सुर्खेत , चैत्र २० - एउटा हातले लेख्न सक्ने क्षमता सबैमा हुन्छ । तर दुवै हात र खुट्टाले लेख्न सक्ने क्षमताका व्यक्ति सायदै भेटिन्छन् । पूर्वी सुर्खेतका एक युवासँग भने यो क्षमता छ । पूर्वी सुर्खेतको धारापानी ५, नादेका २१ वर्षीय नरेन्द्रकुमार विकले दुवै हात र खुट्टाले अलगअलग लेख्न सक्ने क्षमता सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । उनले सुरुमा बायाँ खुट्टा, त्यसपछि दायाँ खुट्टाले पालैपालो लेखेपछि दुवै हातले छुट्टाछुट्टै कापीमा लेखेर देखाएका थिए । उनले खुट्टाले प्रतिमिनेट पाँच शब्द र हातले लेख्दा प्रतिमिनेट २२ शब्द लेखेका थिए । हात र खुट्टाले अंग्रेजी र नेपाली शब्द लेख्न सकिने उनको भनाइ छ ।
करिब दुई महिनाको प्रयासपछि आफूले दुवै खुट्टाले लेख्न सक्ने भएको नरेन्द्रले बताए । उनले यो क्षमतालाई अझ बढाउन अभ्यास जारी राखेको बताए । दुवै हात र खुट्टाले छिटो गतिमा लेख्न सक्ने भएपछि गिनिज बुकमा नाम लेखाउने नरेन्द्रको धोको छ ।
सुर्खेत शिक्षा क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत विकले दुवै हात र खुट्टाले छिटो गतिमा लेख्न सक्नका लागि दैनिक दुई घन्टा अभ्यास गरिरहेको जानकारी दिए ।
No comments:
Post a Comment