बुटवल, जेष्ठ १ -
बुद्धको मावली क्षेत्र रुपन्देहीको भवानीपुरमा बुद्धकालीन अवशेष भेटिएका छन् । देवदह क्षेत्रअन्तर्गत भवानीपुरमा पुरातत्त्व विभागले गरेको उत्खनन क्रममा बुद्धमावली क्षेत्र प्रमाणित गर्न सघाउ पुग्ने अवशेष फेला परेका हुन् । जसमा बुद्धकालीन पर्खाल, इँटा, चाँदीका बाला, बाँसका बाला, माटाका भाँडा, पालालगायत छन् । यसैगरी बुद्ध ग्रन्थमा उल्लिखित सिन्जा राजाले राखेको जनविश्वास रहेको घोडचढी मूर्ति, स्तम्भ, ढुंगा, चाँदीका बाला पनि उत्खननमा भेटिएका छन् । मायादेवीको माइती मन्दिर बनाइएको स्थान आसपास गरिएको उत्खननमा मन्दिर निर्माणपूर्व रीपु मल्लका पालादेखिका अवशेष ढाकिएर रहेको फेला परेको छ । जसलाई बुद्धिस्टले अत्यन्त महत्त्वपूर्ण र श्रद्धाका भावले हेर्ने गर्छन् । उनका अवशेष भेटिएपछि उत्खनन टोलीले अन्य बुद्धकालीन अवशेष पनि आसपासमै रहने विश्वाससाथ उत्खननका लागि नापजाँच गरेको छ । पुरातत्त्व विभागको टोलीले करिब तीन साता अघिदेखि यहाँ उत्खनन गरिरहेको छ । विभागका अधिकृत तथा उत्खनन टोली प्रमुख प्रकाश दर्नालले भवानीपुरलगायत देवदह क्षेत्रको उत्खननले बुद्ध मावली क्षेत्र प्रमाणित गर्ने थुप्रै आधार पत्ता लागेको बताए । 'पछिल्लो समयमा उत्खनन भइरहेको भवानीपुरलगायत देवदह क्षेत्रमा भेटिएका माटाका भाँडा, बुद्धको अर्धकदको मूर्ति, इनार, इँटा, दरबारका भग्नावशेष, स्तम्भलगायतले यो क्षेत्र बुद्धक्षेत्र हो भन्ने प्रमाणित गर्न धेरै सहयोग पुग्छ ।' उनले भने, 'यस आसपासकै बुद्ध क्षेत्रमध्ये बुद्ध मावली क्षेत्रचाहिं कुन हो भन्ने छुट्याउन भने थप उत्खनन र अध्ययन गर्नुपर्छ ।'
उनले सिन्जा राजा र रीपु मल्लका पालाका अवशेष फेला परेकाले थप उत्खनन गर्दै जाँदा थप बुद्धकालीन अवशेष फेला पर्ने आशा जनाए । 'भवानीपुरकै करिब ३ बिगाहा क्षेत्रमध्ये करिब २ कट्ठामा मात्र उत्खनन गरेको र अन्य क्षेत्रमा हेर्नै बाँकी छ', उनले भने । देवदहवासीको पटकपटकको अनुरोधपछि २ वर्षअघिदेखि पुरातत्त्व विभागले यहाँ उत्खनन थालेको छ । १४ वटा बुद्धक्षेत्र रहेको देवदहमा अहिलेसम्म कन्यामाई, भवानीपुर र पण्डितपुर गरी तीन स्थानको केही भाग मात्र उत्खनन भएको छ । उत्खनन गरिएका क्षेत्रमध्ये पण्डितपुरमा थुप्रै बुद्ध अवशेष फेला परेका छन् । कन्यामाईमा पनि बुद्धकालीन लिपि, इनार, तारा मूर्तिलगायतका सामग्री भेटिएका छन् ।
'हामीले दसौं, एघारौं र बाह्रौ शताब्दीका अवशेष फेला पारेका छौं', अधिकृत दर्नालले भने । यिनको वैज्ञानिक पुष्टि, अध्ययन र अनुसन्धानपछि त्यसको पूर्ण जानाकारी हुने उनले बताए । टोलीले भेटाएका सामग्री अध्ययन तथा अनुसन्धानका लागि पुरातत्त्व विभागमै लगेको छ । अध्ययनपछि ती वस्तुलाई लुम्बिनी विकास कोषमार्फत फर्काइनेछ । देवदहमा भेटिएका वस्तु लुम्बिनीको अन्तर्राष्ट्रिय संग्रहालयमा देखाउने या देवदहमै राख्ने भन्नेबारे स्थानीयसँग छलफल गर्ने लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । उत्खनन गरिएको स्थानलाई पनि सुरक्षाका लागि भन्दै उत्खनन टोलीले पुरेर छोडेको छ ।
No comments:
Post a Comment