Image Hosted by ImageShack.us

2013/05/24

मलेसियामा अझै ६ महिना तलव नबढ्ने, चर्को शुल्क असुल्दै म्यानपावर, तबल बढेको छैन, बढ्ता पैसा नतिर्नोस् : कार्यबाहक राजदूत !

१० जेठ, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको न्यूनतम तलव ९ सय रिंगेट पुगेको भनिए पनि अझै
६ महिनासम्म नेपाली कामदारले न्यूनतम तलव नपाउने भएका छन् । तलब बढेको भ्रममा परेर म्यानपावरलाई बढ्ता पैसा नतिर्न नेपाली राजदूतावासका अधिकारीले आग्रह गरेका छन् । मलेसिया सरकारले शुरुमा विदेशी कामदारका लागि पनि न्यूनमत ९ रिंगेट तलब लागू गर्ने घोषणा गरेको थियो । मासिक ५ सय४६ रिंगेट न्यूनतम तलब पाइरहेका नेपाली त्यो खबर सुनेपछि हौसिएका थिए ।
सुरुमा केही कम्पनीले न्यूनतम तलब कार्यन्वयन गरे पनि अधिकांश रोजगारदाताको अवरोधपछि अहिले मलेसियामा कार्यरत नेपाली कामदारहरुले पुरानै सम्झौताअनुसार तलब पाइरहेका छन । मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले व्यवहारिकरुपमा नेपाली मजदुहरुले बढेको तलव पाउन नसकेको बताउनुभयो । ‘स्पष्ट भाषामा भन्दा अहिले मलेसियामा नेपाली कामदारहरुको न्यूनतम तलब बढेको छैन ।’ भट्टराईले भन्नुभयो-’मलेसिया सरकारले सन् २०१४ बाट त्यो निर्णय कार्यान्वयन गर्छौं भनेको छ, सरकारको अर्को निर्णय नआएसम्म भन्न सकिन्न ।’
म्यानपावरको ठगी
नेपालमा म्यानपावर कम्पनीहरुले भने मासिक ९ सय रिंगेट तलव पुगेको भन्दै महंगो शुल्क उठाउने गरेको राजदूत भट्टराईले बताउनुभयो । ‘सुरुसुरुमा यहाँ रहेका नेपाली कामदारहरुमा कन्फ्युजन थियो, कतिपय कम्पनीमा कामदार आन्दोलनमा पनि उत्रिए । तर, पछि सरकारले सन् २०१३ भरि तलव बढाउन नसक्ने भनेपछि अहिले त्यति धेरै समस्या छैन’- भट्टराईले भन्नुभयो- ‘मुख्य समस्याचाहिँ अहिले पनि नेपालमा म्यानपावरहरुले मासिक ९ सय रिंगेट तलव पाइन्छ भन्दै कामदारबाट बढी पैसा असुलिरहेको पाइएको छ ।’
सेक्युरिटी गार्डमा काम लगाइदिने भन्दै दुईदेखि साढे दुई लाख रुपैयाँसम्म तिरेका पीडित दूतावाससम्म आइपुगेको भन्दै उहाँले भन्नुभयो-’मलेसियामा न्यूनतम तलव बढेको छैन, नेपाली कामदारहरुले पुरानै तलब पाएका छन, त्यसैले बढी तिरेर आउनु हुँदैन, यो कुरा कामदारले प्रष्ट बुझ्न जरुरी छ । त्यो बुझिएन भने गरिव नेपाली कामदार आफ्नो घरखेत गुमाउनुपर्नेे खतरा छ ।’ अहिले पनि दूतावासमा स्वीकृतिका लागि आउने डकुमेन्टमा मासिक ९ सय रिंगेट तलव उल्लेख हुने गरेको तर ब्यबहार लागू नभएको भन्दै राजदूत भट्टराईले दोहोरो सम्झौता मलेसियाका श्रमिकका लागि मुख्य समस्या भएको बताउनुभयो

No comments:

Post a Comment