बिहान उठ्नेबित्तिकै सबै देवीदेवताको दर्शन एकसाथ एकै ठाउँमा गर्न पाए कस्तो हुन्थ्यो भनेर कसैले तपाईंलाई प्रश्न गर्यो भने सायद भन्नुहुनेछ, असम्भव । तर काठमाडौं महानगरपालिका १२ वडा टेकु पचलीको बागमती नदी किनारामा अवस्थित सानो टोलका बासिन्दाका लागि भने दशकौंदेखि यो असम्भव कुरा सम्भव हुँदै आएको छ । किनभने, यस टोलका बासिन्दाले सबै देवीदेवताको दर्शन एकै थलोमा गर्दै आएका छन् ।
‘सबै देवीदेवताले यहाँ बास गर्नुभएको छ’, सो क्षेत्रका स्थानीयको एउटै भनाइ हुन्छ– ‘दर्शन गर्न हामीलाई अन्त कतै जानै पर्दैन । यो सानो ठाउँमा सबै देवीदेवताकोे एकै ठाउँमा दर्शन गर्न पाइन्छ ।’
तर यी क्षेत्रका मूर्ति नियमित रूपमा तस्कर तथा मूर्ति चोरहरूको निसाना बन्दै आएपछि भने स्थानीयबासीमा अहिले चिन्ता बढ्न थालेको छ ।
अहिलेसम्ममा यहाँका थुप्रै मूर्ति चोरी भइसकेका छन् भने कैयौं मूर्ति चोरीको असफल प्रयास पनि भएका छन् ।
केही वर्षअघि मात्रै यहाँको एक ढुंगानिर्मित आकर्षक गरुडको मूर्ति चोरी भयो । त्यस्तै गरी कुमार तथा अन्य स–साना पत्थर मूर्ति पनि गायब भए । तर, यी मूर्ति कसले चोरेर कहाँ पु¥यायो भन्नेबारे भने सम्बन्धित निकायलाई कुनै चासो छैन । स्थानीय स्वयम् पनि यसबाट बेखबर छन्।
आजको दिनसम्म त आँगनमै सबै देवीदेवताको दर्शन गर्दै आएका छौं’, नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एक स्थानीय महिलाले भनिन्– ‘मूर्ति चोरी हुने क्रम बढ्दो रूपमा रहेकाले अब यो सुविधाबाट वञ्चित हुनुपर्छ जस्तो लाग्छ ।’ उनका अनुसार यहाँ चारैधामका देवीदेवता छन् । मुक्तिनाथ होस् कि जगन्नाथ, रामेश्वर होस् या द्वारिका चारैधामका देवताको यहाँ एकैमण्डपमा दर्शन गर्न पाइन्छ ।
‘इशंखुनारायण, चाँगुनारायण, विशंखुनारायण र शेषनारायण, कृष्ण, राम, लक्ष्मण, बुद्ध, विष्णु, शिव आदिदेखि जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वहाः, स्वधाजस्ता भएभरका सबै देवीदेवताका मूर्ति यहाँ रहेका छन्’ –यस क्षेत्रका नियमित दर्शनार्थी अष्टनारायण श्रेष्ठ भने । श्रेष्ठका अनुसार यस क्षेत्रमा बारम्बार मूर्ति चोरीको प्रयास भइरहन्छ । त्यसमध्ये कतिपय प्रयास सफल भएको छ भने कतिपय विफल पनि हुँदै आएको छ ।
संस्कृतिविद् मुकुन्द अर्यालका अनुसार टेकुदोभानदेखि थापाथलीको किनारासम्म पहिले अनगिन्ती मूर्ति थिए । ती मूर्तिलाई पंक्ति बनाएर राख्ने हो भने टुँडिखेलमा पनि नअटाउने उनको भनाइ छ । मूर्ति चोरी हुने प्रवृत्तिका कारण नदी किनाराका यस्ता महत्त्वपूर्ण सम्पदा आज लगभग नाश भइसकेको छ । ‘टेकु दोभानदेखि थापाथलीसम्मका बागमती किनारामा कुनै समय असंख्य मूर्ति थिए’, संस्कृतिविद् अर्यालले भने– ‘ती मूर्तिलाई लाम लगाएर राख्ने हो भने एउटा टुँडिखेलले पुग्दैन । तर मूर्ति चोरी हुने क्रमसँगै यी मूर्ति अहिले कहाँ पुगे कसैलाई थाहा छैन ।’
यस क्षेत्रको सुरक्षाको जिम्मा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटी, १२ वडा कार्यालय र महानगरपालिकाको सम्पदा विभाग तथा गुठी संस्थान सबै जिम्मेवार निकायसँग सम्पर्क गर्दा सबै बेखबर देखिए ।
‘जिम्मेवार निकाय यसरी बेखबर रहिरहँदा यहाँका धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मूर्तिलाई चोरी र तस्करीको निसानाबाट जोगाउने जिम्मेवारी कसको हो ?’ –स्थानीयको सामूहिक गुनासो छ ।
No comments:
Post a Comment