पाल्पा, माघ १२-
पाल्पा रामपुरकी २८ वर्षीया सोनु श्रेष्ठको हत्यामा उनकै पति ओम श्रेष्ठ संलग्न रहेको खुलेको छ। पतिले घरमै सोनुको हत्या गरेर शव बोरामा पोको पारेर कालीगण्डकीमा फालिदिएको प्रहरी बयानमा स्वीकारेका छन्।
प्रहरीले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओमले हत्या स्वीकारेको भिडियो फुटेज सार्वजनिक गरिएको थियो। 'मैले रातको समयमा घाँटी थिचेर मारेँ, बोरामा पोको पारेर बाईकमा राखेर परेवाघाटबाट काली नदीमा फालिदिएँ।' उनले शव पानीमा नतैरियोस् भनेर शव पोको पारेको बोरामै करिव २५ किलोका दुईवटा ढुंगा समेत पोको पारेर गण्डकीमा फालेको बताए। प्रहरीले हत्यामा प्रयोग भएका बोरा, टर्च लाईट, डोरी, मोटरसाईकल समेत बरामद गरेर सार्वजनिक गरेको छ। ओमले आफूले भनेको नमान्दा रिस उठेर पत्नीको हत्या गरेको बताएका छन्।
घटनाको अनुसन्धानमा खटिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराका एसपी मनोज न्यौपानेले घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता बारे अनुसन्धान जारी रहेको बताए। 'अनुसन्धान सकिएको छैन,' उनले भने 'उनी एक्लैले यो सबै गरे या अरुको समेत संलग्नता थियो भन्ने अनुसन्धान जारी छ।'
पाल्पाका प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले ओमकी जेठी पत्नी कृष्णादेवी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए। पुस ४ गतेदेखि बेपत्ता सोनुको शव गत शनिबार बिहान ११ बजे कालीगण्डकी किनारमा भेटिएको थियो। हत्या प्रकरणलाई लिएर रामपुरमा प्रदर्शन भएपछि २७ घण्टे कर्फ्यु लगाउनु परेको थियो भने २३ जना प्रहरी र प्रदर्शनकारी घाईते भएका थिए। स्थानीयले प्रहरी कार्यालय नियन्त्रणमा लिएर तोडफोड र आगजनी गरेका थिए।
No comments:
Post a Comment