Image Hosted by ImageShack.us

2013/04/22

युवतीको अनुहारमा तेजाव खन्याएर युवक भारत भागे

रामशरण पुडासैनी, मकवानपुर, वैशाख ९- युवतीको अनुहारमा तेजाव खन्याएर एक युवक भारत पसेका छन्। हेटौंडा-४ स्कुलरोडमा अस्थायी बसोबास गर्ने राज केशरी नामको युवकले हेटौंडा-२ पीपलबोटस्थित पसलमा बसिरहेको अवस्थामा एक युवतीको अनुहार र आँखामा तेजाब खन्याका हुन्। २० वर्षीया
बिन्दवासिनी कंशाकारको अनुहारमा केशरीले तेजाब खन्याएर भारत पसेको प्रहरीले बताएको छ।

पसलमै बसेका कंशाकारकी दाजु शंकर कंशाकारले एक्कासि बहिनी चिच्याएको आवाज सुनेर हेर्न जाँदा केशरी भागिसकेको बताए। उनले पहिलादेखि नै चिनजान रहेको केशरी आफ्नो पसलमा आइरहने गरेको बताए। भारत घर भई आफन्त कहाँ हेटौंडा बस्दै गरेको केशरीलाई पक्राउका लागि प्रहरीमा जाहेरी दिएको पनि जानकारी दिए।

अनुहारमा र आँखामा तेजाब परेपछि उनका उपचारका लाग तत्काले हेटौंडास्थित सामुदायिक आँखा अस्पताल लगिएको थियो। आँखा अस्पतालमा पुर्‍याएकी कंशाकारको आँखा र अनुहारमा तजाबको असर कम गर्ने औषधि प्रयोग गर्न लगाइएको थियो। 'आँखाको डिल सुन्निएको छ, नानीमा कालो देखिएको छ। अहिले प्रारम्भिक उपचार गरिएको छ।' अस्पतालकी नेत्ररोग विशेषज्ञ डा रचना सिंहले भनिन्, 'तेजाबको असर विस्तारै देखा पर्न सक्छ। एकैपटक नदेखिन सक्छ।' उनले तत्काल सामान्य उपचार भएको बताइन्। आँखा अस्पतालमा उपचारपछि अनुहारको उपचारका लागि कंशाकारलाई सोमबार नै काठमाडौं लगिएको छ।

कंशाकारलाई तेजाब खन्याएर भागेका युवकबारे उजरी दिइएपनि प्रहरीले पक्रन सकेको छैन। प्रहरीलाई फोटासमेत उपलब्ध गराए पनि पक्राउ नभएको दाजु शंकरले बताए। मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गुप्तवहादुर श्रेष्ठले भने केशरी भारत पसेको अनुमान गरे। 'बीरगञ्जसम्म मोवाइल सिग्नलका आधारमा पछयाएका हौं, त्यसपछि फेला परेन।' उनले खोजी कार्य भइरहेको भन्दै युवक भारत पसेको हुनसक्ने आशंका गरे।

No comments:

Post a Comment