Image Hosted by ImageShack.us

2013/01/26

श्रीमतीलाई बन्चरो प्रहार


महेन्द्रनगर, माघ १३ - 
कञ्चनपुरको दैजी ७ हात्तीथलाका चन्दबहादुर धामीले बिहीबार ३७ वर्षीया श्रीमती पार्वतीलाई उल्टो बन्चरो प्रहार गरी घाइते बनाएकाछन् ।
मुखमा उल्टो बन्चरो प्रहार गरेपछि गम्भीर घाइते पार्वतीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
लामो समयदेखि आफ्नै भाइबुहारीसँग अवैध सम्बन्ध राख्दैआएका चन्द्रबहादुरले यसअघि पनि विभिन्न पटक पार्वतीलाई कुटपिट गर्दै आएको छिमेकी बताउँछन् । 'बिहीबार पनि बुहारीसँगको अवैध सम्बन्धकै कारण विवाद भएपछि चन्द्रबहादुरले पार्वतीलाई उल्टो बन्चरो प्रहार गरेका हुन्,' पीडित महिलाका दाजु नाता पर्ने कमल खड्काले भने, 'घाइते श्रीमतीलाई उपचारका लागि पीडक आफंैले डेन्टल अस्पतालमा लिएर आएको अवस्थामा प्रहरीलाई खबर गरी चन्द्रबहादुरलाई पक्राउ गरिएको हो ।' घटनामा संलग्न चन्द्रबहादुरकी बुहारी बिश्ना धामीलाई पनि शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट बन्चरोसमेत बरामद गरेको छ ।

पार्वतीको अधिकांश दाँत झरेको तथा गिजा जिब्रोमा चोट लागी ओठमुख सुन्निएर बोल्न नसक्ने अवस्था रहेको छ । 'यसअघि चारपटक गाउँमै पुगेर सम्झाइबुझाई दुवै पक्षलाई मेलमिलाप गराएका हौं,' अस्पताल पुगेकी महिला अधिकार रक्षक सञ्जालकी अध्यक्ष भारती सिंहले भनिन्, 'बुहारीसँगकै अवैध सम्बन्धका कारण पार्वतीको यो हविगत भएको हो ।' उनले पार्वतीको महिला हिंसासम्बन्धी घटनामा आफूहरू पीडकलाई हदैसम्मको सजाय माग गर्ने बताइन् । पार्वतीका दुई छोरा र १ छोरी छन् । घटनाको जानकारी पाएपछि पीडित महिलाका माइतीहरू पनि अस्पताल पुगेका छन् । तिहारतिर बहिनी पावर् ती माइत आएका बखत चन्द्रबहादुरले बुहारीसँग अनैतिक सम्बन्ध राखेर आफूलाई कुटपिट गर्ने गरेको बताएकी थिइन्,' कैलालीको मालाखेती ९ वसन्तपुरबाट आएका पार्वतीका दाजु गोपालसिंह खड्काले बताए । 'बुहारीसँगै बस्छ, मलाई कुटपिट गर्छ भनेकी थिइन्,' उनले भने । 

चन्द्रबहादुरका भाइ डेढ वर्षअघि भारततिर रोजगारीका लागि गएपछि उनीहरूबीच अवैध सम्बन्ध कायम भएको छिमेकी बताउँछन् । 'गाउँभरि सबैलाई थाहा छ,' छिमेकी चन्द्रबहादुर बोहराले भने, 'भाइ भारतबाट घर आयो भने दाजु चन्द्रले दुई दिन पनि बस्न दिँदैन, उतै पठाउँछ ।'
जिल्ला प्रहरी कार्यालयमा पीडित महिलाका नातेदार कमल खड्काको ठाडो निवेदनका आधारमा प्रहरीले चन्द्रबहादुर र उनकी बुहारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताए । 'पीडितका तर्फबाट कुन मुद्दामा कारबाही माग गर्ने हो जाहेरी प्राप्त भएपछि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

No comments:

Post a Comment