Image Hosted by ImageShack.us

2013/01/18

नुवाकोट मा २० हल गोरुको भिडन्त हुँदै


(नुवाकोट), माघ १– 

नुवाकोट मा २० हल गोरुको भिडन्त हुँदै
घ्यू, चाकु, तीलको लड्डु, सखरखण्ड लगायतका परिकार खाई मनाइने माघेसक्रान्ति पर्व नुवाकोट बासीले गोरु जुधाएर मनाउँदै छन् । नुवाकोट को तारुका–५ चन्दनी र तारुका–२ ठूलोपोखरीमा किसानले पालेको २० हल (४० ओटा) गोरु जुधाउने क्रम सुरु भैसकेको छ । 

यसअघि तारुका–५ चन्दनीमा मात्र जुधाईँदै आएको गोरु यसवर्ष स्थानीय राजनीतिक दलहरुबीच नेतृत्वको विषयमा कुरा नमिल्दा असन्तुष्ट समुहले तारुका–२ ठूलोपोखरीमा पनि गोरु जुधाएका हुन् । माओवादी–कांग्रेस समुहको गोरु जुधाई कार्यक्रम चन्दनी र एमालेको ठूलोपोखरीमा जारी छ । 

गोरुजात्रा हेर्न नुवाकोट र आसपासका क्षेत्रहरु धादिङ, रसुवा, गोर्खा, काठमाडौं, चितवन लगायतका स्थानबाट दर्शकहरु तारुका आइसकेका छन् । निःशुल्क हेर्न पाइने मेलामा दुईतिर गरी दश हजार भन्दाबढि दर्शकको उपस्थिति रहेको आयोजकको अनुमान छ । 

दुईतिर मेलाको आयोजना गरिएपछि स्थानीय भने आक्रोसित भएका छन् । मेलामा गोरु जुधाईको अतिरिक्त कलाकारहरुको साँस्कृतिक प्रस्तुति, धादिङ खाल्टेको चर्चित बाहुनबाजाका साथै स्थानीय भजन मण्डलीको समेत आकर्षण रहने माघेसक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानाले बताए । 

दर्ता भएको २० हल गोरुमध्ये १३ हल चन्दनी र ७ हल ठूलोपोखरीमा जुधाइने आयोजकले जनाएको छ । विजेता गोरुधनीले नगद पुरस्कारसहित प्रशंसापत्र र उपविजेता गोरुधनीले पनि प्रशंसापत्र पाउने छन् । यस्तै गोरुको औषधोउपचार तथा बीमाको पनि व्यस्था गरिएको आयोजनले जनाएको छ । 

तारुकामा गोरु जुधाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट प्रमाण नभएपनि बझंगी राजा जय पृथ्वीबहादुर मावली आउँदा भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाउने गरेको र त्यसैबेलादेखि यो प्रचलनलाई निरन्तरता दिइएको स्थानीय बूढापाकाहरुको भनाई रहेको छ । 

तारुका सिंहको मावली भएको बताइन्छ । पछिल्लो समय तारुकामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समेत गोरु जुधाउने गरिएको छ । यसैबीच, नुवाकोट कै गेर्खु–९ बेत्रावतीमा पनि गोरु जुधाइने बताईको छ । बेत्रावतीमा ५ हल गोरु जुधाउन लागिएको बताइएको छ ।

No comments:

Post a Comment