Image Hosted by ImageShack.us

2013/01/24

२६ वर्षीया सुत्केरीले किन गरिन आत्महत्या

परासी, माघ ११ - 
यहाँकी एक सुत्केरीले आत्महत्या गरेपछि एक शिशुसहित ३ बालिका बिचल्लीमा परेका छन् । रामग्राम १२ की २६ वर्षीय किसुन नामले शरीरमा मटितेल खन्याएर आगो लगाएपछि बालिकाको बिचल्ली भएको हो । बिहीबार राति खाना खाएर सबैजना सुतिसकेपछि बुहारीले मटितेल खन्याएर आगो लगाएको उनकी सासू फूलकुमारीले बताइन् । जलेर घाइते बुहारीको पाल्पास्थित मिसन अस्पतालमा उपचार क्रममा सोमबार राति मृत्यु भएको परिवारले जनायो । मृत्यु भएको खबरले टोलमा रुवाबासी चलेको छ । सासूका अनुसार साढे २ वर्षकी नातिनी खुस्बु र एक वर्षे नातिनी सम्झना र नामकरणसमेत नगरिएकी नवजात शिशुको स्याहार कसले गर्ने भन्ने परिवारमा चिन्ता छ ।

'ज्याला मजदुरी गरेर गुजारा चलाउँछौं, कसरी नानी स्याहार्नु,' सासूले रुँदै भनिन्, 'बुढेसकालमा कस्तो आपत पर्‍यो ।' उनले छोराले स्थानीय इँटा भट्टामा मजदुरी गरेर ल्याएको पैसाले खाद्यान्न किन्ने गरेको बताइन् । भनिन्, 'सम्पत्तिको नाममा भएको एक कट्ठा जग्गा पनि बन्धकी राखेर बुहारीको उपचारमा खर्च गरें, बाँचिनन् । उनले बुहारीको उपचारका लागि २० हजारमा जग्गा बन्धकी राखेको सुनाइन् । 

बाँकी गाउँका साहुबाट ऋण खोजेर उपचारमा ७० हजार खर्च भएको उनले बताइन् । परिवारलाई एकातिर ऋण तिर्ने चिन्ता छ, अर्कोतिर नवजात शिशुको स्याहार कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । बिचल्लीमा परेका बालिकालाई सहयोग आवश्यक रहेको स्थानीय उपेन्द्र चौधरीले बताए । 'छोरी जन्मिनु परिवारका लागि बोझ मान्ने गर्छन्,' उनले भने, 'गरिबी र विपन्नताका कारण महिलाले आत्महत्या गर्नुपरेको छ ।' 

पीडित परिवारका लागि सहयोग जुटाउने प्रयास भइरहेको नाई संघ जिल्ला अध्यक्ष वीरेन्द्र ठाकुरले जनाए । उनले मधेसमा दाइजो प्रथा, गरिबी आदिले छोरी पाउने महिलालाई मानसिक तनाव हुने हुँदा अत्तालिएर आत्महत्या गरेको हुन सक्ने बताए । घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरीले जनाएको छ । घाइते महिलालाई जिल्ला अस्पताल ल्याउने क्रममा प्रहरीले उनीसँग सोधपुछ गर्दा मनमा एक्कासि तनाव सिर्जना भएकाले जिउमा आगो लगाएको बताएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment