Image Hosted by ImageShack.us

2013/01/14

दैनिक सय बंगलादेशीलाई नक्कली पासपोर्ट

काठमाडौं १ माघ । 

दैनिक सय बंगलादेशीलाई नक्कली पासपोर्ट

नेपालबाट वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया प्रस्थान गर्ने दैनिक आठ सय युवायुवतीमध्ये सरदर ५० जना बंगलादेशी नागरिक रहने गरेको पुष्टि वैदेशिक रोजगार विभागले गरेको छ। दैनिक एक सय बंगलादेशीलाई नक्कली पासपोर्ट उपलब्ध गराउने गरेको समाचार स्रोतले बताएको छ। 

विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगार व्यवसायी संघको २१औ वार्षिक साधारणसभाका अवसरमा गत शुक्रबार आयोजित सार्वजनिक समारोहमा नेपालीको पासपोर्टमा बंगलादेशी नागरिकलाई पठाउने गिरोह सक्रिय रहेको बताए। उनले भने– ‘गत साता मात्रै हामीले ११ जना बंगलादेशी नागरिकलाई नेपाली पासपोर्टमा साउदी अरब पुर्‍याएको थाहा पायौं। 

तर नेपालीका नाममा बंगलादेशी नागरिकलाई पठाउन कुन कुन म्यानपावर कम्पनी सक्रिय छन् ? भन्ने कुरा चाहिँ उनले स्पष्ट पार्न चाहेनन् । समाचार स्रोतका अनुसार पार्वती श्रेष्ठ नाम गरेकी महिलाको नाममा दर्ता गरिएको कुपण्डोलस्थित मुनलाइट म्यानपावर र सरस्वती गुरुङ नाम गरेकी महिलाको नाममा दर्ता गरिएको एसएलडी म्यानपावर कम्पनीमाथि नेपाली नाममा बंगलादेशी नागरिकलाई विदेश पठाएको विषयमा वैदेशिक रोजगार विभागले छानबिन सुरु गरेको छ। 

छानबिन सुरु हुने संकेत पाउनासाथ गत साता यी दुवै म्यानपावर कम्पनीले आफ्नो कार्यालयबाट केही पासपोर्ट चोरी भएको भन्दै विभागमा उजुरी दर्ता गरेको थियो। तर चोरीको आरोप भने मुनलाइटले एसएलडीमाथि र एसएलडीले मुनलाइटमाथि लगाएर उजुरी दर्ता गरेको श्रम विभागका एक कर्मचारीले बताए। 

‘करिब सात सय म्यानपावर कम्पनीमध्ये २० वटा जति यो धन्दामा लागेका छन्, प्रहरी र अध्यागमनका कर्मचारीहरू समेतलाई यो गिरोहले आफ्नो मुीमा लिएकाले विभागले मात्रै यो धन्दा रोक्न सक्ने अवस्था छैन,’ तरुणसँगको कुराकानीका क्रममा उनले भने । 

साउदी अरब र मलेसियाले विगत १० वर्षदेखि बंगलादेशका कामदारलाई आफ्नो मुलुकमा रोजगारीका लागि निशेध गरेकाले नेपाली बनेर मलेसिया वा साउदी अरब जान बंगलादेशीहरूले पाँच लाख रुपैयाँसम्म खर्च गर्ने गरेको एक व्यवसायीले तरुणलाई बताए। 

उनले भने– ‘आम्दानी राम्रै हुने भए पनि बढी झन्झटिलो हुने भएकाले हामीले चाहिँ पठाएका छैनौं। पासपोर्टमा फोटो परिवर्तन गर्नुपर्ने, बंगलादेशीलाई भ्रमण भिसामा नेपाल ल्याएर १०/१५ दिनसम्म होटलमा राख्नुपर्ने, नेपालका विभिन्न जिल्ला र अञ्चलको नाम कन्ठस्थ गराउनुपर्ने झन्झट त छँदैछ, त्यसमाथि पनि एयरपोर्टमा पुगेपछि प्रहरी र अध्यागमनका कर्मचारीलाई मागे जति पैसा नदिए बिताइदिहाल्छन्,’ उनले भने। 

समाचार स्रोचका अनुसार नेपालीका नाममा बंगलादेशी नागरिक पठाउन परराष्ट्र मन्त्रालयको पासपोर्ट वितरण गर्ने फाँटका कर्मचारीहरूलाईसमेत मिलाउनुपर्ने हुन्छ। पासपोर्ट हराएको सूचना अखबारमा प्रकाशित गरेपछि मात्रै अर्काे पासपोर्ट लिन पाउने कानुनी प्रावधान छ। 

तर पासपोर्ट हराएको सूचना अखबारमा धेरै प्रकाशित हँुदा यो धन्दा छताछुल्ल हुने भएकाले केही म्यानपावर व्यवसायीहरूको सिग्नलअनुसार परराष्ट्र मन्त्रालयका कर्मचारीहरूले पासपोर्ट हराएको सूचना प्रकाशित नगरीकनै अर्काे पासपोर्ट बनाइदिने गरेका हुन्। 

नेपालीको नाममा साउदी अरब जाने बंगलादेशी नागरिकहरूमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ। दुवै मुस्लिम देश भएकाले साउदी गएर बिहे गरी घरजम गर्ने सपना बोक्दै बंगलादेशी महिलाहरू नेपाली दलाललाई ठूलै रकम तिर्न राजी हुने गरेका छन्।

No comments:

Post a Comment