Image Hosted by ImageShack.us

2013/03/24

नेपाल एयरलाइन्सको नयाँदिल्ली उडान विधिवत् बन्द

महेश आचार्य, नयाँदिल्ली, चैत्र ११ - करिब चार दशकको इतिहास अन्त्य गर्दै नेपाल एयरलाइन्सले नयाँदिल्ली उडान बन्द गरेको छ । अत्यन्त आकर्षक र व्यस्त मानिने यो रुटमा विदेशी निजी एयरलाइन्सहरूले प्रशस्त फाइदा लिइरहेका बेला नेपाली राष्ट्रिय ध्वजावाहक भने आफैं बाहिरिनुपर्ने अवस्थामा पुगेको छ । पछिल्लो डेढ वर्ष एउटै पनि उडान गर्न नसकेको नेपाल एयरलाइन्सले चरम घाटा भएको भन्दै नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालय बन्द गरेको हो । सन् १९७५ यता यहाँ सञ्चालनमा रहेको यो कार्यालय बन्द गर्नेसम्बन्धी सूचना यही चैत १ गते काठमाडौंस्थित एयरलाइन्स मुख्यालयले पठाएको थियो । यसैअनुरूप कार्यालयले आगामी असार १६ भित्र भवन खाली गरिसक्ने सूचना घर मालिकलाई दिइसकेको छ ।

चरम घाटा ३७ वर्षयता कार्यालय रहेको जनपथस्थित भवनको लिजसम्बन्धी विषयलाई लिएर उत्पन्न विवादमा अदालतमा पराजित भएपछि नेपाल एयरलाइन्स गोलमार्केटस्थित अहिलेको कार्यालयमा गत वर्ष सरेको थियो । १९७५ मा हस्ताक्षर भएको लिज सम्झौताअनुसारै जम्मा १ हजार १ सय भारतीय रुपैयाँ मासिक भाडा तिरिरहेको एयरलाइन्सले गोलमार्केट सरेपछि डेढ लाख तिरिरहेको छ । उडान नभएपछि भाडाको त्यो रकम त्यसै खेर गइरहेको थियो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रशासनिक कार्यालयको ३२ हजार भारु भाडा त थप छूदैछ । यी भाडासहित कर्मचारीहरूको तलब, दिल्ली इन्टरनेसनल एयरपोर्ट प्राइभेट लिमिटेड डायललाई बुझाउनुपर्ने रकम आदि गरी नयाँदिल्ली क्षेत्रीय कार्यालयको खर्च वाषिर्क २ करोड नेपाली रुपैयाँ हुने गरेको एयरलाइन्सका नायब महाप्रबन्धक राजु केसीले बताए ।

'यत्रो खर्च भइरहेको छ, उपलब्धि भने केही छैन । यसरी भइरहेको राष्ट्रिय सम्पत्तिको नोक्सानी रोक्नकै लागि भनेर दिल्ली कार्यालय बन्द गर्न लागिएको हो,' काठमाडौंबाट टेलिफोनमा केसीले भने ।

यद्यपि विदेशी निजी एयरलाइन्सहरूले फाइदा गरिरहेको यो रुटमा नेपाली राष्ट्रिय ध्वजावाहकचाहिू किन धराशायी भयो भन्ने प्रश्नमा उनले जहाज थोरै र पुरानो भएको तर्क दिए । यद्यपि हालको दुईवटा जहाज रहेकै अवस्थामा पनि विगतमा एयरलाइन्सले काठमाडौं- नयाँदिल्ली- काठमाडौं उडान भरेको इतिहास छैन ।

'अब नयाँ जहाज ल्याउने कुरा पनि भइरहेको छ । जबसम्म विश्वसनीय उडान हुने अवस्था आउँदैन, तबसम्म दिल्लीका लागि भर्दैनौं,' केसीले भने ।

अढाई दर्जन कर्मचारी मर्कामा

कार्यालय बन्द गर्ने निर्णयको पहिलो मार यहाँ कार्यरत ३१ स्थायी कर्मचारीमाथि परेको छ । उनीहरूलाई अवकाशसम्बन्धी सूचना टिरेन्चमेन्ट नोटिस थमाउूदै एयरलाइन्सले आफूले पाउने सुविधा तथा रकमसम्बन्धी अन्तिम छिनोफानोका लागि वैशाख १७ भित्र नयाँदिल्ली कार्यालयमा सम्पर्क गर्न भनेको छ । बिदा गर्न लागिएका कर्मचारीमध्ये ५ जना भारतीय नागरिक छन् भने बाँकी नेपाली हुन् । एयरलाइन्सले आफूहरूलाई अन्यायपूर्वक हटाउन लागेको भन्दै कर्मचारीहरूले भारतीय श्रम आयोगमा मुद्दासमेत हालेका छन् । आफूहरूसूग कुनै खालको पूर्वसल्लाह नगरीकनै टिरेन्चमेन्ट नोटिस अकस्मात थमाइएको गुनासो कर्मचारीहरूको छ ।

'यतिका वर्ष हामीले एयरलाइन्समा रगतपसिना बगायौं तर अहिले आएर हामीलाई अन्यायपूर्वक निकाल्न खोजिूदै छ,' उनीहरूले एकैस्वरमा भने, 'अब हाम्रो परिवारको बिचल्ली हुने भयो ।'

स्वैच्छिक अवकाशको कार्यक्रम नल्याइएकोप्रति पनि कर्मचारीहरूले रोष प्रकट गरे । उनीहरूले नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालय बन्द भएपछि बिदा गर्नुका सट्टा इच्छुकहरूलाई नेपालस्थित कार्यालयहरूमा सरुवा गर्न पनि माग गरेका छन् ।

'कि त हामीलाई नेपालतिर सरुवा गर्नुपर्‍यो कि त राम्रो प्याकेजसहित बिदा गर्नुपर्‍यो,' कर्मचारीहरूले भने ।

एयरलाइन्स व्यवस्थापनले भने नियमअनुसार उनीहरूले पाउने रकम दिएर कर्मचारीहरूलाई बिदा गरिने बताएको छ ।

'कर्मचारीहरूलाई सन्तुष्ट पारेरमात्रै हामी बिदा गर्छौं । सेवा निवृत्त भएपछिको भन्दा पनि अहिले बिदा लिँदा उहाँहरूलाई फाइदा हुन्छ,' एयरलाइन्सका नायब महानिर्देशक केसीले भने । व्यवस्थापनको उक्त दाबी भने कर्मचारीहरू मान्न तयार छैनन् ।

'निवृत्त हुन अझै थुप्रै वर्ष छ । यस्तो अवस्थामा अहिले अवकाश लिँदा हामीलाई कसरी फाइदा हुन्छ,' कर्मचारीहरूले भने । आफूहरूको सेवाअवधि करिब १० देखि १५ वर्षसम्म अझै बाँकी रहेको कर्मचारीहरूले बताए ।

एयरलाइन्सले कर्मचारीहरूलाई थमाएको टिरेन्चमेन्ट नोटिसमा भारतमा रहेका कामदारसम्बन्धी नियम अर्थात् इन्डिया बेस्ड एम्प्लोइज सर्भिस रुलको धारा २३.३.१ अनुसार बिदा गर्न लागिएको उल्लेख गरिएको छ । यद्यपि त्यसको प्रावधानबारे न त कर्मचारीलाई नै थाहा न त एयरलाइन्सले मुख खोल्न चाहेको छ । तथापि केसीले ३१ कर्मचारीलाई एकैपटक अहिले बिदा गर्दा नियमअनुसार दिनुपर्ने रकम तीन करोड रुपैयाँको हाराहारीमा पुग्ने अनुमान सुनाए ।

तलब वृद्धिको माग गर्दा अवकाशपत्र !

कर्मचारीहरूले आफूहरूले तलब वृद्धिको माग गर्दा एयरलाइन्स व्यवस्थापनले अवकाशको सूचना थमाएको टिप्पणी गरे । यसको पुष्टि निमित्त महाप्रबन्धक केसीले पनि घुमाउरो पारा गरेका छन् । हरेक तीन वर्षमा तलबको पुनरावलोकन हुनुपर्ने नियमअनुरूप कर्मचारीहरूले यसपटक २ सय प्रतिशत बढाउनुपर्ने माग केही महिनाअघि राखेका थिए । यद्यपि व्यवस्थापनले एयरलाइन्स चरम घाटामा रहेको अवस्थामा त्यति ठूलो परिमाणमा तलब वृद्धि गर्न नसक्ने अडान राखेको थियो । दस प्रतिशतसम्म तलब बढाउन सकिने प्रस्तावमा कर्मचारीहरू सहमत नभएपछि व्यवस्थापनको एउटा टोली खाली हात काठमाडौं फर्किएको थियो ।

'१० प्रतिशत तलब वृद्धिको प्रस्ताव उहाँहरूले स्वीकार गरेको भए सायद यो (अवकाश दिने) अवस्था आउने थिएन होला,' केसीले भने ।

No comments:

Post a Comment