Image Hosted by ImageShack.us

2013/03/13

मर्नुअघि नेपाली बन्न पाऊँ !

पोखरा, फाल्गुन २९ -
भिरालो जमिन, सानो टिनले छाएको घर । बाहिर मुसाको दुलो लेखिएको छ, त्यसैभित्र बिरामी परेर सुतेका छन् कलिन फिलिप स्मित । सेतै दारी पालेका ७७ वर्षे यी वृद्धलाई चिन्नेजान्नेले 'पुतली बाजे' भन्छन् । सबैले ठान्छन्, उनी नेपाली नै हुन् । तर, उनी नेपाली होइनन्, बेलायती नागरिक हुन् । ४२ वर्ष नेपालमै बिताएका उनी आफूलाई नेपाली ठानिनुमा गर्व गर्छन् । जवानी र वृद्ध दुवै उमेर यतै बिताएका उनको अन्तिम इच्छा नेपाली भएर मर्नु हो । नेपाली नागरिकताका लागि धेरै प्रयास गरे पनि नपाउँदा उनी खिन्न छन् । 'मर्नुअघि नेपाली बन्न पाए हुन्थ्यो,' उनले भने । नेपालको हावापानी र नेपाल मन पराउने उनले नागरिकताका लागि धेरै पहल गरे । नेपालमा कम्तीमा १५ वर्ष बसोबास गर्नेलाई अंगीकृत नागरिकता दिन सकिने कानुनी प्रावधान छ । तर पुतली बाजेले अहिलेसम्म पाउन सकेका छैनन् । शिक्षण पेसासँगै पुतली संकलनमा लागेका उनले पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् । नेपालमा पाइने ६६० जातिका पुतलीमध्ये ५५० जाति संकलन गरेका छन् । स-साना जीवको पर्यावरणमा ठूलो महत्त्व हुने भएकाले उनले पुतली अध्ययन र संकलन अभियान थालेका हुन् । पुतलीसम्बन्धी १० वटा किताब लेखिसकेका छन् । कतिपय विदेशी आएर नेपालको पुतली संकलन गरी विदेश लगेको उनको आरोप छ । 'पुतली विदेश निर्यात भइरहेको छ तर त्यसमा कसैको ध्यान छैन,' उनले भने । हरेक वर्ष २ विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएका उनलाई आफू नेपाली बन्न नसकेकामा दुःख छ ।

उनी सुरुमा गणित र विज्ञान पढाउन पोखरा आएका थिए । अहिले जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल 'लिबर्ड' मा स्वयंसेवा गर्छन् । गोरखामा छँदा अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत पढाएका उनले भने, 'ऊ चलाख थियो तर अहिले भेट भएको छैन ।'

No comments:

Post a Comment