बुझ्ने प्रक्रियामा रहेको जनाए।

No comments:

Post a Comment